एमसीसीले नेपाली स्पीनरसँग कसरी खेल्ने भन्ने सिक्नेछः रिचार्ड ग्रेटोरेक्स

0

विश्वकै पहिलो क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब एमसीसी दुई साताको नेपाल भ्रमणमा आएको छ । विश्व क्रिकेटको विकासमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै विकासशील राष्ट्रको भ्रमण गर्दै आएको एमसीसीले नेपाल भ्रमण आफ्नो लागि पनि सिक्ने मौका हुने प्रतिक्रिया दिएको छ ।

टिमका ब्यवस्थापक रिचार्ड ग्रेटोरेक्सले बलियो प्रतिद्वन्द्वी नेपालविरुद्धको खेल प्रतिष्पर्धात्मक हुने प्रतिक्रिया दिए । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ब्यवस्थापक रिचार्डले नेपाल विश्व क्रिकेटमा बलियो हुँदै गएको प्रतिक्रिया दिए । ‘हाम्रा लागि नेपाली स्पीनर चुनौति हुनेछन्,’ रिचार्डले भने ।

ब्यवस्थापक रिचार्डले नेपाली टिमका सदस्य समध्ये एक दुई जनाको खेल हेरेको बताए । उनले सन्दिप लामिछानेको बलिङ हेर्न चाहेको बताए । पछिल्लो २३ वर्षदेखि एमसीसीका सदस्य रहेका रिचार्डले टिमसँग विभिन्न सात देशका भ्रमण गरिसकेका छन् । यो वर्ष एमसीसीको चौथो विदेश भ्रमण हो । यसअघि एमसीसीले कोस्टारिका, मेक्सिको र सेरा लियोनको भ्रमण गरेको थियो । ‘चारमध्ये नेपाल सबैभन्दा बलियो टिम हो, उनीहरु (नेपाली टिम) अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गर्दै आएका छन्,’ रिचार्डले थपे । ‘नेपाली क्रिकेट अहिले विश्वमा चिनिँदै गएको छ ।

आईपीएल, बिग बासमा नेपालको प्रतिनिधित्व भइसकेको छ भने द हन्ड्रेडमा पनि नेपाली अनुहार देखिने तय भइसकेको छ ।’ एमसीसी टिममा दुई जना खेलाडीले अन्तर्राष्ट्रिय अनुभव लिइसकेका छन् भने बाँकी खेलाडीले प्रशस्त फस्र्ट क्लास क्रिकेट खेलिसकेका छन् । जसमा टम वेस्ले सबैभन्दा हाई प्रोफाइल खेलाडी हुन् जसले दक्षिण हालै दक्षिण अफ्रिकाविरुद्धको खेलमा इंग्ल्याण्डको प्रतिनिधित्व समेत गरिसकेका छन् ।

यस्तै पाकिस्तानी क्रिकेट टिमका यासिर अराफत अर्का हाई प्रोफाइल खेलाडी हुन् जसले तीनवटै फरम्याटका अन्तर्राष्ट्रिय म्याचको अनुभव लिइसकेका छन् । टिमका कप्तान जिम्मी एडम्सले पनि सन्दिप लामिछानेको खेल हेरेको प्रतिक्रिया दिए । नेपाल बलियो टिम भएको उनको भनाई थियो ।

‘क्रिकेटमा बलियो हुँदै गएको नेपालसँगका म्याचहरु प्रतिष्पर्धात्मक हुने विश्वास छ,’ कप्तान एडम्सले भने । एमसीसीले नेपाल भ्रमणबाट यहाँको संस्कृति सिक्ने मौका पाउने कप्तान र ब्यवस्थापकको भनाई थियो । टिमका सबै खेलाडीले पहिलो पटक नेपालमा खेल्दैछन् । त्यसैले सबैका लागि नयाँ अनुभव हुनेछ । नेपालमा क्रिकेटको विकासमा कसरी सहयोग गर्न सकिन्छ भन्ने एमसीसीको नेपाल भ्रमणको लक्ष्य हो ।

एमसीसी तीन वर्षमा तीन पटक नेपाल आउनेछ । अर्को भ्रमणमा उसले महिला टिम ल्याउने तयारी गरेको छ भने त्यसपछि ग्रासरुटको विकासका लागि इंग्ल्याण्डको ग्रासरुट टिमलाई नै यहाँ ल्याएर सिकाउने योजना एमसीसीको छ । यो भ्रमणका क्रममा भने एमसीसीले यू–१९, सिनियर टिम र मिश्रित टिमसँग गरी तीनवटा टि–२०, एउटा एक दिवशीय र एउटा फस्र्ट क्लास (तीन दिवशीए) क्रिकेट खेल्नेछ । खेल काठमाडौं र पोखरामा हुनेछ ।

Post Add 1025X115
Loading...