मिसन साग : बक्सिङमा कम्तिमा चार वटा पदक आउँछ : प्रशिक्षक दीपक महर्जन

0

काठमाडौं, २२ भदौ । दीपक महर्जन नेपाली बक्सिङको इतिहासमा सफल नाम हो । एसियाडमा कास्य पदक विजेता दीपक अहिले प्रशिक्षकको भूमिकामा छन् । नेपालमै हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद सागमा समावेश बक्सिङमा पदक दिलाउने लक्ष्यसहित अहिले दैनिक खेलाडीहरुलाई अभ्यास गराउन लागि परेका छन् ।

प्रशिक्षणका दौरान केहीबेर फुर्सद निकालेर नेप्लेज डटकमको कार्यालयमा आएका दीपकले आसन्न सागमा नेपालले बक्सिङमा ४ वटा पदक आश गरेको बताए । उनले नेपाल भन्दा भारतीय खेलाडीहरु राम्रा भए पनि नेपालसँग भएका सिमित स्रोत र साधनकोबीचमा गरेको ट्रेनिङले पनि कडा टक्कर दिने बताए ।

सागको तयारी जेठको दोस्रो सातादेखि गरेको बताउँदै महर्जनले अहिलेपनि पुरापुर सामाग्री भने नआउँदा अप्ठेरो परेको गुनासो गरे । नेपालले सागकै लागि भनेर थाइल्याण्ड गएर २ महिना तालिम पनि गरेको छ । अहिले आर्मीले उपलव्ध गराएको ट्रेनिङ स्थल प्रयोग गरिरेको बताउँदै स्पाईरिङका लागि भने निजी क्लबहरुमा जानु पर्ने बाध्यता रहेको पनि सुनाए ।

प्रस्तुतछ दीपकसँग गरिएको यो कुराकानीको सम्पादित अंश र साथमा भिडियो पनि

सागमा बक्सिङले पदक ल्याउँछ?
सार्कमा भारतपछिको राम्रो टिम भनेको नेपाल नै हो । भारतीय खेलाडीहरु वल्र्ड च्याम्पियनसिपसम्म खेलेकाले उनीहरुसँग प्रतिस्पर्धा गर्न अलि गाह्रो छ ।

तै पनि पुरुषमा २ जना र महिलामा एक दुई जना खेलाडीले भारतीय खेलाडीसँग दह्रो प्रतिस्पर्धा गर्नेछन् । हामीले सागमा मेडल ल्याउनका लागि तयारी भने कडा गर्नुपर्छ । बक्सिङमा स्पाईरिङका लागि विदेशमा प्रशिक्षण अझै गर्न पाएको भए नतिजा राम्रो हुने थियो भन्नेमा छौं ।

यो भनेको सरकारी स्कूल र निजी स्कूलको नतिजा जस्तै हो । जसैगरी निजी स्कूलमा लगातार प्री टेस्टहरु भइरहेका हुन्छन् त्यसैगरी स्पाईरिङका लागि पनि प्रि टेस्ट भइरहन जरुरी छ । हामीले बक्सिङमा कम्तिमा चार वटा मेडल आश गरेका छौं । नेपाली खेलाडीहरु प्राविधिकरुपमा केही कमजोर भए पनि अरु कुरामा अब्बल छन् ।

म पनि खेलाडीबाटै प्रशिक्षक भएको हुँ । मलाई पनि कसरी खेल्ने भन्ने कुराहरु थाहा छ । नेपाली खेलाडीहरुमा एक्सपोजरको कमी भने महशुस हुन्छ ।

तपाई खेलाडीहुँदा र अहिलेको बक्सिङमा परिवर्तन छ?

पहिला क्याम्पमा प्रशिक्षकहरु ५०–५५ वर्ष पुगेका हुन्थे । हामीजस्तो स्ट्रोङ खेलाडीको प्याडिङ थाप्न गाह्रो हुन्थ्यो । उनीहरुसँग नयाँ टेक्निक पनि कम हुने गर्थ्यो । तर अहिले नयाँ नयाँ टेक्निकहरु पनि आएका छन् ।

खेलाडी र प्रशिक्षकमा के के भिन्नता हुन्छ ?
खेलाडी र प्रशिक्षकमा खासै भिन्नता मैले देखेन । प्रशिक्षकमा अलि बढी जिम्मेवारी भने हुने रहिछ । खेलाडीले कडा मेहनत गर्नुपर्ने हुन्छ । वेट घटाउनु पर्ने हुन्छ । आर्थिक समस्याले सताइरहेको हुन्थ्यो । प्रशिक्षक भएपछि खेलाडीलाई कसरी अनुशासनमा राख्ने जिम्मेवार बनाएर ट्रेनिङ दिने भन्ने कुरामा ध्यान हुन्छ ।

 

Post Add 1025X115
Loading...