क्रिकेटकाे अभिभावक निकाय नहुँदा आईसीसी र एसीसीको ब्यबहार पनि परिवर्तन हुँदै

0

नेप्लेज, २३ साउन । तीन वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नेपाल क्रिकेट संघमा राजनीतिक हस्तक्षेप भएको भन्दै निलम्बनको निर्णय गरे पनि राष्ट्रिय टोलीलाई प्रतिबन्ध लगाएको थिएन । त्यतिबेला नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेलिरहेको थियो ।

क्यान नभएपछि आईसीसीले नै आफ्नै आयोजनामा नामिविया र केन्यासँगको घरेलु खेल त्रिवि क्रिकेट मैदानमा आयोजना गरेको थियो । नेपाली राष्ट्रिय टोलीको उत्कृष्ट प्रदर्शन र सानदार समर्थक संख्याबीच आईसीसीले टिमलाई अन्तर्राष्ट्रिय क्रिकेटबाट बन्चित नगरेको हो । यसबीचमा नेपालले एकदिवशीय मान्यता पाउँदै एकदिवशीय र ट्वान्टी२० शृंखला पनि खेलेको छ र जितेको छ ।

हालै ट्वान्टी२० विश्वकपको एसिया छनोटमा लज्जास्पद प्रदर्शन गरेको नेपाल ग्लोबल क्वालिफायरबाट बन्चित भएको छ । हालका दिनमा भने आईसीसीले नेपाली क्रिकेटलाई प्राथमिकतामा राख्न छोडेको आभास हुन थालेको छ । क्यान निलम्बन फुकुवा प्रक्रिया लामो हुँदै जाँदा एउटा देशमात्र प्राथमिकतामा नहनु तर्कसंकत पनि हुँदैन ।

आईसीसीको एसियाली निकाय एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा हुने लागेको यू–१९ एसिया कप क्रिकेट सुरु हुन १ महिनाको समय पनि छैन । तर, नेपाललाई बन्द प्रशिक्षण र बैदेशिक प्रशिक्षणका लागि एसीसीले स्वीकृति दिएन ।

मलेसियामा भएको एसीसी यू–१९ इस्र्टन रिजन च्याम्पियनसिपको उपाधि जितेपछि प्रशिक्षक विनोद दासले भनेका थिए, अब झन नेपाली टिमको चूनौती थपिएको छ, टेष्ट टिमसँग खेल्नुपर्नेछ, त्यहि अनुसारको तयारी गर्नुपर्ने हुन्छ, त्यसका लागि योजना बनाएर पठाउने छौ ।

टिम नेपाल फर्किएपछि प्रशिक्षक विनोद दाशले टिमको तयारीको कार्ययोजना एसीसीलाई बुझाएका थिए । तर आकाशको फल आँखा तरि भर भने जस्तै भयो नेपाली यू–१९ क्रिकेट टिमका लागि एसिया कपको तयारी । अगष्ट एक तारिखदेखि नै तयारी सुरु गर्ने, त्यसपछि भारतमा थप प्रशिक्षण गरेर उच्च मनोबलका साथ श्रीलंका पुग्ने नेपालको योजनामा एसीसी बाधक बन्यो । टिमले पठाएको कार्ययोजना अस्विकृत मात्र गरेन, तयारी पनि किन छिटो गर्नुपर्यो, पछिल्लो पटक लगातार प्रतियोगिता खेलिरहेका छौ, खेलाडी पनि फिट र उमेर पुग्ने नै छन, बरु भारतमा जानु भन्दा एक साता अगाडी श्रीलंका आएर प्रशिक्षण गर हामी केहि अभ्यास खेल मिलाउछौ भनेर जवाफ आयो ।

त्यसपछि नेपाली युवा टिमको तयारीमा ठुलो धक्का लाग्यो । यसका साथै एसीसीले टिमको तयारी १२ तारिखबाट मात्र सुरु गर्न भनेर पत्र पठायो । एसीसीको आशय नेपाली टिमले पछिल्लो पटक दुई वटा प्रतियोगिता खेलेको छ, टिममा रहेका खेलाडी पनि उचित नै छन्, नयाँ खेलाडीलाई छान्नुपर्ने अवस्था छैन, धेरै तयारीको खाँचो छैन भन्ने रहेको छ ।

यू–१९ टिमले तयारी सुरु गर्यो भनेर कीर्तिपुर मैदानमा पुग्दा यसअघिको भन्दा फरक वाताबरण थियो । राती बर्षा परेकाले होला मैदानमा कुनै भागमा पानी जमेको थियो, भने कुनै भाग गिलो थियो । खेलाडीलाई मैदानमा प्रशिक्षण गर्नका लागि ठाँउ खोज्नुपर्ने अवस्था थियो । प्रशिक्षक दास आफैपनि कुन ठाँउमा गिलो छैन, त्यो खोज्दै हिडेका थिए । पहिलो दिन भएकाले खेलाडीले फिटनेस फिल्डिङ मात्र गरे । तर नेट गर्नका लागि पनि नेट नै तयार छैन । यता पिच पनि प्रशिक्षणका लागि तयार छैन, पानीले एउटा पिच भिजेको थियो भने अरु पिचमा माटो हाल्ने काम भइरहेको थियो । त्यसमा पनि मेसिनवाला रोलर विग्रिएर बनाउँनै बाँकी छ । जसोतसो टिमले पहिलो दिनको प्रशिक्षण पुरा गरे ।

प्रशिक्षक विनोद दासका अनुसार बिहीबारदेखि आन्तरिक प्रशिक्षण सुरु भएको छ र औपचारिक बन्द प्रशिक्षक सोमबारदेखि सुरु हुनेछ । ‘नेपालमा बर्षा मौसम भएकाले हामीले भारतमा गएर प्रशिक्षण गराउने योजना बनाएका हौं । अब यहीँ २ साताको अभ्यासपछि श्रीलंका जानेछौं,’ प्रशिक्षक विनोद दासले भने, ‘श्रीलंकामा एसीसीकै संयोजनमा ३ अभ्यास खेल खेल्नेछौं । दासका अनुसार क्रिकेट बोर्ड नहुँदा नै यति अप्ठेरो परेको हो । क्रिकेटको नियमक निकाय नहुँदा विनोद दासले प्रशिक्षकको रुपमा मात्र होइन, म्यानेजर, आईसीसी एसीसीसँगको समन्वयकर्ता, टिम छनोटकर्ता, टिमकाे प्रायः सबै ब्यवस्थापनकाे सबै भूमिका एक्लै निभाउनुपरेको छ ।

यस्तो अवस्था कहिलेसम्म त ? दास भन्छन्, ‘सबैलाई थाहा छ हाम्रो क्रिकेट बोर्ड छैन । खेलाडीलाई यसको समस्याबाट सकेसम्म जोगाएर राखेका छौं, सबै काम म आफैंले गरेको छु, यसकाे मुल्यांकन चाहि कसरी हुने हाे त्याे भने प्रश्न छ, मुख्य कुरा अाफुले कतिकाे मेहेनत गरेकाे छु भन्ने हाे । एउटा प्रशिक्षक भएपछिकाे मुख्य काम टिमकाे प्रशिक्षणमा कसरी राम्राे गर्ने भन्नेमा ध्यान दिने हाे, तर अहिले नेपाली क्रिकेट टिमकाे कप्तान र प्रशिक्षकलाइ धेरै जिम्मेवारी थपिएका छन, यसकाे मुल कारण क्रिकेटकाे अभिभावक नभएर नै हाे ।

यता आईसीसीले पनि नेपाल प्रति हेर्ने नजर फरक पार्दै गरेकाे भान हुन थालेकाे छ । कारण अर्को वर्ष अस्ट्रलियामा हुने आईसीसी ट्वान्टी २० विश्वकपको एसियाली छनोटबाटै पराजित हुँदै बाहिरिएको नेपालका लागि आईसीसीले चाहेको भए छनोट गर्न पनि सक्थ्यो । किनभने जिम्बाबे क्रिकेट प्रतिबन्धमा थियो ।

अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा आयोजना हुने ग्लोबल क्वालिफायरका लागि आईसीसीले अफ्रिकी छनोटबाट दोस्रो भएको नाइजेरियालाई जिम्बाबेको स्थानमा छनोट गर्यो । नेपालको आफ्नै क्रिकेट बोर्ड र गतिलो अन्तर्राष्ट्रिय पहुँच भएको भए उच्च बरियताका आधारमा नेपालको छनोट हुने सम्भावना थियो । नेपाल ११ औं वरियतामा रहेर पनि विश्वकपको ग्लोबल क्वालिफायर खेल्न नपाउने टोली बनेको छ । सायद राष्ट्रिय टोलीको ब्यबस्थापनको जिम्मेबारी सबै आफैंले लिनुपर्ने झन्झट टार्दै आईसीसीले वरीयताको नियम लागू नगरेको हुन सक्छ ।

क्यान विवादले ३ वर्षसम्म निकास पाउन नसक्नु नेपालको क्रिकेटको अधोगतिको यात्रा सुरु हुनुको प्रमुख कारण हुन सक्छ । रमेश सिलवालले राष्टिय खेलकुद परिषदको सदस्यसचिवका जिम्मेबारी संहालेपछि सातादिनमै क्रिकेट विवाद समाधान गर्छु भनेको पनि आज १ महिना बितेको छ । स्वतन्त्र समूहमार्फत नयाँ बिधान बनाएर निर्वाचन प्रक्रिया सुरु भएकोमा काठमाडौं र पर्साबाहेक सबै जिल्लाको निर्वाचन सम्पन्न भएको छ ।

साउन २६ गते पर्साको निर्वाचन हुँदैछ भने काठमाडौंको तोकिएकै छैन । सुदूरपश्चिम र गन्डकी प्रदेशको पनि निर्वाचन सम्पन्न भइसकेको छ । स्वतन्त्र समूहको कामलाई सहयोग गरी सकेसक्क छिटो केन्द्रीय निर्वाचन गरी आईसीसीबाट निलम्बन फुकुवा नै नेपाली क्रिकेटको विवाद समाधानको मुख्य बाटो हो ।

 

Post Add 1025X115
Loading...