एभीसी सेन्ट्रल जोनमा नेपालले आइतबार अफगानिस्तानसँग खेल्दै

0

एभीसी सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियन्समा आइतबार अफगानिस्तानसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्दैछ ।

बंगलादेशमा शुरु प्रतियोगिताको शनिबार उदघाटन गरिएको हो । पहिलो दिन घरेलु टोली बंगलादेश र माल्दिभ्सले विजयी शुरुआत गरेका छन् ।
बंगलादेशले अफगानिस्तानलाई सहजै पराजित गर्दा माल्दिभ्सले कीर्गिस्तानलाई ३–२ को सेटमा पराजित गरेको थियो ।

नेपालले २ वर्ष पछि पहिलो अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता खेल्दै छ । यसअघि माल्दिभ्स र इरानसँग विश्व छनाेटकाे एशियन रिजनमा भिडेका थिए ।
नेपालले त्यतिबेला माल्दिभ्सलाई पराजित गरेको थियो भने इरानसँग पराजित भएको थियो । यो प्रतियोगितामा इरानको सहभागीता छैन् । सेन्ट्रल जोनमा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र कीर्गिस्तान भिड्दै छन् ।

नेपाली टिममा अहिले धेरै परिवर्तन पनि आएको छ । आधा नयाँ र आधा पुराना खेलाडीको समिश्रण रहेको छ । नेपाली टिम पहिलो पटक अरुणा शाहीको कप्तानीमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै छ । पूर्व कप्तान र उपकप्तानलाई नै बाहिर राखेर राष्ट्रिय टिम घोषणा गरिएको थियो ।

कप्तान शाहीसँगै, प्रतिभा माली, रेश्मा भण्डारी, कमला पुन, सरस्वती चौधरी र उषा विष्ट पहिले पनि खेलिसकेका खेलाडी हुन् । यसै प्रतियोगितबाट निरुता ठगुन्ना, पुनम चन्द, लिव्रो सलिना श्रेष्ठ, जानकी भण्डारी, सुनिता खड्का र सोफिया पुनले डेब्यु गर्ने छन् ।
अफगानिस्तानविरुद्धको खेलमा सरस्वती चौधरी खेल्ने सम्भावना बढी रहेको छ । थाइल्याण्डमा अभ्यासका क्रममा घाइते भएकी सरस्वती ठिक भएको प्रशिक्षकले जनाएका छन् ।

स्वर्ण पदक जित्दै इतिहास रच्ने लक्ष्यका साथ नेपालबाट बंगलादेश आएको टिमका प्रशिक्षक जगदीश भट्ट्ले अफगानिस्तानविरुद्धको खेलले प्रतियोगिता शुरुहुने भएकाले आफै निकै उत्साहित भएको बताए । २ वर्ष पछि नेपाली टिम अन्तर्राष्ट्रिय प्रतियोगितमा उत्रन लागेको र उच्च लयमा रहेकाले सेन्ट्रल जोनको स्वर्ण पदक जित्ने दावी पनि गरे ।  उनले भने अहिले नेपाली महिला भलिबल टिम उच्च फर्ममा रहेको छ । त्यसैले यस पटक स्वर्ण पदक जित्छौं ।

Post Add 1025X115
Loading...