नयाँ सिजनका लागि बलियो टिम बनाउँदै मनाङ मर्स्याङ्दी क्लब

0

दक्षिण एसियाली खेलकुद सकिए लगत्तै नेपाली शीर्ष डिभिजन शहिद स्मारक ए डिभिजन लिग सुरु हुँदैछ । मंसिर २४ गते दक्षिण एसियाली खेलकुदको समापन भएको चार दिनपछि दशरथ रंगशालामै शहिद स्मारक ए डिभिजन लिग शुरु हुनेछ ।

अघिल्लो संस्करण रेलिगेशन विना संचालित लिग यो पटकदेखि भने रेलिगेसन सहितको हुनेछ । १४ टिमको सहभागिता रहने यो लिग यो पटक भने पक्कै प्रतिष्पर्धात्मक रहनेछ । लिगको सर्वाधिक सफल टिम मनाङ मर्स्याङ्दीलाई उपाधि रक्षा गर्ने चुनौति हुनेछ ।

अघिल्लो संस्करणको लिग सकिएपछि सबै खेलाडीलाई रिलिज गरिएको थियो । नयाँ सिजनका सबै क्लबले टिम बनाउनु पर्नेछ । लिग जित्ने महत्वकांक्षा सहित मनाङले नेपाली फुटबलका केही उत्कृष्ट खेलाडीलाई अनुबन्ध गरिसकेको छ भने केहीलाई अनुबन्ध गर्ने प्रकृयामा छ । अहिले मनाङले १० जना खेलाडीलाई क्लब भित्र्याइसकेको छ ।

अहिलेसम्म मनाङमा अनुबन्धित भइसकेका खेलाडी

अञ्जन विष्ट
अञ्जन विष्ट नेपाली राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडी हुन् । अग्रपंक्तिमा उत्कृष्ट प्रदर्शन गर्दै आएका अञ्जनले अघिल्लो सिजन पनि मनाङबाट खेलेका थिए । एन्फा एकेडेमीका उत्पादन अञ्जनले उमेर समूहको राष्ट्रिय टोल हुँदै सिनियरमा पनि आफ्नो प्रभाव छोड्न सफल भइसकेका छन् । करियरको सुरुमा एपीएफ क्लबबाट खेलेपछि उनले अघिल्लो सिजनको लिग मनाङबाट खेले । त्यहाँ उनले पाँच गोल गरेका थिए ।

रञ्जन विष्ट
अञ्जन विष्टका दाई हुन् रञ्जन विष्ट । राष्ट्रिय टिममा अञ्जन जत्तिको प्रदर्शन गर्न नसकेपनि रञ्जन उत्कृष्ट नेपाली स्ट्राइकर हुन् । अघिल्लो सिजन थ्रीस्टारबाट खेलेका रञ्जनलाई पनि मनाङले अनुबन्ध गरेको छ । लिगमा थ्रीस्टार क्लबलाई तेस्रो स्थान दिलाउन रञ्जनले महत्वपूर्ण भूमिका खेलेका थिए । एपीएफबाट समेत लिग खेलिसकेका रञ्जनले गत सिजनको लिगमा पाँच गोल गरेका थिए । यो सिजन मनाङ मस्र्याङ्दी क्लबका समर्थकका लागि दाजु–भाईको कम्बिनेसन पनि रोमाञ्चक हुनेछ ।

जगजित श्रेष्ठ
राष्ट्रिय टिमका पूर्व मिडफिल्डर जगजित श्रेष्ठ नेपाल फर्किँदैछन् । यो लिगका लागि भने जगजित अष्ट्रेलियाबाट आउन लागेका हुन् । मनाङ्कै पूर्व खेलाडी जगजितपनि नयाँ सिजन मनाङबाटै खेल्ने बताइएको छ ।

कमल श्रेष्ठ
डिफेन्स लाइनको दाइनेपट्टीको क्षेत्रमा कमल श्रेष्ठको प्रदर्शन अघिल्लो सिजन उत्कृष्ट रह्यो । त्यही प्रदर्शनका कारण क्लब उनीबाट प्रभावित छ । त्यतिमात्र होइन कमलले एएफसी कपमा समेत मनाङका लागि उत्कृष्ट प्रदर्शन गरे । राष्ट्रिय टिमको समेत अनुभव बटुलिकेका कमललाई मनाङले हालैमात्र नयाँ सिजनका लागि अनुबन्ध गरिसकेको छ ।

सुरज विक
अघिल्लो सिजनको लिग शुरुहुनु अघि नेपाल पुलिस क्लबको जागिर छोडेर सुरज मनाङ मस्र्याङ्दी क्लबमा आबद्ध भएका थिए । मनाङलाई च्याम्पियन बनाउनका लागि सेन्ट्रल डिफेन्डर सुरजको भूमिका महत्वपूर्ण रह्यो ।

आदित्य चौधरी
अघिल्लो सिजनको लिग थ्रीस्टार क्लबबाट खेलेका आदित्यलाई नयाँ सिजनमा मनाङ्ले अनुबन्ध गरेको छ । थ्रीस्टारभन्दा अघि एपीएफ क्लबमा अनुबन्धित भएर खेलेका आदित्यको उपस्थितीपछि मनाङको डिफेन्स लाईन मजबुत भएको छ ।

मनाङ्ले यसअघि एनआरटीबाट खेलेका सुशिल लामा, मछिन्द्रका पूर्व खेलाडी दिप कार्कीलाई पनि अनुबन्ध गरिसकेको छ । यस्तै यू–१९ खेलाडी अशिम गुरुङ पनि नयाँ सिजन मनाङकै जर्सीमा लिग खेल्नेछन् । विमल राना पनि टिम मनाङमा नै खेल्नेछन् ।

Post Add 1025X115
Loading...