नेपालले नेपाललाई पराजित गर्दै बिच भलिबलमा कास्य

0

पोखरा । नेपालमा जारी तैह्रौैँ दक्षिण एशियाली खेलकूद(साग) मा पहिलो पटक समावेश गरिएको बिच भलिबलमा नेपाली महिला टोलीले कास्य पदक जितेको छ ।

कास्कीको फेवाताल किनारस्थित बाराहीघाटमा सञ्चालन भएको प्रतियोगितामा आजको खेलमा नेपालका विनिता बुढाथोकी र नेविका चौधरीको जोडीले नेपालकै कोपिला उप्रेती र मनिषा चौधरीको जोडीलाई २१–१२, १९–२१ र १६–१४ को सेटमा पराजित गरी कास्य जितेको हो ।

पुरुषतर्फ नेपालका दुवै टोली लिग चरणबाट बाहिरिएका थिए भने महिलाका दुवै टोली समूह उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेर नेपाललाई बिच भलिबलमा पदक विहीन हुनबाट जोगाएका थिए । महिला तथा पुरुष दुई विधामा गरी दुई स्वर्ण, दुई रजत र दुई काश्यका लागि भएको स्पर्धामा श्रीलङ्काको महिला र पुरुषको दुवै टोली समूह विजेता बन्दै फाइनल प्रवेश गरेका थिए ।

बिच भलिबलको महिला तथा पुरुष दुवैतर्फको स्वर्ण र रजत पदक श्रीलङ्काले जित्न सफल भयो । पुरुषतर्फ श्रीलङ्काका प्रदीप आसङ्का र असेन कुमाराको जोडीले इन्डिका टिरोन र जायन सनुजाको जोडीलाई २४–२२ र २१–१३ को सोझो सेटमा हराउँदै स्वर्ण पदक जित्न सफल भयो ।

महिलातर्फ श्रीलङ्काकै दीपिका जेडेरा र मधुशानी वीरासिङ्गेको जोडीले लक्षिनी थारुका र दिनेशा प्रसादनीको जोडीलाई १९–२१, २१–१५ र १५–८ को सेटमा हराएर स्वर्ण जिते ।

पुरुषतर्फ पाकिस्तानका मोहम्मद रज्जाक र वसीन मोहम्मदको जोडीले पाकिस्तानकै जस्नव खान र अफाख खानको जोडीलाई २१–१५ र २१–१४ को सेटमा हराएर पाकिस्तानले कास्य पदक जित्न सफल भयो ।

बिच भलिबलको स्पर्धामा महिलातर्फ आयोजक नेपालसहित श्रीलङ्का र माल्दिभ्स सहभागी थिए भने पुरुषतर्फ नेपालसहित श्रीलङ्का पाकिस्तान, बङ्गलादेश र माल्दिभ्स सहभागी थिए ।

Post Add 1025X115
Loading...