महिला क्रिकेटमा नयाँ काेशेढुंगा बन्याे वुमन्स च्याम्पियन्स लिग !

0

दक्षिण एशियामा नै पहिलो पटक आयोजना गरिएको महिला फ्रेन्चाइजी लिग नेपालमा भब्य रुपमा सम्पन्न भयो । क्विन्स इभेन्ट्स म्यानेजमेन्टको यो प्रयासलाई सफल पार्न सबै पक्षको उतिकै योगदान रह्यो ।

पोखरामा पोखरा प्रिमियर लिगको आयोजना सफल रुपमा गरेपनि क्विन्स इभेन्ट्सले अब महिला क्रिकेटको प्रतियोगितापनि गर्नुपर्छ भनेर यो प्रतियोगिताको डिजाइन एक बर्षको अवधीमा गरेको थियो । प्रतियोगिता गर्ने भनेर मिती घोषणा गरेपनि विभिन्न कारणले यो प्रतियोगिता पछाडी धकेलिन पुग्यो । तर दशै र तिहारको विच पारेर आयोजकले प्रतियोगितालाई भब्य र सभ्य रुपमा सम्पन्न गरे ।

नेपालमा महिला क्रिकेट खेलाडी फुर्सदिला बने, प्रतियोगिता खेल्न पाएनन्, महिला क्रिकेटको स्तर खस्कियो भन्ने विभिन्न प्रश्नहरु उब्जिरहेका बेला खेलाडीलाई भने यो प्रतियोगिताले निकै ठुलो हौसला प्रदान गर्यो । हाल राष्ट्रिय टिममा रहेका खेलाडी मात्र होइनन्, नयाँ खेलाडीका लागि पनि यो प्रतियोगिता कोशढुंगा सावित भयो ।

पाँच वटा फ्रेन्चाइजी टिमको सहभागिता रहेको प्रतियोगितामा अपराजित रहँदै चितवनले उपाधि उचाल्यो । करीव डेढ साता चलेको प्रतियोगितामा लामो समय नेपाली क्रिकेट टिमको कप्तानी परेका पारस खड्काको पनि प्रत्यक्ष संलग्नता रहेकाले पनि यो संभव भएको मानिन्छ ।

महिला क्रिकेटमा लगानी गर्न अझैपनि हिचकिचाउने बेला नै छ, तर पनि क्विन्स इभेन्ट्सको टिमले आफ्नो रिलेसन वा भनौ क्रिकेटलाई मनपराउने विभिन्न ब्यवसायिक घरानासाग मिलेर टिम तयार पारे । त्यसमा पहिलो पटक महिला खेलाडीको ड्राफ्ट पनि भयो ।

प्रतियोगितालाई सफल पार्न क्विन्स इभेन्ट्स कुनै पनि कन्चुस्याई गरेन भन्दा कम नहोला, मैदानमा ब्यवस्थापन देखि खेलाडीलाई दिने सुविधाहरु चुस्त थियो । तर यसकाे अायाेजनाका लागि चुनाैती भने धेरै सामना गर्याे । प्रायाेजक खाेज्नु, मैदान ब्यवस्थापन गर्नु, टिमका मालिक खाेज्नु, तर सबै चुनाैतीकाे सामना सफल रूपमा गरेर प्रतियाेगिताले पहिलाे संस्करणबाट बिदाइ मागेकाे छ ।

यो प्रतियोगिता सम्पन्न हुँदा महिला खेलाडी पनि आठ बर्षपछि कीर्तिपुर मैदानमा प्रतियोगिता खेल्दा निकै उत्साहित थिए । महिला टिमकी कप्तान रुवीना क्षेत्रीले डब्लुसीएलले सिनियर मात्र होइन नयाँ खेलाडीका लागि पनि ठुलो अवसर दिएको र उनीहरुको स्तर मापन गर्ने मौका पनि दिएको बताइन, यतिमात्र होइन, महिला क्रिकेटमा नियमित प्रतियोगिता नभइरहेका बेला यसले ठुलो राहत दिएको र आगामी दिनमा यसलाई निरन्तरता दिन निकै आवश्यक रहेको बताइन ।

प्रतियोगिताको च्याम्पियन टिम चितवनकी कप्तान इन्दु बर्माले नेपाली महिला टिमका लागिमात्र होइन, यो प्रतियोगिताले सम्पुर्ण महिला क्रिकेट खेलाडीलाई पनि ठुलो उत्साह दिएको छ । केहि नभइरहेको अवस्थामा यो प्रतियोगिताले खेलाडीको मुहारमा हाँसो दिएको छ, खेलाडीले केहि भएपनि आम्दानी गर्ने मौका पनि पाएका छन, अब यसलाई निरन्तरता दिन निकै आवश्यक रहेको बताइन ।

यस्तै महिला टिमका प्रशिक्षक विनोद दास जसले राष्ट्रि महिला टिमलाई करीव एक बर्ष प्रशिक्षण दिएका थिए, उनले पनि यो प्रतियोगिताको खुलेर नै प्रशंसा गरे । यो प्रतियोगितामा धेरै नयाँ खेलाडीले आफ्नो क्षमता देखाएका छन, हाल टिममा भएका खेलाडीले क्षमता देखाउनु भन्दापनि नयाँ खेलाडीका लागि यो प्रतियोगिता निकै सार्थक बनेको छ ।

नेपालमा महिला क्रिकेटका प्रतियोगिता औंलामा गनेर हुनेगर्छन, त्यसमा पनि कोहि बर्षा याममा, कसैले पुरस्कार रकम समयमा नदिने लगायतका गुनासाहरु धेरै आउछन, तर डब्लुसीएलले सबैलाई ध्यानमा राखेर पुर्णरुपमा आयोजना गरेको छ ।

नेपाली महिला क्रिकेटको विकाशमा यो प्रतियोगिताले एउटा ईटा थप्ने काम भने पक्कै गरेको छ । त्यसका लागि क्विन्स इभेन्ट्सलाई धन्यवादका साथै बधाईपनि ।

Post Add 1025X115
Loading...