महिला क्रिकेटमा थाइल्याण्डकाे उदय र नेपालले सिक्नुपर्ने ठूलाे पाठ

0

विश्व महिला क्रिकेटमा यसैसाता नयाँ विश्वकप खेल्ने देशका रुपमा उदायो थाइल्याण्ड, उसका लागि महिला क्रिकेटको कथा कुनै ‘फेरी टेल’ भन्दा कम छैन, थाइल्याण्डमा महिला क्रिकेट सुरु भएको १२ बर्षमा नै विश्वकपसम्म पुगेको छ ।

महिला विश्वकप छनोटमा शत प्रतिशत जित निकाल्ने थाइल्याण्डले विश्वकपमा डेब्यु गर्ने पक्का गरेको हो । अन्तिम खेलमा पपुवा न्यूगिनीलाई हराउँदै थाइल्याण्डले विश्वकपमा स्थान बनाउदा सो टिमसँग धेरैपटक खेलेर हराएका नेपाली खेलाडी भने यतिबेला दक्षिण एसियाली खेलकुद सागकाे प्रशिक्षणमा ब्यस्त छन् । थाइल्याण्ड टिमले विश्वकपमा स्थान बनाएको थाहा पाएपछि नेपाली टिमकी कप्तान रुवीना क्षेत्रीको पहिलो लाइन थियो, लगानी गरेपछि नतिजा अवश्य आउछ, लगानी नगर्ने अनि खेलाडीबाट आशा गरेर मात्र हुन्न नी, रुविना यू–१९ टिमबाट खेल्दा थाइल्याण्डको टिम बल्ल बन्दै थियो ।

कुरा हो सन् २००७ को, सो बेला नेपाली टिम एसीसी रिजनको उमेर समुहमा निकै बलियो र सधै उपाधिको दावेदार टिमका रुपमा हेरीन्थ्यो । यतिमात्र होइन, नेपालले यो समुहमा उपाधिमा ह्याट्रिक पनि गरेको थियो । यतिमात्र होइन, सिनियर स्तरमा पनि नेपालले थाइल्याण्डलाई हराउँदै आएको थियो ।

सो बेला थाइल्याण्डमा क्रिकेट खेल के हो भन्ने निकै कमलाई मात्र थाहा थियो । सुरुवातमा अन्य खेलमा रहेका खेलाडीलाई ल्याएर टिम बनाइएको थियो, त्यसमा कोहि हक्की, बेसबल, सफ्टबल लगायतका खेलाडीलाई बटुलेर महिला टिम तयार पारिएको थियो ।

तर महिला क्रिकेट टिम तयार पारेको एक बर्षमा नै थाइल्याण्ड सरकारले उनीहरुलाई लगानी गर्न थाल्यो । विदेशी प्रशिक्षक ल्याउने प्रशिक्षण दिने, पुर्वाधार बनाउने लगायतका काम सुरु गर्‍याे ।

भनिन्छ, काम गर्नु फलको आशा तत्काल नगर्नु, यस्तै उखान थाइल्याण्डको महिला क्रिकेटमा पनि लागु भएको छ । सुरुवातका केहि बर्षमा थाइल्याण्ड भनेपछि हेपिने गरेको टिम २००९ सम्म पुग्दा निकै सुधारिएको र परिपक्क हुँदै गएको थियो । २००९ मा मलेसियामा भएको एसीसी टी–२० च्याम्पियनसिपमा नेपाल त्यहि थाइल्याण्डसँग पराजित भएको थियो । जुन नेपालका लागि एउटा आश्चार्यको विषय थियो । सो प्रतियोगितामा थाइल्याण्ड फाइनलमा हङकङसँग पराजित भएको थियो ।

२०११ को एसीसी महिला च्याम्पियनसिपमा पनि नेपाल तेस्रो स्थानका लागि भएको खेलमा थाइल्याण्डसँग नै पराजित भएको थियो । हरेक बर्ष थाइल्याण्ड महिला क्रिकेटले एक स्टेप माथि चढ्दै गयो ।

क्रिकेट शुन्य अवस्थामा हुँदादेखि टिममा रहेकी खेलाडी सोर्नारीन टिपोच अहिले आएर थाइल्याण्डको महिला क्रिकेटलाई विश्वकपमा पुर्‍याउने पहिलो कप्तान बनेकी छिन् । सुरुवातमा सफ्टबल खेलाडी टिपोच २० बर्षको उमेरमा क्रिकेटलाई चिनेकी थिइन् । त्यसको एक बर्षपछि उनी राष्ट्रिय टिमको कप्तान बनिन् । १२ बर्षपछि उनी टिमलार्ई विश्वकपमा कप्तानी गर्ने भएकी छिन् ।

कुनै पनि खेलाडीलाई विश्वकप खेल्नु आफैमा गर्वको कुरा हो, त्यसमा पनि कप्तान भएर टिमलाई विश्वकपमा नेतृत्व गर्नु झन कति गर्वको विषय हो, त्यो की कप्तानलाई थाहा हुन्छ, की टिमलाई ।

थाइल्याण्डको इस्ट बैककमा जन्मिएकी टिपोच स्कुले जीवनमा सफ्टबल निकै मनपराउथिन् र उनले त्यो खेलिन् पनि सो बेला उनलाई क्रिकेट खेलिन्छ भन्नेसम्म थाहा थिएन । २००७ मा थाइल्याण्डमा महिला क्रिकेट टिम बनाउदा टिपोच जस्तै एक दर्जन खेलाडी अरु खेलबाट ल्याइएको थियो ।

विश्वकपमा पुगेपछि टिपोचले सुरुवाती दिन सम्झिदै भनिन– मैले सुरुवामा सफ्टबल खेल्न सुरु गरेको थिए, त्यसपछि क्रिकेटमा आएको हु, दुबै खेल केहि सिमिलर भएर पनि क्रिकेटमा आउन सजिलो भयो, क्रिकेट संघले मलाई अप्रोच गर्दा सुरुवातमा ट्राइ गरौन भन्ने लागेर आएको थिए, त्यसपछि यसै खेलमा माया बस्दै गएपछि पछि यसैलाई करियर बनाए । यसले मेराे करियरलाई पनि ठूलो सहयोग गरेको छ, २००७ र अहिलेको अवस्थामा देश र मलाई क्रिकेटले ठुलो खुशी दिएको छ भने गर्ववान्वित बनाएको छ ।

थाइल्याण्ड क्रिकेटको विकाशमा हाल प्रमुख कार्यकारी अधिकृत रहेका मोइदिन कादेरको निकै ठूलो हात रहेको छ । थाइल्याण्डका आदिवासी समुदायमा गएर क्रिकेट खेल्ने हो भन्दै संभावित खेलाडीलाई उनले बोकेका थिए । उनले २००७ मा क्रिकेट टिम बनाउदा टिपोच जस्तै धेरै क्रिकेट नबुझेका खेलाडीलाई ल्याएका थिए ।

माथि उल्लेख भए अनुसार थाइल्याण्डको सरकारले महिला क्रिकेटलाई विकाश गर्न बजेट मात्र दिएन, १४ वटा प्रदेशमा नै यसलाई विस्तार गर्‍याे । यतिमात्र होइन, सरकारी तवरबाट नै यू–१५, यू–१९, सिनियर पुरुष र महिला प्रतियोगिताको क्यालेन्डर बनायो ।

अहिले थाइल्याण्डमा तीन हजार भन्दा बढि महिला खेलाडीले क्रिकेट खेल्छन् । थाइल्याण्डमा नियमित रुपमा घरेलु प्रतियोगिता हुन्छन्, यसका साथै थाइल्याण्ड महिला क्रिकेटका धेरै जसो प्रतियोगिताहरुको आयोजनाको मौका पाउने गरेको छ । जसका प्रत्यक्ष फाइदा टिम र खेलाडीलाई भएको छ ।

केहि बर्षमा नै विश्वकप खेल्छौ होला भनेर अहिलेका टिमका खेलाडीले पनि सोचेका थिएनन् । २०१३ मा नै थाइल्याण्ड महिला विश्वकपमा सहभागिता जनाएको थियो । तर सो बेला आठ टिममा पाँचौ भएको थियो । यतिमात्र होइन थाइल्याण्ड महिला विश्वकपको हरेक छनोट प्रतियोगितामा सहभागिता जनाएको थियो । तर २०१५ र २०१८ मा उनीहरुले सबै ६ खेल हारेका थिए ।

२०१८ मा हर्सल पाठक प्रशिक्षकमा नियुक्त भएपछि भने थाइल्याण्डको महिला टिम झन मजबुत हुन पुग्यो । उनले टिम सम्हालेपछि थाइल्याण्डले लगातार १७ खेलमा जित निकालेको थियो । जसमा यसपटक आइसीसी महिला टी–२० विश्वकपको शिर्ष स्थानमा रहनु अर्को सफलता हो ।

पाठकले भनेका थिए, आफु प्रशिक्षक भएर आएपछि के गर्ने कसरी महिला खेलाडीलाई अगाडी लाने भन्ने कौतुहल थियो । एउटा जिम्मेवारी लिएर आएपछि त्यसलाई निभाउन सुरुवातमा केहि कठिन पनि थियो । तर खेलाडीको माथिल्लो स्तरमा खेल्ने क्षमता र लगावले यो संभव भएको हो । हामीलाई चाहिने फाइन ट्युनीङलाई कायम राख्दै अगाडी बढेको उनले बताए ।

इतिमात्र होइन, थाइल्याण्ड टिमले यो प्रतियोगिताको लागि स्कटल्याण्ड र नेदरल्याण्ड्समा प्रतियोगिता खेलेको थियो । यस्तै स्कटल्याण्डमा पनि उसले अभ्यास गरेको थियो । स्कटल्याण्ड, नेदरल्याण्ड्स सम्मिलित सिरीजमा उसले ६ खेलमा ५ मा जित निकालेको थियो ।

थाइल्याण्डको यो उचाईबाट नेपालले पनि ठूलो पाठ सिक्नु पर्छ । बर्षभरी खेलाडी के गरिरहेका छन्, कसरी आफुलाई प्रशिक्षण गराइरहेका छन् भन्ने कुनै मतलव नेपालमा छैन । कुनै प्रतियोगिता आयो भने एक महिना १५ दिन अगाडी खेलाडी काठमाडौं बोलाउने त्यो पनि आफ्नो हिसावले अनि टालटुल गरेर क्याम्प राख्ने र प्रतियोगिता खेल्ने जाने प्रवृती नेपालमा बर्षाैदेखि चल्दै आएको छ ।

नेपालमा न त उमेर समुहको महिला क्रिकेट छ, नत सिनियर स्तरको नियमित प्रतियोगिता नै । कुनै प्रतियोगिता खेलेर सफल भएमा केहि दिन चर्चा हुन्छ, त्यसपछि को कता के गरिरहेको छ, कसरी जिविको पार्जन गरिरहेको छ कसैलाई मतलव हुँदैन् । बेला बेला खेलाडी आफैले सोसियल मिडियामा स्टेटस राख्दा उल्टो यसले किन यस्तो राख्यो होला भनेर कतिपयले आलोचना पनि गर्न भ्याउछन् ।

नेपाली महिला क्रिकेटमा पनि विश्वकप खेल्ने संभावना र क्षमता दुबै छ । तर त्यसका लागि खै योजना, खै चासो राख्ने ब्यक्ति, पछिल्लो तीन बर्षदेखि त झन क्रिकेटको आधिकारीक निकाय नै छैन्, पहिले भएको भए क्यानलाई आलोचना गर्न सजिलो थियो, अब यस्तो अवस्थामा थाइल्याण्डको सक्सेसमा नेपाली खेलाडीको तुलना गर्नु बाहेक के गर्छन होला र ?

Post Add 1025X115
Loading...