नेपाली क्रिकेट टिममा संकट मोचककाे परिचय बनाउँदै करण

0

नेपाली क्रिकेट टिममा संकट मोचक खेलाडी भनेर आफ्नो परिचय फर्दे गरेका खेलाडी हुन करण केसी, नेदरल्याण्ड विरुद्ध उनले जुन किसिमको अलराउण्ड प्रदर्शन गरे, त्यसले उनी साच्चिकै नेपाली टिमका लागि संकटमोचक खेलाडी हुन भन्ने एउटा उदाहरण हो ।

एक समय कप्तान पारस खड्काले टिमलाई संकटबाट जोगाउन आफ्ना हतियारका रुपमा बसन्त रेग्मीलाई प्रयोग गर्थे, त्यसैले पनि उनलाई क्राइसिस म्यान भनेर टिममा उपमा पनि दिइएको थियो । तर पछिल्लो पटक त्यो उपमा करणले पाइरहेका छन । नेपाली राष्ट्रिय टिममा प्रवेश गरेको चार बर्षमा नै करणले आफ्नो छुट्टै पहिचानमात्र बनाएका छैनन्, टिमका एक महत्वपुर्ण सदस्य पनि बनिसकेका छन ।

नेपाली टिममा उनि चोटग्रस्त भएनन् भने हरेक टुरमा करण अनिवार्य खेलाडीका रुपमा पर्छन । सोमपाल कामीसँग ओपनीङ बलिङको जिम्मेवारी पाउँदै आएका करणले नेदरल्याण्ड विरुद्ध मात्र नेपाललाई जितको बाटो देखाएका होइन, उनले घरेलु फ्रेन्चाइजी लिग होस या राष्ट्रिय टिम संकटमा परेको बेला होस, आफ्नो क्षमताको भरपुर प्रयोग गरेर एतिहासिक सफलता दिलाएका छन ।

सन् २०१५ मा नामिवियामा भएको विश्व क्रिकेट लिग डिभिजन २ बाट राष्ट्रिय टिममा स्थान बनाएका करणले पहिलो प्रतियोगिताबाट नै आफ्ना छाप बनाएका थिए । क्यानडा विरुद्ध ५ विकेट लिएर लिष्ट ए मा उत्कृष्ट बलिङ फिगर बनाएका उनले २०१५ कै जुन ३० मा नेदरल्याण्ड्स विरुद्धको खेलमा टी २० मा डेब्यु गरेका थिए ।

बलिङमा राम्रो गरिरहेका करण ब्याटिङ पनि राम्रो खेल्छन भन्ने प्रमाण २०१८ मा भएको विश्वकप छनोटमा क्यानडा विरुद्धको खेलमा देखाएका थिए । नेपाल हारको नजिक पुगेका बेला जिम्बोवको भूमीका उनले क्यानडा विरुद्ध बनाएको ४२ रन नेपाली क्रिकेट समर्थक, उनी आफैले पनि नबिर्सिने क्षण हो ।

नेपाली समर्थकलाई भ्यालेन्टाइन स्पेशल गिफ्ट दिएका करण त्यो इनिङपछि बलरमात्र होइन एउटा अलराउण्डर खेलाडीको परिचय बनाए । एक सय ३० किलोमिटर प्रति घण्टाको तेजमा बल फाल्ने करणले नेपालले एकदिवसिय मान्यता पाएपछिको पहिलो टुरमा नै टिममा पर्न सफल भए । जसमा उनले नेदरल्याण्ड्स विरुद्धको खेलमा डेब्यु गरेका थिए ।

समयसँगै आफुलाई परिपक्क र आफ्नो खेललाई पनि परिपक्क बनाइरहेका करणमाथि कप्तान पारस खड्काको पनि विश्वास बढेको छ, कारण उनी टिमले चाहेको बेला आफुलाई प्रमाणित गर्न सक्नछन भनेर ।

ओमान टुरमा दुई खेलमा आठ विकेट लिइसकेका करणले नेदरल्याण्ड्स विरुद्ध अन्तिम ओभरमा चाहिएको १७ रनले गुमिसकेको खेल आफ्नो हातमा पार्न सफल भए । यसले उनको आत्मविश्वासमात्र होइन, उनीमाथि टिमले गर्ने निर्भरता पनि बढेको छ ।

त्यसैले आगामी दिनमा पनि करणले यस्ता उदाहरणीय पारी फेरीपनि पक्कै खेल्नेछन ।

Post Add 1025X115
Loading...