प्रिमियर लिगमा टोटनह्यामको खराव लय जारी, सेफिल्डसँग बराबरीमा रोकियो

0

नेप्लेज, २४ कात्तिक । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामको निराशाजनक प्रदर्शनको शृंखला अझै रोकिएको छैन । पछिल्लो पाँच खेलमा एउटा पनि स्पष्ट जित हासिल गर्न नसकेको उसले शनिबार घरेलु मैदानमा सेफिल्ड युनाइटेडसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

एक महिनाअघि ब्राइटनसँग ३-० को अप्रत्यासित पराजय बेहोरेको टोटनह्यामले पछिल्लो ५ खेलमा तेस्रो बराबरीको नतिजा आत्मसाथ गरेको हो ।

लगातारको खराव प्रदर्शनपछि अंकतालिकामा ओरालो लाग्ने क्रम पनि जारी नै छ । च्याम्पियन्स लिग उपविजेता टोटनह्याम सिजनको १२ खेलको समाप्तिमा १४ अंकसहित १२ औं स्थानमा पुगेको छ ।

लन्डन रंगशालामा पहिलो हाफ गोलरहित बराबरी खेले पनि दोस्रो हाफ घरेलु समर्थकलाई खुसी तुल्याउँदै टोटनह्यामले अग्रता लिएको थियो ।

उसका दक्षिण कोरियाली सुपरस्टार सन ह्युङ मिनले ५८ औं मिनेटमा गोल गरेका थिए । तर, यो अग्रता २० मिनेटमात्र रह्यो ।

पाहुना टोलीका लागि जर्ज बालडकले ७८ औं मिनेटमा बराबरी गोल फर्काएका थिए । उनले डेभिड म्याकगोल्डरिकको पास सदुपयोग गरेका थिए । त्यसयता दुवैको गोलको प्रयास सफल हुन सकेन ।

प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा एभर्टनले रेलिगेसनबाट बच्न संघर्षरत साउथह्यामप्टनमाथि महत्वपूर्ण अवे जित निकालेको छ ।

एभर्टनका लागि टम डेभिड र लिचर्डलिसनले गोल गरेका थिए । सेन्ट मेरिज रंगशालामा घरेलु टोली साउथह्याम्प्टनका लागि ड्यानिएल इंग्सले सान्त्वना गोल फर्काएका थिए ।

जितपछि १२ खेलबाट १४ अंकसहित एभर्टन १३ औं स्थानमा उक्लिएको छ । समान खेलबाट ८ अंकसहित साउथह्याम्प्टन पुछारबाट दोस्रो स्थानमा छ ।

शनिबारकै अन्य खेलमा न्युकासनले बर्नमाउथमाथि २-१ तथा बर्नलेले वेष्ट ह्याममाथि ३-० को जित हासिल गरेका छन् । दुवै टिमले घरेलु मैदानमा आआफ्नो खेल जितेका हुन् ।

 

Post Add 1025X115
Loading...