टि भ्यालीलाई बिर्तामोड थ्रि बाई थ्रि को उपाधि, फाइनल मंगलबार

0
टि भ्याली इलाम बास्केटबल क्लबले नेपाल बास्केटबल लिग थ्रि बाई थ्रि इस्टको बिर्तामोड च्याम्पियन बनेको छ ।
टावर टेम्पल स्कुलमा आइतबार भएको फाइनलमा टि भ्यालीले बिटिएम हुलिगनलाई १८–१२ ले पराजित गर्यो । यो सँगै एनबिएल इस्टको फाइनल्सको लागि सबै ६ वटा टोली पक्का भएको छ । टि भ्याली र हुलिगनसँगै बिराटनगरको इस्टर्न स्विस र बाल कल्याण बिद्या मन्दिर तथा इटहरी स्ट्याग्स र होराइजनले प्रतिस्पर्धा गर्नेछन् ।
इस्टर्न स्विस र इटहरी स्ट्याग्स आ–आफ्नो शहरको बिजेता रहेका थिए । मङ्गलबार टावर टेम्पल स्कुलमै हुने फाइनल्समा ६ टिमलाई दुई समुहमा बिभाजन गरिदै डबल लिगका आधारमा प्रतिस्पर्धा गराइनेछ । शिर्ष दुई स्थान हात पार्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । इस्टर्न स्विस, होराइजन र टि भ्याली समुह ए मा रहेका छन् ।
बिर्तामोड लेगमा ९ क्लबहरुको सहभागिता रहेको थियो । टि भ्यालीले सेमिफाइनलमा ग्रिन सिटी इलाम बास्केटबल क्लबलाई १०–९ को झिनो अन्तरले पराजित गरेको थियो भने हुलिगनले टावर टेम्पल स्कुल बी लाई १०–६ ले हराएको थियो ।
फाइनलमा टि भ्यालीलाई जित दिलाउन गणेश राज सुवेदी एक्लैले १६ अंकको योगदान दिएका थिए । उनले प्रतियोगिता भरि कुल २१ अंकको योगदान दिए । तीन शहर गरेर कुल २७ टोलीको सहभागिता रहेको थियो । फाइनल्समा पहिलो दुई स्थान ओगट्ने टोलीले ५० हजार र २५ हजार पुरस्कार राशी प्राप्त गर्नेछन् ।
एनबिएल इष्ट आयोजक बिपन्न बालबालिका खेलकुद नेपाल (पिडिसिएन) ले पश्चिममा पनि एनबिएल वेष्टको नाममा अर्को प्रतियोगिता आयोजना गर्नेछ । पश्चिमका प्रमुख शहरहरु पोखरा, बुटवल र धनगढीमा एनबिएल वेष्ट हुनेछ र इस्टकै फर्मायाटमा खेलाइनेछ ।
पिडिसिएनमा पुरुषहरुको दुई संस्करणको नेपाल बास्केटबल लिग र महिलाहरुको वुमेन्स नेपाल बास्केटबल लिग सञ्चालन गरिसकेको छ । दुवै प्रतियोगिता नेपाली बास्केटबल इतिहासकै सर्वाधिक लामो र सर्वाधिक धनराशीको प्रतियोगिता रहेको छ ।
Post Add 1025X115
Loading...