महिला फुटबल टिम स्वदेश फिर्ता, खेलाडीकाे प्रदर्शन उत्कृष्ट रहेकाे प्रशिक्षककाे भनाई

0

कीर्गिस्तानमा सम्पन्न नादेझ्दा कपको उपविजेता बनेको नेपाली महिला फुटबल टिम स्वदेश फर्किएको छ । यो बर्ष तेस्रो पटक फाइनल खेलेरपनि उपाधि जित्न नसकेको नेपाली महिला टिम उज्वेकिस्तानसँग फाइनलमा तीन दुई गोलले पराजित भएको थियो ।

उपविजेताको उपाधि सहित स्वदेश फर्किएपछि टिमका प्रशिक्षक हरी खड्काले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै टिमको प्रदर्शनबाट निकै खुसी रहेको बताए । साथै उनले आफुले सोचेको भन्दा राम्रो खेलेको बताउँदै उज्वेकिस्तान टिम पक्कै पनि बलियो रहेको र फाइनलमा एक दुई वटा मिस्टेकले नेपालले हार्न पुगेको बताए ।

यसका साथै प्रशिक्षक खड्काले हामी फाइनलमा पुग्ने लक्ष्य भन्दापनि कसरी हुन्छ राम्रो फुटबल खेल्ने धारणाका साथ हरेक खेलमा मैदानमा उत्रिएको बताए । उनले सावित्रा भण्डारीको प्रदर्शन उत्कृष्ट रहेको धारणा राखे । दक्षिण एशियाकै उत्कृष्ट स्ट्राइकरमा गनिने सावित्राको प्रदर्शनबाट आफुमात्र होइन विपक्षी टिमले पनि प्रशंसा गरेको बताए ।

पुरै प्रतियोगितामा सावित्राले सात गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि जितेकी थिइन । पहिलो पटक मिडिल इस्टमा फुटबल प्रतियोगिता खेलेको नेपालले पहिलो खेलमा घरेलु टिम कीर्गिस्तानलाई आठ दुईले हराएको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग दुई शुन्यले पराजित भएको थियो ।

तेस्रो खेलमा तुर्किमिनिस्तानलाई एक शुन्यले हराउँदै नेपाल फाइनलमा पुगेको थियो । तर फाइनलमा पनि उसले तीन गोलले पछि परेको अवस्थामा सावित्राले दुई गोल गर्दै आशा जगाएकी थिइन । तर अन्तिममा नेपाल उपाधि जितेर इतिहास बनाउनबाट चुक्न पुग्यो ।

यदी नेपालले सो उपाधि जितेको भए महिला फुटबलमा ऐतिहासिक उपाधि हुने थियो । दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपाली महिला टिमका लागि यो निकै राम्रो एक्सपोजरका रुपमा रह्यो ।

Post Add 1025X115
Loading...