सुदूरपश्चिम स्पोर्टस अवार्डः प्रिन्स दाहाल र कविता कुँवर उत्कृष्ट

0

धनगढी, पुस १५ । व्याटमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवर सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। पहिलो पटक आयोजना भएको कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्ड कार्यक्रममा उनीहरुलाई बर्षका उत्कृष्ट खेलाडी घोषणा गरिएको हो। खेलकुद पत्रका मञ्च कैलालीले आयोजना गरेको अवार्ड अन्तरगत बर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका खड्ग वोहोरा र भारात्तोलनका सागर भण्डारी पनि मनोनयनमा परेकोमा व्याटमिन्टनका दाहाल उत्कृट घोषित भएका हुन्।

उनले दुबई जुनियर ईन्टरनेसनल सिरिजको यू–१५ उमेर समूहमा स्वर्ण पदक जितेका थिए भने उमेर समूहमा नेपाली ब्याडमिन्टनलाई अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण दिलाउने पहिलो खेलाड बनेका थिए। प्रेसिडेन्टस कप जुनियर इन्टरनेसनल ब्याडमिन्टन च्याम्पियनसिपमा यू–१५ र यू–१९ मा पनि दाहालले स्वर्ण पदक जितेका थिए। साउथ एसियन रिजनल च्याम्पियनसिपमा यू–२१ तर्फ मेन्स डबल्समा रजत पदक जितेका उनले अन्नपूर्ण इन्टरनेसनल ब्याडमिन्टनमा यू–१९ मा स्वर्ण र मेन्स सिंगल्समा पनि रजत पदक जितेका थिए। जेस्ट ओपन राष्ट्रिय ब्याडमिन्टनमा यू–१५ मा स्वर्ण र मेन्स सिंगल्समा कांस्य जितेका दाहाल आठौं पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन यू–१७ मा स्वर्ण जित्न सफल भएका थिए। आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले कास्य पदक जितेका थिए।

बर्षको उत्कृष्ट महिला खेलाडी बन्न सफल कविता कुँवरले भने गत जनवरीमा थाइल्याण्डमा भएको टि–२० स्म्यासमा पाँच खेलमा २ विकेट लिन सफल भएकी थिईन्। उनी नेपालका लागि ११ ट्वान्टी–२० अन्तराष्ट्रिय खेलममा ९ विकेट लिन सफल भएकी छिन्। प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशलाई फाइनल पु¥याउने क्रममा उनको उत्कृष्ट प्रदर्शन रहेको थियो। उनी प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश स्तरीय खेलकूद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेटमा सुदूरपश्चिम प्रदेशलाई च्याम्पीयन बनाउने क्रममा ‘प्लेयर अफ दी सिरिज’ नै बनेकी थिईन्।

बर्षको उत्कृष्ट युवा खेलाडी भने भारात्तोलनका सागर भण्डारी भएका छन्। सुदुरपश्चिम प्रदेशलाई भारात्तोलनमा २२ बर्षपछि स्वर्ण पदक जिताउने खेलाडी रहेका उनी बर्षको उत्कृष्ट युवा खेलाडीबाट पुरस्कृत भएका हुन्। उनले गत बर्ष खेलेको खेलमा आफ्नै प्रशिक्षक जीवन गौतमले दिलाएको स्वर्ण पदकको खडेरी तोड्न सफल भएका थिए। उनले सुनिललाल मेमोरियल कपमा भारात्तोलन प्रतियोगितामा स्वर्णमाथि कब्जा गरेका थिए।

जुनियर तौल समुहमा एसियन गेममा समेत उनी सहभागी भएक थिए। बर्षको उत्कृष्ट प्रशिक्षक भने भारात्तोलनका जीवन गौतम भएका छन्। कोरियामा भएको एसियन सिनियर कप भारात्तोलन प्रतियोगितामा प्रशिक्षक भएर नेपाललाई एक रजत र दुई कास्य पदक जिताउन सफल गौतमलाई उत्कृष्ट प्रशिक्षक घोषणा गरिएको हो। यस्तै स्पेशल अवार्ड भने कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दिपक सिंहलाई प्रदान गरिएको छ। आफ्नो तीन बर्षे कार्यकालमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई स्पेशल अवार्डबाट सम्मान गरिएको हो।

खेलकुद विकास समितीमा छुट्टै महिला पुरुष सौचालय निर्माण, पहिलो पटक खेलाडी सम्मान कार्यक्रमको सुरुवात, खेलाडीलाई पोषण सम्बन्धी तालिम लगायतका कार्यक्रम गर्नुभएका सिंहकै पालामा ठुला र प्रतिष्ठित प्रतियोगिताको सुरुवात समेत भएको छ । देशकै सर्वाधिक धनराशीको खप्तड गोल्डकप पनि उहाँकै पालामा सुरुवात भएको हो लाईफ टाईम एचिभमेन्ट अवार्ड भने सुदूरपश्चिमको खेल जगतका हस्ती श्याम सुन्दर शर्मालाई प्रदान गरिएको छ। उनलाई क्रिकेट र फुटवलमा लामो समइसम्म योगदान दिए बापत लाईफ लाईम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो। अवार्ड विजेता खेलाडीलाई नगद र ट्रफी सहित प्रदान गरिएको छ। अवार्डका संयोजक प्रदिप पाठकले चार विधाका खेलाडीलाई नगद २५ हजार र लाईफ टाईम तथा स्पेशस अवार्ड विजेतालाई १० हजार नगद सहित सम्मान गरिएको बताए।

कैलाली हस्पिटल मुख्य प्रायोजक रहेको स्पोर्टस अवार्डमा सह–प्रायोजकमा शौभाग्यश्वर फार्मेसी विशेष अटोमोबाईल्स, सिपी हस्पिटल र नवजीवन हस्पिटल रहेका थिए। त्यसैगरी अवार्डमा बर्ष पुरुष खेलाडीलाई शारदा राईस मिल, बर्ष महिला खेलाडीलाई निसर्ग हस्पिटल, बर्ष प्रशिक्षकलाई दिनेश सोप, बर्ष युवा खेलाडीलाई केटिएम वाईक, स्पेशल अवार्डलाई माया मेट्रो हस्पिटल र लाईफटाईम एचिभमेन्ट अवार्डलाई ठाकुर ग्रुपले प्रायोजन गरेका थिए। मुख्य प्रवद्र्धकमा सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र कैलाली जिल्ला खेलकुद विकास समिती रहेका थिए भने प्रवद्र्धकको रुपमा सुदूरपश्चिमका विभिन्न स्थानीय तह र कैलाली उद्योग वाणिज्य संघ रहेका थिए।

त्यसैगरी मेडिकल पाटर्नरको रुपमा घोडाघोडी अस्पताल, हस्पिटालिटी पाटर्नरको रुपमा ड्रिम ग्रुप अफ म्यानेजमेन्ट, मेकअप पाटर्नरको रुपमा मेरो श्रृंगार र भेनु पार्टनरको रुपमा ओम प्यालेस रहेका थिए।

लाईफ लाईम एचिभमेन्ट अवार्डः श्याम सुन्दर शर्मा

भारतबाट गोलपोष्टको फलाम किनेर धनगढी ल्याएका ती दिन ७२ बर्षीय श्याम सुन्दर शर्माको मन मस्तिष्कमा अझै ताजै छ । तत्कालीन एसपी दिलीप सिंह आलेले सडक विभागको रोलरलाई मैदान सम्याउनका लागि भनिदिएपछि हालको धनगढी रंगशालाको दक्षिणी कुनामा फुटबल मैदान बनाईएको थियो । तर फुटबल खेलिरहनु भएका श्याम सुन्दर शर्मा लगायतका उहाँका सहपाटीहरुलाई २०३० सालतिर फुटबल मैदानमा आवश्यक पर्ने गोलपोष्ट धनगढीमा पाउनै मुस्किल थियो,।

त्यही भएर भारतको पलिया गएर गोलपोष्ट ल्याएर धनगढीमा फुटबल खेल्नु भएको थियो शर्मा र उहाँका साथीहरुले । पलियासम्म त्यो समय जाँदा दुई वटा नदी पार गर्नुपथ्र्यो । श्याम सुन्दर लगायतका केही साथीहरुले नदीमा काँधमा बोक्दै, फेरि बसमा हाल्दै फेरी नदीमा बोक्दै धनगढीसम्म पुराईएको थियो फलामको गोलपोष्ट । त्यसपछि फुटबल खेलका धेरै नियमहरु थाहा नभएपनि धनगढीमा खेल्न थालिएको थियो फुटबल । फुटबल सुरुवात दिनका सवैभन्दा पाका र लेजेन्ड हुनुहुन्छ धनगढी चौराह निवासी श्याम सुन्दर शर्मा । शर्मा लगायतको जमात फुटबल खेल्न थालेपछि चौधरी बुक डिपोका मालिक सत्येन्द्रनाथ चौधरीले रेफ्रीको भुमिका निर्वाह गरि दिनुहुन्थ्यो ।

खेल्दै गएपछि २०३२ सालतिर धनगढीका खेलाडीहरुले जनकपुुरमा नर ट्रफी खेल्न गए । नर ट्रफी राजा विरेन्द्रका साला तत्कालीन आईजिपी नर समशेर राणाले आफ्नै नाममा सुरु गरेको राष्ट्रिय फुटबल प्रतियोगिता हो । २०३२ सालतिर जनकपुरमा नर ट्रफी खेल्न जाँदा यहाँको टीमले एक खेल पनि जितेन भने ५÷६ गोल खेलेका सवै खेलमा खाएको टीमका सदस्य शर्मा सम्झिनुहुन्छ । एक गोल गर्न नसकेपछि घर फर्किएको धनगढीको टोलीले त्यसपछि आएपछि राम्रैसँग समीक्षा गर्यो । २०३३ सालमा लहानमा भएको नर ट्रफीमा देशभरीका टीमबाट शर्माको टोली उपविजेता बन्यो । त्यसपछि फुटबल प्रगतिको बाटोमा अग्रसर भएको शर्मा बताउनुहुन्छ ।

डिफेड र मिडमा खेल्ने शर्माको कप्तानीको रहेको धनगढीको टीमले २०३४ सालमा सेती अञ्चलाधीश फुटबल रनिङ सिल्डमा कब्जा जमायो । जसमा तीन तोला सुन जडान गरिएको थियो । फुटबलमा लागेकै बेला धनगढीमा क्रिकेटको पनि सुरुवात भईसकेको थियो । तत्कालीन कैलाली कागेंसका सभापति स्वर्गीय मोहनवहादुर शाहले क्रिकेटमा लाग्न उत्प्रेरण दिन थालेपछि फुटबल खेलिरहेका खेलाडीहरु क्रिकेटतिर पनि लागे । त्यसमा श्याम सुन्दर पनि पछि पर्नुभएन् । शर्माका दाई सुनसरी होटेलका साउजीले फुटबल जित्ने टीमलाई निशुल्क नास्ता खुवाउनुहुन्थ्यो भने भने मोहनवहादुर शाहले क्रिकेटमा जित्ने टीमलाई निशुल्क नास्ता खुवाउनुहुन्थ्यो । क्रिकेट र फुटबल सँगसँगै धनगढीमा सुरुवात भएका ती दिनहरुमा आवश्यक खेल सामाग्रीको भने निकै अभाव झेल्नु परेको शर्माको भोगाई छ ।

फुटबलसँगै क्रिकेट खेलेका शर्माले २०३८ सालमा काठमाण्डौमा भएको पहिलो राष्ट्रिय खेलकुदमा क्रिकेट टोलीको सदस्यको रुपमा सहभागीता जनाउनुभयो । त्यो बर्ष टोलीले जित हात पारेन् । त्यसपछि वालगोपाल गिरीको कप्तानीमा शर्मा उपकप्तान भएको टोलीले २०४० सालमा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि टीमले सहभागीता जनायो भने तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता २०४२ सालमा वीरगंजमा हुँदा शर्मा क्रिकेट टोलीको कप्तान हुनुहुन्थ्यो । ४१ बर्षको उमेरसम्म फुटबल र क्रिकेट खेल्ने शर्मा नै सवैभन्दा वढी उमेरसम्म खेल्ने खेलाडीमा पर्नुहुन्छ । त्यो अवधिमा क्रिकेटमा पनि धेरै उपलव्धी हासिल गरिएको थियो । शर्मासँग ९ पटक भारतको टीमसँग खेल्दा ७ पटक जितेको अनुभव रहेको छ । लामो समयसम्म दुवै खेलमा सक्रियताका साथ लाग्नुभएका शर्माको योगदानलाई कसैले बिर्सन सक्दैन होला । २०४२ सालसम्म खेलाडीको रुपमा सक्रिय श्याम सुन्दर शर्माले त्यसपछि भुमिका फेर्नुभयो तर खेलकुदलाई भने छोड्नु भएन् । लामो समयसम्म क्रिकेटको अम्पायर र फुटबलको रेफ्रीको मात्रै हो ह्यान्डवलको समेत रेफ्रीको भुमिका निर्वाह गर्नुभयो ।

जेष्ठ नागरिक बनिसक्दा पनि उहाँलाई खेलकुदको नशाले छोड्न सकेको छैन् । विगतमा आफुहरुले खेल्दा धेरै दुःख पाए पनि अहिलेको अवस्था देखेर उहाँ खुशी हुनुहुन्छ । धनगढी चौराहको पारस मेडिकल रहेको घर त्यसपछि पछाडीतिर रहेको भवनको एक कोठामा श्याम सुन्दर शर्माको कोठा छ । त्यही कोठामा जीवनको उत्तार्धलाई कटाईरहनु भएको छ शर्मा । दुई छोरा दुई वुहारी सहित दुई नाती र ६ नातिनी सहितको उहाँको परिवाकार अन्य सदस्यहरु भने अहिले खेलकुदमा कोही लागेका छन् ।

दाईभाईका छोराछोरी खेलकुदमा लागेपनि शर्माका पुस्ता भने खेलकुदतिर छैनन् । अहिले पनि शार्माले क्रिकेट र फुटबलका खेलहरु टिभीमै हेरेर खेलकुदको नशा मेटिरहनु भएको छ । फुटबल र क्रिकेटको विकासका लागि अहम भुमिका खेल्नु भएका श्याम सुन्दर शर्माको योगदानलाई तत्कालीन समयको पाको पुस्तालाई राम्रैसँग थाहा छ तर नयाँ पुस्तालाई उहाँको वारेमा जानकारी समेत छैन् । खेलकुदका यी जिउँदा ईतिहासलाई सम्मान गर्दै नेपाल खेलकुद पत्रकार मञ्च कैलाली खेलकुदका लेजेन्ड श्यामसुन्दर शर्मालाई प्रदान गर्दछ प्रथम कैलाली हस्पिटल सुदुरपश्चिम स्पोर्टस अवार्ड २०७६ को लाईफ टाईम एचिभमेन्ट अवार्ड ।

Post Add 1025X115
Loading...