१३औं सागमा प्याराग्लाइडिङको टिम नपुग्ने!

0

मंसिर १५ देखि २४ गतेका लागि तय भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा समावेश गरिएका २७ खेलमध्य एउटा खेल हो प्याराग्लाइडिङ ।

यसअघि इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा रजत जितेर नेपाललाई पदकबिहीन हुनबाट जोगाएको प्याराग्लाइडिङ सागमा नहुने सम्भावना बढेको छ ।

व्यवसायिक रुपमा चर्चित रहेको साहसिक खेल प्याराग्लाइडिङ दक्षिण एसियाली स्तरमा प्रतिस्पर्धात्मक खेलको रुपमा उदाएको धेरै भएको छैन ।

नेपालमै २० वर्षदेखि प्याराग्लाइडिङ सञ्चालन भए पनि खेलकुदको रुपमा स्थापित भएको एसियाली खेलकुदमा पदक जितेपछि मात्रै हो । प्याराग्लाइडिङ राखेपमा खेल संघको रुपदा दर्ता भएको पनि ८ वर्षमात्र भएको छ ।
नेपालले आयोजकको अधिकार प्रयोग गरी प्याराग्लाइडिङ र क्रिकेट खेललाई यस पटकको सागमा समावेश गरेको हो । तर अन्तिम समयमा प्याराग्लाइडिङ प्रतियोगिताबाट बाहिरिने अवस्था आउने सम्भावना छ । यसको कारण अरु केहि होइन, सहभागी देशको संख्या नपुगेर हो ।

सागमा कुनै पनि खेलको प्रतिस्पर्धा हुनका लागि कम्तिमा ४ देशका टोलीको प्रतिस्पर्धा अनिवार्य छ । यस्तोमा प्याराग्लाइडिङका लागि ४ टिम पुग्ने सम्भावना कम रहेको बताइएको छ ।

सागमा सहभागी देशको खेल तथा खेलाडीको दर्ता गर्ने जिम्मेबारी पाएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले प्याराग्लाइडिङको प्रतिस्पर्धा नहुने विषयमा अहिले भन्न नसकिने जानकारी दिए ।

‘अहिले सहभागी देशहरुले खेल तथा खेलाडी दर्ता गरिरहेका छन् । ओलम्पिक र एसियाली खेलकुद भन्दा दक्षिण एसियाली खेलकुदमा खेल तथा खेलाडी दर्ता नियम सहज छ । अन्तिम समयमा पनि दर्ता प्रक्रिया चलिरहन्छ,’ उनले भने, ‘अहिले नै भन्न सकिने अवस्था हुँदैन ।’

ओलम्पिक अध्यक्षले यसो भने पनि एक पदाधिकारीले कम्तिमा ४ देशलाई सहभागी गराउने पहल असफल भएको जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषदले पनि प्याराग्लाइडिङ खेलको प्रतिस्पर्धा हुने र स्वर्णको तयारीका साथ साग प्रशिक्षण गरिरहेको जनाएको छ । परिषदले प्याराग्लाइडिङको खेल सामाग्री खरिद प्रक्रिया पनि सुरु गरिसकेको छ ।
राखेप सदस्यसचिव रमेश सिलवालले अन्य देशमा प्याराग्लाइडिङको आधिकारिक खेल संघ नभएकाले समस्या भएको जानकारी दिए । उनले सम्बन्धित देशको ओलम्पिक कमिटीले चाहेको खन्डमा टिम पठाउन सक्ने पनि दावी गरे ।

‘भारत लगायत अरु देशहरुमा प्याराग्लाइडिङको संघ नै अस्थित्वमा रहेनछ । त्यहाँ क्लब स्तरबाट सो खेल खेलिने रहेछ । क्लब स्तरबाट पनि खेलाडीहरु तयार भएका छन्,’ उनले थपे, ‘हामीले सम्बन्धित देशका ओलम्पिक कमिटीमार्फत अनुरोध गरी टिम समावेश गराउने व्यवस्था गर्नेछौं ।’

Post Add 1025X115
Loading...