ओलम्पिक काउन्सिल बैठकमा खेलकुद मन्त्री विश्वकर्माले भने तयारी ‘करिब–करिब’ अन्तिम चरणमा

0

आसन्न दक्षिण एशियाली खेलकुद सागका लागि दक्षिण एशियाली खेलकुद ओलम्पिक काउन्सिलको बैठक काठमाडौंमा सुरु भएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा सहभागि सातैं राष्ट्रका पदाधिकारीको उपस्थिती छ ।

बैठकमा आयोजक नेपालले प्रतियोगिताको तयारीका विषयमा प्रिजेन्टेसन दिने कार्यक्रम रहेको छ । तीन दिनसम्म चल्ने बैठकले प्रतियोगिता तोकिएको मितिमा गर्न सम्भव छ की छैन भनेर निक्र्योल गर्नेछ । साथै यातायात र सुरक्षाको अवस्थाको बारेमा पनि आयोजकको नाताले नेपालले सहभागि देशका प्रतिनिधिलाई विश्वस्थ गराउनु पर्नेछ ।

आजै सातै राष्ट्रका सेफ द मिसनहरु सम्मेलित सेमिनार पनि सुरु हुनेछ ।

बैठकमा सहभागिहरुलाई सम्बोधन गर्ने क्रममा युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले तयारी अन्तिम चरणमा पुगसकेको र खेलाडी, पदाधिकारीहरुलाई स्वागत गर्न नेपाल लालयीत भएको प्रतिक्रिया दिए ।

‘अहिले सागको आयोजनाका लागि करिब करिब अन्तिम चरणमा पुगेका छौं,’ मन्त्री विश्वकर्माले भने, ‘ डिसेम्बर १ मा खेलाडी, दक्षिण एसियाली ओलम्पिक कमिटीका पदाधिकारी, सबै देशका प्रतिनिधिहरुलाई स्वागत गर्न हामी लालयीत छौं ।’

‘१३औं सागलाई भब्य रुपमा आयोजना गर्ने उद्धेश्यका साथ तयारी तीब्र गरिएको जानकारी गराउन चाहन्छु ।’

मन्त्री विश्वकर्माले यो खेलकुदले दक्षिण एसियामा रहेका देशहरुको मित्रतालाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकालाई सबैलाई साथ र सहयोग गर्न आव्हान गरे । सबै देशका सरकार प्रमुख, राष्ट्र प्रमुख, खेलकुदका पदाधिकारीहरुलाई निमन्त्रण पठाइसकेको पनि मन्त्री विश्वकर्माले जानकारी दिए ।

यसैविच आसन्न सागमा नेपालले मात्र सबै २७ खेलमा सहभागिता जनाउने भएको छ । बंगलादेश र श्रीलंकाले २५–२५ खेलमा सहभागिता जनाउने पक्का भएको छ ।

दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपाल बाहेक कुनै पनि देशले सहभागिता नजनाउने भएपछि प्याराग्लाइडिङ नहुने पक्का भएको छ ।

नेपाल ओलम्पिक कमिटीमा दर्ता गरिएको खेलको सूचीमा बंगलादेशले प्याराग्लाइडिङ र ट्राइथलनमा नखेल्ने भएको छ । यस्तै श्रीलंकाले बक्सिङ र प्याराग्लाइडिङमा नखेल्ने भएको छ ।

माल्दिभ्सले जम्मा एघार खेलमा सहभागिता जनाउने टुंगो लगाएको छ । भारतले १७, पाकिस्तान १८, भुटान १४ खेलमा भाग लिने भएका छन । भारतले क्रिकेट, आर्चरी, गल्फ, कराँते, कबड्डी, प्याराग्लाइडिङ, टेबल टेनिस, टेनिस, तेक्वान्दो, रेस्लिङमा नखेल्ने भएको हो ।

यस्तै माल्दिभ्सले आर्चरी, बक्सिङ, साइक्लिङ, फेन्सिङ, गल्फ, जुडो, कराँते, कबड्डी, प्यााग्लाइडिङ, खोखो, स्क्वास, तेक्वान्दो, ट्राइथलन, भारत्तोलन, रेस्लिङ र उसुमा नखेल्ने भएको छ ।

यस्तै पाकिस्तानले आर्चरी, फुटबल, फेन्सिङ, साइक्लिङ, क्रिकेट, जुडो, खोखो, प्याराग्लाइडिङ र ट्रायथलनमा भाग नलिने भएको छ ।

भुटानले फेन्सिङ, साइक्लिङ, खोखो, प्याराग्लाइडिङ र ट्रायथलन,ह्याण्डबल, कबड्डी, पौडी, स्क्वास, टेबलटेनिस, भलिबल, उसु र रेस्लिङमा नखेल्ने भएको छ ।

आयोजक राष्ट्र नेपालबाट ६ सय ४८ खेलाडी सहभागी हुनेछन् ।

त्यस्तै, श्रीलंकाबाट ६ सय २२, बंगलादेशबाट ५ सय ९१, भुटानबाट १ सय ४२, भारतबाट ४ सय ६१, माल्दिभ्सबाट ३ सय ३२, पाकिस्तानबाट ४ सय १३ जना खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ ।

Post Add 1025X115
Loading...