भ्यालेन्सियासँग हारेपछि ग्रानाडाले ला लिगाको दोस्रो स्थानमा उक्लने अवसर गुमायो

0

नेप्लेज, २७ कात्तिक । स्पेनिस घरेलु लिग ला लिगामा ग्रानाडाले लगातार तेस्रो हार ब्यहोरेको छ । शनिबार राति भ्यालेन्सियासँग २-० गोलअन्तरले पराजित भएपछि उसले लिगको दोस्रो स्थानमा उक्लने अवसर गुमाएको छ ।

१३ खेलबाट २० अंक रहेको ग्रानाडा लिगको छैटौं स्थानमा छ । शनिबारै भएको खेलमा लेगानेससँग एक एक गोलको बराबरी खेलेपछि समान खेलबाट २३ अंकसहित रियल सोसिडाड लिगको शीर्ष स्थानमा पुगेको छ ।

समान ११ खेलबाट समान २२ अंक जोडेका बार्सिलोना र रियल मड्रिड क्रमसः दोस्रो र तेस्रो स्थानमा छन् ।

भ्यालेन्सियाले घरेलु मैदानमा महत्वपूर्ण ३ अंक जोड्नका लागि खेलको अन्तिम समयसम्म कुर्नुपरेको थियो ।

पहिलो हाफ निराशाजनक बराबरीमा सकिए पनि दोस्रो हाफको सुरुदेखि नै उसले दवाव बढाएको हो । तर, गोल गर्न ७४ औं मिनेटसम्म कुर्नुपरेको थियो ।

ड्यानिएल वासले ७४ औं मिनेटमा अग्रता दिलाएका थिए भने फरेन टोरेसले खेलको अन्तिम मिनेटमा २-० को जित निश्चित पारेका थिए ।

ला लिगामा शनिबारै भएको अर्को खेलमा डेपोर्टिभो अलाभेसले रियल भालाडोलिडलाई ३-० ले हराएको छ ।

Post Add 1025X115
Loading...