राष्ट्रिय खेलकुद विकास विधेयक प्रतिनिधि सभामा पेश, संशोधनका लागि तीन दिनको समय

0

काठमाडाैं, २६ साउन । राष्ट्रिय खेलकुद विकास विधेयक प्रतिनिधि सभामा पेश भएको छ । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा पेश गरेका हुन् । मन्त्री विश्वकर्माले उक्त विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव पेश गरेकोमा उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । त्यसपछि शुुरु भएको छलफलमा भाग लिने सांसदहरुले खेलकूदलाई पर्यटनसँग जोडेर विकास गर्नुपर्नेमा जोड दिए ।

सांसद डिला सङ्ग्रौलाले विधेयकमा सुधार गरिनुपर्ने बताउँँदै सातवटै प्रदेशमा ‘स्पोर्ट एकेडेमी’ स्थापना गरिनुपर्नेमा जोड दिइन् । खेलाडीको जिम्मा राज्यले लिए खेलकूद क्षेत्रको विकास हुने उनको भनाइ थियो ।

सांसद अमरेशकुमार सिंहले तनावपूर्ण जीवनलाई व्यवस्थापनका लागि खेलकूद अत्यावश्यक हुने गरी विधेयक सुधार गरिनुपर्ने सुझाव दिए । सांसद भरतकुमार शाहले खेलकूदका विषयगत सङ्घले विकासमा उल्लेख्य काम गर्ने गरी व्यवस्था गर्न माग गरे।

अर्का सांसद प्रेम सुवालले राष्ट्रिय खेलकूद परिषद् र ओलम्पिक कमिटीलाई समानान्तर संस्थाका रुपमा रहने गरी कानूनी व्यवस्था नगर्न सुझाव दिए। सांसद सूर्यप्रसाद पाठकले खेलकूदको विकासका लागि ल्याइएको विधेयक चुनावी घोषणापत्र भएको धारणा राख्नुभयो । विश्वविद्यालय र क्याम्पसका पाठ्यक्रममा खेलकूद विषय पनि समावेश गर्ने व्यवस्था हुनुपर्ने उनको माग थियो ।

सांसद रङ्गमती शाहीले विधेयकमा धेरै त्रुटि देखिएकाले सुधार गरिनुपर्नेमा जोड दिइन् । सांसद विमला विश्वकर्माले खेलाडी कल्याणकारी कोषको व्यवस्था सकारात्मक भएको बताउँदै अवकाशप्राप्त खेलाडीलाई पनि व्यवस्था गर्ने गरी विधेयक सुधार हुनुपर्ने उनको भनाइ थियो ।

सांसदहरु आशाकुमारी विक, खगराज अधिकारी, राजेन्द्रकुमार केसी, दिव्यमणि राजभण्डारी, देवेन्द्रराज कँडेल, पद्मनारायण चौधरी, शेरबहादुर तामाङ, रामकुमारी झाँक्री, तेजुलाल चौधरी र नवराज सिलवालले नेपालको राष्ट्रिय खेलको परिभाषा गरिनुपर्ने, खेलकूदका सयभन्दा बढी सङ्घको आवश्यकता छ छैन भन्ने प्रश्न गरेका थिए । छलफलमा उठेका विषयलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले विधेयक पारित हुने बेलासम्म सांसदले दिएका सुझावलाई समावेश गरी परिष्कृत गर्ने प्रतिबद्धता जनाए ।

अब उक्त विधेयकमा संशोधनको प्रस्ताव हाल्नका लागि तीन दिनको समय दिइएको छ । तीन दिन भित्र प्राप्त हुने संशोधनलाई समेटेर संसदीय समितिमा छलफल हुने छ र उक्त समितिले पारित गरेपछि फेरि संसदमा आउने छ । संसदबाट पारित भएर राष्ट्रपतिबाट प्रमाणित गरेपछि लागू हुने छ ।

याे पनि

एकै खेलका दुई संघ आपसमा नमिले दर्ता खारेज हुने

सदस्यसचिवको योग्यताः स्नातक उत्तिर्ण, १० वर्षको अनुभव

खेलकुद बिधेयक- ओलम्पिक कमिटी स्वायत्त, अन्य खेलसंघलाई अंकुश

राष्ट्रिय खेलकुद विकास विधेयक राष्ट्रियसभाबाट सर्बसम्मतिले पारित

Post Add 1025X115
Loading...