अन्नपूर्ण पोस्ट ब्याडमिन्टनः नवीन श्रेष्ठले हराए शीर्ष वरियताका अष्ट्रेलियन खेलाडीलाई

0

नेपालका नवीन श्रेष्ठले काठमाडौंमा जारी अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा सानदार प्रदर्शन गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद् कभर्डहलमा बिहिबार भएको पुरुष एकलतर्फको खेलमा नविनले शीर्ष वरीयताका अष्टे«लियन खेलाडी डानियल फानलाई २१–१५, १८–२१, २१–१६ को सेटमा हराए । जितसँगै नविन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको तयारीमा रहेका नविन नेपालका सातौं वरीयताका खेलाडी हुन् । नविनले डानियललाई हराउन सक्नु आफ्ना लागि ठूलो उपलिब्ध भएको बताए । ‘पहिले सेट राम्रो भएको थियो । दोस्रो सेट बिगारें । सटल फास्ट भएकोले नेटमा बढी लाग्यो । तेस्रो सेटमा सुधार भयो । डानियलले कमजोर सर्भिस गर्दा मैले फाइदा उठाएँ,’ २३ बर्षीय नविनले भने ।

भोजपुरका नविन विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । क्वार्टरफाइनलमा उनको भिडन्त नेपालकै युवा स्टार प्रिन्स दाहालसँग हुनेछ । बिहिबारनै भएको खेलमा प्रिन्सले मलेसियाका मलेसियाका दातु मोहद शाह इजलान सारदिकलाई १५–२१, २१–१७, २१–१३ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।

पुरुष एकलकै अर्को खेलमा नेपालका दिपेश धामीले विकाश श्रेष्ठलाई २१–१५, २१–१३ र रत्नजित तामाङले विष्णु कटुवाललाई २१–७, २१–१२ को सेटमा हराएर क्वार्टरफाइनलमा पुगे । अन्य खेलमा भारतका स्वर्णराज बोराले मलेसियाका चुआन झे ताइलाई २१–१७, २१–२०, मलेसियाका सेङ जोय योहले नेपालका अरिनताप दास गुप्ताले १४–२१, २३–२१, २१–१३, बंगलादेशका मोहमद सलमान खानले भारतका तरुण रेडीलाई १६ –२१, २१–१५, २१–१४ र भारतका कात्तिकेय सुल्सान कुमारले नेपालका देवराज रानालाई २१–९, २१–३ ले हराउँदै क्वार्टरफाइनलमा पुगेका छन् ।

महिला एकलः सिमा र सिता क्वार्टरफाइनलमा
सिमा राजवंशी र सिता महिला एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । राखेप कभर्डहलमा बिहिबार भएको खेलमा सिमाले सुनयना मुखियालाई २१–१७, २१–१७ र सिताले नेपालकी लोकतमा राईलाई २१–१६, २१–१७ ले पाखा लगाए ।

सोही स्पर्धाका अन्य खेलमा भारतकी चिया सिगेयामाले भारतकै दिपाली गुप्तालाई २१–१०, २१–११, चाइनेज ताईपेईकी यु चेईहले भारतकी कनईका कनवाललाई २१–१९, २१–१२, भारतकी गायत्री गोपीचन्द पुलेलाले इन्डोनेसियाकी रिरिन अमेलियालाई २१–१०, २१–८, भारतकी सामिया इमाद फारोक्वीले नेपालकी नङ्शल तामाङलाई २१–५, २१–१३ तथा जापानकी युरी नाकामुराले भारतकी इरा शर्मालाई २१–९, २१–१६ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

Post Add 1025X115
Loading...