साग पुरूष फुटबलः नेपाल लगातार दाेस्राे पटक फाइनलमा, बंगलादेश १-० ले पराजित

0

नेपाली फुटबल टिम दक्षिण एसियाली खेलकुद सागमा लगातार दोस्रो पटक फाइनलमा पुगेको छ । साविक विजेता नेपालले बंगलादेशलाई एक शुन्यले हराउँदै फाइनलमा स्थान बनायो । अब नेपालले उपाधिका लागि भुटानसँग खेल्नेछ ।

दशरथ रंगशालामा जारी खेलमा नेपालले ११ औं मिनेटमा खेलमा अग्रता बनायो । उसका लागि सुजल श्रेष्ठका पासमा सुनील बलले गोल गरे । खेलको सुरुवातमा नै गोल गरेको नेपालले १६ औं मिनेटमा अर्को मौका पाएको थियो । तर त्यसमा बंगलादेशको गोलकिपर बाधक बने ।

२५ औं मिनेटमा नेपालले अर्को मौका पाएको थियो । नेपालका कप्तान सुजल श्रेष्ठले निकै राम्रो मौका पाएपछि फिनिस गर्न सकेनन् । त्यसपछि बंगलादेशले नेपालको पोष्टमा दुई वटा प्रहार गरेको थियो । तर दुबै अवसरमा नेपाली गोलकिपर विकेश कुथु बाधक बने ।

त्यसपछि पनि आक्रामक फुटबल खेलेका दुबै टिमले थप गोल गर्न सकेनन् । पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेपालले दोस्रो हाफमा पनि सुरुवातमा नै केहि मौका पाएको थियो । जसमा ५७ औं मिनेटमा सुनील बलको प्रहार पोष्टको नजिकैबाट बाहिरीयो । त्यसपछि तेज तामाङले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

त्यसको अर्को मिनेटमा बंगलादेशले उत्कृष्ट अवसर पाएको थियो । तर डिबक्स भित्रबाट मोहम्मद इब्राहिमले गरेको प्रहार पोष्टको नजिकैबाट आउट भयो । त्यसको अर्को मिनेटमा फेरी इब्राहिमले गरेको अर्को प्रहारपनि फ्रेममा रहन सकेन ।

६४ औं मिनेटमा सुनील बलको फ्रिकिकमा कप्तान सुजल श्रेष्ठले गरेको हेडको प्रयास फ्रेममा परेन ।

७० औं मिनेटमा अभिशेख रिजालले डिबक्स भित्र पाएको उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेनन् । गोलकिपर विट भइसकेको अवस्थामा अभिशेखले खाली पोष्टमा गोल गर्न सकेनन् । अन्तिममा बंगलादेश १० खेलाडीमा झर्न पुग्यो । उसका मोहम्मद नविब नवाज दोहोरो पहेलो कार्ड पाउदै मैदानबाट बाहिरीए । त्यसपछि बंगलादेश खेलमा फर्कन सकेन र पराजित भयो ।

अब उपाधिका लागि नेपालले मंगलबार भुटानसँग खेल्नेछ । भुटान यसअघि नै फाइनलमा पुगिसकेको छ । लिग चरणमा नेपालले भुटानलाई चार शुन्यले हराएको थियो ।

Post Add 1025X115
Loading...