नेपालले भाेली हङकङसँग खेल्दै, याे टुरमा गुमाउनु केहि नभएकाे कप्तान पारसकाे धारणा

0

ओमानमा जारी टी २० सिरीजमा नेपालले पहिलो खेलमा भोली हङकङ विरुद्ध खेल्दैछ । ओमान क्रिकेट एसोसियसनको मैदानमा नेपाली समय अनुसार दिउसाे सवा ३ बजेबाट सुरु हुनेछ ।

सिंगापुरमा चार टी २० खेलमा एकमा जित, दुई हार र एक बराबरी खेलेर ओमान पुगेको नेपाली टिमले पहिलो खेलमा भोली चिरप्रतिद्धन्द्धी हङकङसँग खेल्दैछ । टी २० विश्वकप छनोटको तयारीमा रहेको हङकङ विरुद्ध नेपाली टिम सहज जितको अपेक्षामा रहेको छ ।

ओमान विरुद्धको पहिलो खेलमा कमजोर ब्याटिङ गरेको हङकङको टिममा मुख्य तीन खेलाडी छैनन् । बाबर हायात लगायतका अनुभवी खेलाडी नभएकाले यसपटक हङकङ टिम केहि कमजोर देखिएको छ । उसले ओमान विरुद्ध सात विकेटका हार ब्यहोर्दा ब्याटिङमा कमजोर देखिएको थियो ।

यता नेपालका लागि पनि यो प्रतियोगितामा विजयी सुरुवात गर्ने सुनौलो अवसर हुनेछ । स्पिनरलाई सहयोग हुने खालको पिच भएकाले सन्दिप लामिछाने, ललित राजवंशी जस्ता खेलाडीलाई विपक्षीलाई दबाव दिन सहज हुनेछ ।

ओमान टुरले नेपाली खेलाडीका लागि राम्रो एक्पोजरको मौका रहेको र युवा खेलाडीलाई अनुभवको मौका हुने पनि कप्तान पारस खड्काले बताएका छन । यो प्रतियोगितामा नेपालले गुमाउनुपर्ने केहि नभएको भन्दै राम्रा विपक्षी विरुद्ध जित निकाल्न सक्नु नै टिमको उपलब्धि हुने उनको भनाई छ ।

यो प्रतियोगिताकै कमजोर टिम मध्येको एक हङकङ विरुद्ध नेपालले टी २० मा करिव चार बर्षपछि खेल्न लागेको हो । २०१४ को विश्वकप छनोटपछि नेपालले टी २० मा यो टिमसँग खेलेको छैन । एकदिवसिय क्रिकेटमा भने २०१८ मा खेलेको नेपाल सो बेला विजयी भएको थियो ।
नेपाली टिमका लागि भोली युवा खेलाडीको परिक्षणको मौका पनि रहेको छ । विशेष गरि ओपनर जोडीलाई फर्ममा फर्कनका लागि राम्रो अवसर रहेको छ ।

अनुभवी खेलाडीलाई आराम दिएर युवा खेलाडीलाई तयार पार्ने योजनामा रहेको नेपाली टिमले सिंगापुरमा हात पारेको अनुभवलाई ओमानमा प्रयोग गरेर राम्रो नतिजा निकाल्ने कप्तान पारसले बताएका छन ।

प्रचण्ड गर्मीका विच हुने खेलमा मौसमले पनि धेरै फरक पार्नेछ । यसका साथै पिचको कन्डिसन हेरेर टिमले आफ्नो रणनिती बनाउनेछ ।

Post Add 1025X115
Loading...