साग जस्ताे प्रतियाेगितामा मागेरै खेले !

0

खेलाडीलाई राम्रो प्रदर्शनका लागि के चाहिन्छ ? उचित प्रशिक्षण, उचित डाइट, स्तरीय खेल सामाग्री, राम्रो सुविधा आदि । यीमध्ये सबैभन्दा आवस्यक कुरा हो खेल सामाग्री । खेल सामाग्री राम्रो भएन भने उनीहरुको राम्रो प्रदर्शनको अपेक्षा राख्न न्यायोचित हुन सक्दैन ।

यस्तै विडम्बना नेपाली सुटिङमा छ । तीन महिनाअघि नेपाली खेलाडीले प्रशिक्षणका लागि बल्ल सुटिङको रेन्ज पाए । त्यसअघि हप्ताको दुई दिन नेपाली सेनाको सुटिङ रेन्जमा सिमित थियो, नेपाली सुटिङ । चीन सरकारले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बनाइदिएको सुटिङ रेन्ज संचालनमा आएपनि नेपाली खेलाडीले केही राहत महसुस गरेका थिए । खेलाडी सामू अर्को समस्या आयो ।

प्रशिक्षणस्थल त राम्रो पाइयो, तर खेल सामाग्री भने पर्याप्त भएन । भएका खेल सामाग्री पनि दुई दशक पुराना । यस्तो अवस्थामा खेलाडीबाट पदकको आशा कसरी गर्न सकिन्छ । अन्य खेलका सामाग्री ल्याउनु जस्तो सजिलो छैन, सुटिङको सामाग्री ल्याउन । हातहतियारसम्बन्धि बनाइएको कडा कानुनका लागि सुटिङका खेल सामाग्री ल्याउनका लागि जिल्ला प्रशासन कार्यालयदेखि रक्षा मन्त्रालयसम्मै प्रकृया पुरू्याउनु पर्दछ । त्यतिमात्र होइन, सम्बन्धित देशबाट सामाग्री छुटाउनदेखि यहाँको भन्सारसम्मै झन्जटिलो प्रकृया पार गर्नु पर्दछ ।

नेपाल सुटिङ संघले आफूसँग खेल सामाग्री नभएको जानकारी गराएर धेरै अघिदेखि सामान ल्याइदिनका लागि लबिङ गरेको थियो । तर, आजबाट प्रतियोगिता सुरु भइसक्दा पनि नेपाली खेलाडीले सामाग्री पाउन सकेका छैनन् । सुटिङमा १०, २५ र ५० मिटरका अत्याधुनिक रेन्ज बनाइएको छ । तर, आधुनिक सामाग्री नभएका कारण नेपाली खेलाडीले त्यसको लाभ लिन सकेका छैनन् ।

ठूलो विडम्बना त के छ भने २५ मिटरको विधामा नौ जना खेलाडीले सहभागिता जनाउँदैछन् । तर त्यसमा प्रशिक्षण गर्ने पिस्तोल भने एउटैमात्र छ । अनि कसरी आउँछ पदक ? समस्या २५ मिटरमा मात्र होइन । १० मिटर र ५० मिटरमा पनि छ । १० मिटरमा यथेष्ट हतियार छन् । तर, सबै पुराना ।

सन् १९९९ मा नेपालमै भएको दक्षिण एसियाली खेलकुदका लागि ल्याइएको हतियारमा नेपाली खेलाडीले आफ्नो क्षमता देखाइरहेका छन् । यदी नयाँ हतियार हुँदो हो र त्यसमा प्रशिक्षण गर्न पाएको भए नेपाली खेलाडीको प्रदर्शन पनि राम्रो हुन्थ्यो की । प्रशिक्षक उपेन्द्र थापाले २५ मिटरको इभेन्ट्सका लागि एउटा मात्रै हतियार रहेको जानकारी दिए ।

पहिला नै मगाए पनि आउन ढिला भएकाले खेलाडीले मागेर खेल्नु परेको बताए । उनले भने ‘हामीले सहभागि देशका खेलाडीहरुसँग हतियार मागेका थियौं, कतिले सेटिङ विग्रने भन्दै दिन मानेन् भने पाकिस्तानले दिए पछि हामीले २५ मिटरमा प्रतिस्पर्धा गर्न पायौं ।’ तयारी र हतियार विना पदकको आशा गर्न नसकिने स्वीकार गरे ।

Post Add 1025X115
Loading...