पर्यावरण संरक्षण र रानीकोट गढी प्रचारका लागि वकाथन

0

नेप्लेज, ९ कात्तिक । पर्यावरण संरक्षण र स्थानीय रानीकोट गढी प्रचारका लागि भक्तपुरको सूर्यबिनायक नगरपालिका-७ गुन्डुमा शनिबार वकाथन प्रतियोगिता आयोजना गरिएको छ ।

स्थानीय समाजसेवी समूह तथा मान्द्रो परिवारको आयोजना, रेडक्रस सोसाइटी भक्तपुर शाखाको सहयोग तथा सेन्चुरी बैंकको प्रायोजनमा आयोजना भएको वकाथनमा ५० जनाभन्दा बढीले सहभागिता जनाएका थिए ।

भक्तपुरको ग्रामिण क्षेत्रमा पर्ने र पर्यटकीय क्षेत्र घ्याम्पेडाँडाको काखैमा रहेको गुन्डुका बासिन्दाले पर्यावरण तथा पर्यटकीय क्षेत्रको प्रचारका लागि गरेको कार्यक्रमको उद्घाटन सोही क्षेत्रबाट प्रतिनिधिसभाका लागि निर्वाचित सांसद महेश बस्नेतले गरेका थिए ।

गुन्डु वडा कार्यालय चोकबाट सुरु भएको वकाथन पिपल डाँडा, रानीकोट हुँदै घ्याम्पेडाँडामा पुगेर सम्पन्न भएको थियो ।

वडा नम्बर ७ का मुकुन्द पोखरेलले ४७ मिनेट १७ सेकेन्डमा दूरी पूरा गरी वकाथनको उपाधि जितेका छन् । स्थानीय विराज तामाङ दोस्रो र विक्रम केसी तेस्रो भए । उनीहरुले क्रमसः ५०.२९ र ५१.२१ मिनेटमा दूरी पूरा गरेका थिए ।

५३.२४ मिनेटमा पूरा गरेका मधु खड्का चौथो, ५६.५४ मिनेटमा दूरी पूरा गरेका कृष्ण प्रसाद वाग्ले पाँचौं स्थानमा आए ।

वकाथनमा सुरेश बस्नेत छैटौं, विक्रम बस्नेत सातौं, कुमार तामाङ आठौं, महेश्वर गौतम नवौं र प्रमोद देउजा दशौं भए ।

Post Add 1025X115
Loading...