ब्यालोन डी’ओरको इतिहास र २०१९ को अवार्ड जित्ने पाँच दाबेदार

0

अमन गारू ।

ब्यालोन डी’ओर, फुटबल जगतकै सबैभन्दा प्रतिष्ठित एवम् प्रख्यात पुरस्कार हो । खेलाडीहरूको भर्खरै सकिएको अर्थात् गत सिजनको प्रदर्शन हेरि यस पुरस्कार प्रत्येक वर्ष उत्कृष्ट फुटबलरलाई दिइन्छ ।

सन् १९५६ मा सुरु भएको यो अवार्ड गत सं देखी अहिले सम्म सक्रियता रहेको यस अवार्ड ‘फ्रान्स फुटबल’ नामक फ्रान्सेली फुटबल म्यागेजिनले वितरण गर्दै आएको छ । त्यस बीच सन् २०१० देखी सन् २०१५ सम्म भने फ्रान्स फुटबलले फिफासँग सहकार्य गरि यस अवार्ड संयुक्त रूपमा वितरण गरेको थियो । यस क्रममा फ्रान्स फुटबलको ब्यालोन डी’ओर र फिफाले सन् १९९१ देखी दिँदै आएको फिफा वर्ल्ड प्लेयर अफ द इयर (फिफा वर्षको सर्वोत्कृष्ट खेलाडी) लाई गाभेर संयुक्त रूपमा फिफा ब्यालोन डी’ओर नामक पदले विजेतालाई सम्मानित गरेको थियो । सन् २०१५ पश्चात् फिफाको आफ्नो अनुबन्ध सकिए लगतै सन् २०१६ देखी ‘फ्रान्स फुटबल’ ले आफ्नो अवार्डको पुरानो शैली कायम राख्दै ब्यालोन डीओर लाई अघि सारियो तर फिफाले भने आफ्नो अवार्ड कायमै राखे पनि अवार्डको नाम परिवर्तन गरी द बेस्ट फिफा मेन्स प्लेयर (फिफा वर्ष खेलाडी) नामकरण गरियो ।

विश्वकै प्रतिष्ठित यस अवार्डलाई सन् १९९४ सम्म युरोपियन फुटबलर अफ द इयर अवार्डको नामले चिनिन्थ्यो । सुरुवाती वर्ष १९५६ देखी सन् १९९४ सम्म भने यस अवार्ड युरोपियन खेलाडीलाई मात्र दिने प्रचलन थियो । सन् १९९५ मा नियम परिवर्तन गरी यस अवार्ड युरोपियन खेलाडीलाई मात्र नभइकन युरोपियन क्लबबाट खेल्ने विश्वका जुनसुकै खेलाडीलाई दिन पाउने नियम ल्यायो । पुनः २००७ मा यस नियमलाई संशोधन गरि, सो वर्ष देखी नै विश्वका जुनसुकै क्लबबाट खेले पनि यस अवार्ड जित्न योग्य ठहरिने गरि नियम परिवर्तन गरियो ।

पछिल्लो ११ वर्षको रेकर्ड हेर्ने हो भने यस अवार्डमा पोर्चुगलको क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लियोनेल मेसीको वर्चस्व रहँदै आएको छ । १० वर्षसम्म (सन् २००८ देखी सन् २०१७ सम्म) यी दुई खेलाडीले मात्र यस अवार्ड आफ्नो कब्जामा ल्याउन सफल भएका छन् । यी दुबै खेलाडीले यस अवार्ड ५–५ पटक आफ्नो पोल्टामा ल्याउन सफल भइसकेको छन् । सन् २०१८ मा यस अवार्ड क्रोएसियन खेलाडी लुका मोड्रिचले जित्दै रोनाल्डो र मेसीको करिब एक दशकको यात्रा टुङ्ग्याइदिएको थियो । उनी एक मात्र क्रोएसियन खेलाडी हो जसले यस अवार्ड प्राप्त गर्न सफल भएका छन् ।

विगतका वर्षहरूको ब्यालोन डी’ओर विजेताका पानाहरू पल्टाउँदै हेर्ने हो भने, यस अवार्ड पहिलो पटक सन् १९५६ मा बेलायती खेलाडी स्टानली माठिइउजले जितेका थिए । अफ्रिकन खेलाडीले भने यस अवार्ड एक पटक जितेका छन् । सन् १९९४ को नियम परिवर्तन पछि नै सन् १९९५ मा लिबेरियन स्ट्राइकर जर्ज वेय ले जितेका थिए । त्यति बेला जर्ज इटालियन क्लब एसी मिलानमा आबद्ध थिए ।

सबैभन्दा धेरै बालोन डी’ओर अवार्ड जित्ने नाममा रोनाल्डो र मेसी पछि फ्रान्सको मिचेल प्लाटिनी, नेदरल्यान्ड्सका योहान क्राफ र मार्को भान बास्टेनको नाममा छ । देशबाट तुलना गर्ने हो भने जर्मनी, नेदरल्यान्ड्स र पोर्चुगलले कुल ७–७ पटक जितेका छन् । क्लबबाट हेर्दा भने स्पेनका दुई बादशाह रियल मड्रिड र बार्सिलोनाको पोल्टामा कुल ११–११ पटक छ ।

लेभ यासिन एक मात्र गोल रक्षक हुन जसले यस अवार्ड आफ्नो कब्जामा पार्न सफल भएका थिए । डाइनामो मस्कोका रसियन गोलकिपर यासिजनले अवार्ड सन् १९६३ मा जितेका थिए । डिफेन्डरले भने अहिले सम्म यस अवार्ड ४ पटक जितेका छन् । फाबियो कानाभारो, म्याठाइज स्यामरले १–१ पटक यस अवार्ड चुमेका छन् भने फ्रान्ज बेकेनबाउरले यस अवार्ड दुई पटक चुम्न सफल भएका छन् । उनले सन् १९७२ र सन् १९७६ मा यस अवार्ड चुमेका थिए ।

बालोन डी’ओर पुरस्कार दिने प्रक्रिया भने अलि भिन्नै किसिमको छ । सुरुमा फ्रान्सेली फुटबल म्यागेजिनको सम्पादकीय टोली आफैले ३० जना खेलाडीहरूको नाम सूचीकरण गर्छ । उम्मेदवारहरू नामाङ्कित भएपछि, संसार भरका प्रतिष्ठित पत्रकारहरू समावेश गरेर बनाइएको समूहले उनीहरूको छनोटका खेलाडीहरूको लागि उम्मेदवारहरूमा मतदान दिने काम गरिन्छ । एक देशले एक मात्र पत्रकार द्वारा प्रतिनिधित्व गर्न सकिन्छ ।

समूहमा भएको प्रत्येक सदस्यले योग्यता अनुसार शीर्ष पाँच खेलाडीहरूको नामाङ्कन गरिन्छ । नामाङ्कन गरिने मापदण्ड भने गएको सिजनको व्यक्तिगत र सामूहिक प्रदर्शन, खेलाडीको प्रतिभा र निष्पक्ष खेल, खेलाडीको करियरमा आधारित रहन्छ । नामाङ्कनमा पहिलो हुने खेलाडीले ६ अंक प्राप्त गर्छ, भने बाकी खेलाडीहरूले क्रमशः ४, ३, २, १ अंक प्राप्त गर्छन् । त्यसपछि प्रत्येक खेलाडीले पाएको अंक जम्मा गरि सबै भन्दा अधिक अंक ल्याउन सफल हुने खेलाडी विजेता घोषित गरिन्छ ।

यदि शीर्ष स्थानको लागि टाई छ भने, जुन खेलाडीको पहिलो स्थानमा मतदान धेरै चोटि भएको छ त्यस खेलाडीको नाम विजेता गरिन्छ । यदि टाई बनी रहन्छ भने दोस्रो स्थानको मतदान प्रयोगमा आउँछ । यस्तै प्रक्रिया चली रहयो भने तेस्रो र चोथोको मतदान सङ्ख्या पनि गनिन्छ ।

प्रत्येक वर्षको अंग्रेजी पात्रो अनुसार अन्तिम महिना डिसेम्बरमा दिने यस अवार्ड, यस पटक अर्थात् २०१९ को अवार्ड भने ६४ औ अवार्ड हुनेछ । यस पटकको ब्यालोन डी’ओर जित्न सक्ने खेलाडीहरूमा यी ५ खेलाडीहरू दावेदार छन् ।

लियोनल मेस्सी (बार्सिलोना)

लियोनेल मेसीले भने आफ्नो टोलीको लागि पछिल्लो पाँच वर्षमा चार पटक आफ्नो घरेलु लिग अर्थात् ला लिगा जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनले गत सिजनमा ५१ गोल सहित १५ एसिस्ट गरेका थिए । मेसीले भने आफ्नो टोली बार्सिलोनाको लागी यूईएफए च्याम्पियन्स लिग उपाधि त जिताउन सकेनन् तर सिजनको सर्वाधिक गोलकर्ता भने उनै बने । साथै ला लिगाको सर्वाधिक गोलकर्ता भएर पिचिची ट्रफी पनि जितेका थिए । साथ–साथै युरोपको नेस्नल लिग भरी सबै भन्दा अधिक, ३६ गोल गरी युरोपियन गोल्डेन सु पनि जितेका थिए । सिजन भरिकै उत्कृष्ट खेललाई सम्मानित गर्दै उनलाई फिफाले २०१९ को द बेस्ट फिफा मेन्स प्लेयरको अवार्डले समेत सम्मानित गरियो ।

क्रिष्टियानो रोनाल्डो (युभेन्टस)

युभेन्टसमा स्थानान्तरण भए लगतै सुरु सिजनमै उत्कृष्ट प्रदर्शन गर्दै क्रिस्टियानो रोनाल्डोले घरेलु लिग अर्थात् सिरिए सँगै सुपरकोपा इटालियाना अर्थात् इटालियन सुपर कप जित्न सफल भएका थिए । गत सिजन युभेन्टसबाट ४२ खेलमा २८ गोल गर्दै रोनाल्डो सिरिएको मोस्ट भ्यालुएबल प्लेयरका साथै च्याम्पियन्स लिग स्क्वाड अफ द सिजनमा समेत उनी घोषित भएका थिए । साथै उनको महत्त्वपूर्ण योगदानको कारण पोर्चुगलले यूईएफए नेसन्स लिगमा समेत च्याम्पियन बन्न सफल भएको थियो ।

रोनाल्डोले स्विजरल्याण्ड विरुद्ध गरेको तीन वटै गोल, गोल अफ द टुर्नामेन्टको टप थ्रीमा परेको थियो । त्यस खेलमा गरेको ह्याट्रिकको मदतले उनी नेसन्स कपको सर्वाधिक गोलकर्ता समेत बनेका थिए ।

बर्नार्डो सिल्भा (म्यान्चेष्टर सिटी)

मोड्रिच पछि रोनाल्डो र मेसीको एकलब्य यालोन डी’ओर रेकर्ड तोड्ने खेलाडीमा बर्नार्डो सिल्भा पहिलो दाबेदार खेलाडी हो । म्यानचेस्टर सिटीबाट व्यावसायिक रूपमा फुटबल खेल्दै आएको बर्नार्डोले यस सिजनमा उत्कृष्ट प्रदर्शन गरेको थियो । केभिन डे ब्रुनको घाइतेबाट उत्कृष्ट फाइदा उठाएका बर्नार्डोले गत सिजन ५१ खेलमा १३ गोल गरि १४ असिस्ट दिइएको थियो । केभिन घाइते भए लगत्तै सिटीको मिडलाइन सम्हाल्न बर्नार्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए । लिग कप, प्रिमियर लिग र एफ ए कप तिन वटै घरेलु लिग जित्दै बर्नार्डोले म्यान्चेष्टर सिटीलाई गत सिजनको तीन उपाधि जिताएका थिए ।

अगस्टमा जितेको कम्युनिटी सिल्ड पनि जितेको जोड्ने हो भने सिटीले यस पाली चार उपाधि जितेको थियो । यूईएफए नेसन्स लिगको लागि घर फर्कनु अघि नै सिटी बाट उनले वर्ष खेलाडी उपाधि सुरक्षित गरेको थियो । साथै पोर्चुगललाई नेसन्स लिग जिताउन उनैको ठूलो भूमिका रहयो र उनको यस कलालाई कदर गर्दै यूईएफए नेसन्स लिगको प्लेयर अफ द टुर्नामेन्ट पनि उनैलाई घोषित गरेको थियो । अरू खेलाडी भन्दा धेरै ट्रफी जितेको र सबै ट्रफी विजेतामा उनको सक्रिय भूमिका रहेको कारण २४ वर्षीय बर्नार्डो यसपटकको बालोन डीुओर विजेता हुन सकिने सम्भावना अधिक छ ।

भर्जिल भ्यान डाइक (लिभरपुल)

२८ वर्षीय, लिभरपुलबाट डिफेन्सिभ प्लेयरको ठाउँबाट व्यवसायीक रूपमा फुटबल खेल्ने भर्जिल भ्यान डाइक पनि यस पालिको यालोन डी’ओरको लागि दावेदार खेलाडी हुन् । इंग्ल्याण्डबाट घरेलु लिग जित्न नसकेपनि च्याम्पियन्स लिग जित्दै उनले ब्यालुन डि’ओर उपाधिमा बलियो दाबेदारिता प्रस्तुत गरेका छन् । च्याम्पियन्स लिगको फाइनलमा समेत उनी म्यान अफ द म्याच घोषित भएका थिए । उनको वर्षभरिको उत्कृष्ट डिफेन्सको लागि उनलाई प्लेयर अफ द सिजनबाट पनि सम्मानित गरिएको थियो ।

एलिसन बेकर (लिभरपुल)

एलिसन बेकर पनि यस पालिको ब्यालुन डि’ओर प्रतिस्पर्धामा एक दावेदार खेलाडी हुन् । लिभरपुलबाट गोल रक्षकको ठाउँबाट व्यवसायीक रूपमा फुटबल खेल्ने ब्राजिलियन खेलाडी यस पाली घरेलु लिग चुम्न सकेनन् तर यूईएफए च्याम्पियन्स लिग भने आफ्नो टोलीको पोल्टामा ल्याउन सफल भएको थियो । उनैको निर्णायक भूमिकामा लिभरपुल च्याम्पियन्स लिग जित्न सफल भएको थियो । सिजन अवधि भर सबै खेलमा आफ्नो उत्कृष्ट प्रतिभा देखाउँदै उनले घरेलु लिगमा २१ क्लिन सिट बनाएका थिए । र, गोल्डेन ग्लोब अवार्डबाट सम्मानित भएका थिए । कोपा अमेरिका जिते लगतै ब्यालुन डि’ओर जित्ने सम्भावना झन् बढेको छ ।

Post Add 1025X115
Loading...