स्पेन यूराेकपमा स्थान बनाउन सफल, इट्लीकाे सहज जित

0

पूर्व च्याम्पियन स्पेन सन् २०२० को यूरो कपमा छनोट भएको छ । गएराति भएको खेलमा स्विडेनसँग एक एक गोलको बराबरी खेलेपछि स्पेन यूरो कपमा स्थान बनाउन सफल भयो ।

समुह एफबाट युरोकपमा पुग्न स्पेनलाई एक अंकको खाँचो थियो । जसमा उसले अन्तिम समयमा गोल गर्दै स्विडेनलाई बराबरी गर्न सफल भयो । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । तर ५० औं मिनेटमा स्विडेनले खेलमा अग्रता बनायो । उसका लागि मार्कुस बेर्गले गोल गर्न सफल भए ।

त्यसपछि स्विडेनका रोबीन क्विसोनको प्रहारलाई स्पेनका गोलकिपर डेवीड डी जियाले बचाए । तर खेलको इन्जरी समयको दोस्रो मिनेटमा स्पेनले खेल बराबरी गर्न सफल भयो । उसका लागि रोद्रिगोले गोल गरे । यो बराबरीले स्पेन २० अंकका साथ युरो कपमा स्थान बनाउन सफल भयो । यता स्विडेनको १५ अंक छ र उ तालिकाको दोस्रो स्थानमा छ ।

यूराेकपमा पुगिसकेकाे इटलीकाे सहज जित

अर्को खेलमा यसअघि नै युरोकपमा स्थान बनाइसकेको इट्लीले लिचेस्टाइनको पोष्टमा पाँच गोल गर्न सफल भयो । उसको जीतमा बेलोटीले दुई गोल गरे । खेलको दोस्रो मिनेटमा बेर्नारदेस्चीको गोलबाट अग्रता बनाएको इटलीले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो ।

तर दोस्रो हाफमा उसले चार गोल थप्यो । ७० औं मिनेटमा बेलोटीले गोल गरे भने ७७ औं मिनेटमा रोमाग्नोलीले गोल गरे । यस्तै ८२ औं मिनेटमा एल सारावेले टिमका लागि चौथो गोल गर्दा खेलको इन्जुरी समयमा बेलोटीले ब्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौ गोल गरे ।

Post Add 1025X115
Loading...