राष्ट्रिय विश्वविद्यालय खेलकुद संघको व्यवस्थापनमा प्रधानमन्त्री कप सुरु

0

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा राष्ट्रिय विश्वविद्यालय खेलकुद संघको व्यवस्थापनमा प्रधानमन्त्री कप चौथो अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ ।

८ विश्वविद्यालय सहभागी प्रतियोगिताको आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले खेल क्षेत्रको विकास विना देश विकास हुन नसक्ने बताए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले आगामि राष्ट्रिय खेलकुद प्रतियोगितामा विश्वविद्यालय टिमलाई पनि सहभागि गराउने घोषणा गरे ।

खेलकुदमा कुनै पनि पक्षले राजनीति गर्न नहुने भन्दै सदस्य सचिव सिलवालले खेल क्षेत्रको विकासमा राजनीतिक नेतृत्वले ध्यान पुर्‍याउनुपर्ने उनको भनाई छ । कार्यक्रमा पूर्व खेलकुद् मन्त्री पुरुषोत्तम पौडेलले खेल क्षेत्रमा न्यून बजेट रहेको भन्दै यस क्षेत्रको विकासको लागि कुल बजेटको एक प्रतिशत छुट्याउनुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय विश्वविद्यालय खेलकुद संघका महासचिव चन्द्र तामाङले खेलकुद विश्वविद्यालयको स्थापना हुनुपर्ने, खेलकुद कानून ल्याउनुपर्ने, राष्ट्रिय खेलकुद प्रतियोगितामा विश्वविद्यालयका टिमले भाग लिन पाउनुपर्ने र सबै स्कुलमा खेल प्रशिक्षको अनिवार्य व्यवस्था गर्नुपर्ने माग गरे ।

प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, चेस र दौड खेल समावेश गरिएको छ । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल, पोखरा, पूर्वाञ्चल, नेपाल संस्कृत, कृषि तथा वनविज्ञान र काठमाडौं विश्वविद्यालयका गरी ६ सय १२ खेलाडी सहभागि छन् । फुटबल लगनखेलस्थित नेपाली सेनाको मैदानमा हुनेछ । भलिबल जावलाखेलस्थित भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ ।

यस्तै बास्केटबल एक्मी इन्जिनियरीङ कलेज सितापाइला, दौड आर्मीको मैदान लनखेल, चेस पिनाकल कलेज, टेबल टेनिस राष्ट्रिय टेबल टेनिस तालिम केन्द्र लैनचौर तथा ब्याडमिन्टन नेपाल पुलिस क्लब प्रदर्शनीमार्गमा हुनेछ ।

१ करोड २६ लाख रुपैया“ लागत अनुमान गरिएको प्रतियोगितामा ७६ स्वर्ण, ७६ कास्य, ७६ रजत गरी कुल २ सय २८ पदकमा प्रतिस्पर्धा हुने महासचिव तामाङले जानकारी दिनुभयो । प्रतियोगिता ११ गतेसम्म चल्ने छ ।

Post Add 1025X115
Loading...