तेरुयो तानाकाले ६० वर्षको उमेरमा जितिन रजत पदक

0

जापानकी तेरुयो तानाकाले ६० वर्षको उमेरमा पनि पदक जितेकी छिन् । दुबईमा जारी विश्व पारा–एथ्लेटिक्स च्याम्पियनसिप अन्तर्गत एक सय मिटर ह्वील चेयर रेसमा उनले २२.८५ सेकेण्डमा दूरी पूरा गर्दै दोस्रो भइन् ।

उनीभन्दा अघि अमेरिकी खेलाडी केरी मोर्गन रहिन् । सन् १९८८ मा पहिलो पटक यो प्रतियोगितामा सहभागिता जनाएकी तानाकाले सन् १९९६ मा अमेरिकाको एटलान्टामा भएको पारालम्पिक्स खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् । त्यसपछि उनले सन् २००० मा सिड्नीमा र २००८ मा बेइजिङमा भएको संस्करणमा पनि पदक जितेकी थिइन् ।

‘यो पदक मेरा लागि महत्वपूर्ण छ । अब आउने प्रतियोगिताहरुमा पनि सहभागिता जनाउने इच्छा छ,’ तानाकाले भनिन् ।

आफूभन्दा कम उमेरका प्रतिष्पर्धीहरुसँग खेल्दाको अनुभवका बारेमा प्रश्न गर्दा उनले भनिन्, ‘उनीहरुसँग हार्न चाहन्न ।’

तानाकाले सहभागिता जनाएको यो विधा जापानमा आयोजना हुन लागेको पारालम्पिक्स खेलकुदमा समावेश हुने–नहुने टुंगो भएको छैन । उनले आफ्नो भूमीमा खेल्ने तीब्र इच्छा भएको प्रतिक्रिया दिइन् ।

यद्यपी दुबईमा भएको यो प्रतियोगितामा सहभागिता जनाउने तानाका सबैभन्दा जेठी खेलाडी होइनन् । जापानकै खेलाडी तोशी ओईले ७१ वर्षको उमेरमा सटपुटको प्रतिष्पर्धामा सहभागिता जनाएकी थिइन् । उनी पाँचौं स्थानमा आएकी थिइन् ।

१४ वर्षे अमेरिकी इज्रा फ्रेन्च प्रतियोगितामा सहभागिता जनाउने सबैभन्दा कान्छी खेलाडी हुन् ।

Post Add 1025X115
Loading...