टेनिसकाे टिम इभेन्टमा सेमिफाइनलबाट बाहिर

0

१३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत टेनिसको टिम इभेन्टमा नेपालका दुबै टिम सेमिफाइनलबाट बाहिरिएका छन् । नेपालका दुबै टिम भारतसँग पराजित भयो ।

पुरुषतर्फको टिम इभेन्टमा भारतले नेपाललाई ३–० ले हरायो । सिंगल्सतर्फ नेपालका प्रवण खनाल भारतका मनिष सुरेश कुमारसँग ६–१ र ६–० ले पराजित भए । अर्को सिंगल्समा संरक्षक बज्राचार्य साकेथ माइनेनीसँग ६–१ र ६–१ ले हारेपछि डबल्सअघि नै भारतले फाइनलमा स्थान बनाएको हो ।

डबल्सतर्फ बज्राचार्य र खनालको जोडी निकी कलियान्दा पुनाचा र श्रीराम बालाजी नारायणस्वामीसँग ६–३ र ६–२ ले पराजित भए । पुरुष टिम इभेन्टको स्वर्णका लागि भारतले पाकिस्तानको सामना गर्नेछ । पाकिस्तानले भुटानलाई ३–० ले नै हराएको थियो । सिंगल्सतर्फ मोहम्मद अविदले पेमा नोर्बुलाई ६–० र ६–० तथा मुजामिल मुर्तजाले तान्दिन वाङचुकलाई ६–१ र ६–२ ले हराए ।

डबल्सतर्फ मुहम्द अबिद र मुजामिल मुर्तजाको जोडीले निदुप ग्याल्छेन र पेमा नोर्बुको जोडीलाई ६–२ र ६–० ले हरायो । महिला टिम इभेन्टमा नेपाल भारतसँग ३–० ले नै पराजित भयो । सलोनी तामाङ भारतकी भुवना काल्भासँग ६–२ र ६–१ ले तथा प्रेरणा कोइराला सत्विका समासँग ६–१ र ६–० ले हारिन् ।

डबल्समा प्रेरणा र सलोनीको जोडी भारतका प्रेरणा भाम्ब्री र श्रब्या शिभानी चिलाकलापुडीसँग ७–५ र ६–१ ले पराजित भए । महिला टिम इभेन्टको फाइनलमा भारतले श्रीलंकासँग खेल्नेछ ।

श्रीलंकाले पाकिस्तानलाई ३–० ले हरायो । सिंगल्सतर्फ श्रीलंकाका अनिका सेनेभिरत्नेले माहिन अफ्ताब कुरेसीलाई ६–४ र ६–४ तथा अञ्जलिका कुरेराले उस्ना सुहेललाई ६–४, २–६ र ६–४ ले हराइन् । सिंगल्सतर्फको दुबै खेलमा पराजित भएपछि पाकिस्तानले डबल्स खेलेन ।

Post Add 1025X115
Loading...