साग तयारी समितिको बैठक आज, रेस्लिङ खेल जनकपुरमा हुने

0

काठमाडौं, ८ असोज । डिसेम्बर १ देखि १० तारिखसम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद सागको तयारी तिव्र पारिएको छ । गत वैशाख २६ गते पहिलो पटक साग तयारीको बैठक बसे यता दोस्रो वैठक आज बस्दैछ ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बोलाएको वैठकले सागको तयारीका लागि आवश्यक निर्णय लिने जनाइएको छ । बैठकले सागको तयारीका लागि आवश्यक पर्ने विभिन्न समितिहरु पनि गठन गर्ने तयारी गरेको छ । भदौ २६ गते मन्त्रिपरिषद्बाट साग सञ्चालन कार्यविधि पारित भए पछि वैठक बस्न लागेकाले तयारीले अब झनै तिव्रता पाउने अपेक्षा गरिएको छ ।

नयाँ प्रतियोगितास्थल जनकपुर

१३ औं सागमा २७ वटा खेलहरु हुँदैछन् । जसमध्ये प्रतियोगितास्थलको रुपमा जनकपुर पनि थपिने सम्भावना रहेको छ । यसअघि काठमाडौं उपत्यका र पोखरामा प्रतियोगिता आयोजना गर्ने भनिएकोमा अहिले प्रतियोगितास्थलको रुपमा जनकपुर पनि थपिने स्रोतको भनाई छ । जनकपुरमा रेस्लिङ खेल आयोजना हुने छ । रेस्लिङमा नेपालसहित सागमा सहभागी सातै देशबाट ७ जना महिला र ७ जना पुरुष गरि १४ जनाका दरले सहभागिता जनाउने छन् ।

प्रतियोगिता डिसेम्मबर ६ देखि ९ तारिखसम्म हुने छ । यस्तै २७ खेलमा सबै देशबाट पुरुष ३सय ३२ र महिला ३सय १६ गरि ६ सय ४८ खेलाडीले सहभागिता जनाउने छन् । दशदिन सम्म चल्ने प्रतियोगितामा खेलाडीको संख्या मात्रै ४ हजार ५ सय ३६ खेलाडी हुने छन् ।

चार समिति गठन गर्नेः

सागको तयारीका लागि सरकारले चार वटा समिति गठन गरेर काम अघि बढाउने छ । जसमा उच्चस्तरीय निर्देशन समिति,आयोजक समिति, कार्यकारी समिति र विषयगत समिति गठन गर्ने युवा तथा खेलकुदमन्त्री विश्वकर्माले यसअघि आयोजित विभिन्न कार्यक्रममा बताएका थिए । उच्चस्तरिय निर्देशन समितिको संयोजकको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै राख्ने तयारी गरिएको छ ।

राष्ट्रको प्रतिष्ठासँग जोडिएको विषय भएकाले सागको तयारीका विषयमा प्रधानमन्त्री ओलीले चासो व्यक्त गर्दै आएका छन् । आयोजक समितिको जिम्मा भने युवा तथा खेलकुदमन्त्री विश्वकर्माले नै लिने छन् । कार्यकारी समितिमा राखेपका सदस्य सचिव रहने छन् ।

Post Add 1025X115
Loading...