कुवेतबिरूद्द नेपाल १-० ले पराजित

0

फिफा विश्वकप छनोट अन्तर्गत कुवेत विरुद्धको खेलमा नेपाल एक शुन्यले पराजित भएको छ । कुवेतकाे घरेलु मैदानमा यसअघि ७-० ले हारेकाे नेपालले अाफ्नाे हाेम खेलमा भने सम्मानजनक हार ब्यहाेर्याे ।

भुटानकाे थिम्पुमा भएकाे प्रतिस्पर्धात्मक खेलको सुरुवात देखि नै नेपाल माथि दबाव दिएको कुवेतले दुई वटा उत्कृष्ट मौका पछि गोल गर्न सफल भएको थियो । त्यसो त नेपालले पनि एउटा सुन्दर मौका पाएको थियो । २३ औं मिनेटमा सुजल श्रेष्ठले मिलाइदिएको पासमा अभिशेख रिजाल डिबक्स भित्र चुक्न पुगे ।

तर २८ औं मिनेटमा नेपालले गोल खान पुग्यो । कुवेतका कप्तान बदर अल मतवाले डिबक्स बाहिरबाट गरेको प्रहारलाई गोलकिपर किरण चेम्जोङले बचाउन सकेनन् ।

त्यसपछि ३६ औं मिनेटमा कुवेतले फेरी अर्को मौका पाएको थियो । उसका अल रेसादीले हेडको प्रयास फ्रेममा रहन सकेन । त्यसपछि ३९ औं मिनेटमा कुवेतले अर्को अवसरको सिर्जना गरेको थियो । तर डिबक्स भित्रबाट फैसलले गरेको प्रहार फ्रेम बाहिर गयो ।

कुवेत विरुद्ध मुख्य चार जना खेलाडीलाई बर्खास्त गरेर भुटान पुगेको नेपालले ४१ औं मिनेटमा निकै राम्रो मौका पाएको थियो । तेज तामाङको कर्नरबाट आएको बललाई रोहित चन्दले प्रहार गरेका थिए । तर साे प्रहार पाेलमा लागेर फर्कियाे । त्यसपछि तेजले नै प्रहार गर्दा पोष्टमाथिबाट बाहिरीयो । जसका कारण नेपालले पहिलो हाफमा एक गोलले पछि पर्न गयो ।

पहिलो हाफमा एक गोलले पछि रहेकाे नेपालले दोस्रो हाफमा पनि खासै राम्रो खेल्न सकेन । त्यसको विपरित कुवेतले ७८ औं मिनेटमा अर्को अवसर पाएको थियो । जसलाई किरण चेम्जोङले मुस्किलले बचाए । ८८ औं मिनेटमा कुवेतले अर्को गोलको अवसर सिर्जना गरेको थियो । जसमा उसका अल सलमानले गरेको हेडको प्रयास पोष्ट नजिकैबाट बाहिरीयो ।

खेलको ९० औं मिनेटमा कुवेतले फ्रिकिकको मौका पाएको थियो । उसका कप्तान बदरको प्रहारलाई किरण चेम्जोङले बचाए । त्यसपछि नेपालले एउटा प्रहार गर्दा त्यसमा कुवेती गोलकिपर बाधक बने । यो जितले कुवेतको पाँचा खेलमा १० अंक भएको छ भने नेपालको पाँच खेलमा तीन अंक छ ।

 

Post Add 1025X115
Loading...