ललित स्मृति यु १८ फुटबलको उपाधि ब्रिगेड ब्वाइजलाई

0

ललितपुर, ५ साउन। तेस्रो ललित स्मृति यु १८ फुटबल प्रतियोगिताको उपाधि ब्रिगेड ब्वाईज क्लबले जितेको छ । ललितपुरको सातदोवाटोमा रहेको एन्फा मैदानमा आइतबार भएको फाइनलमा ब्रिगेडले नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । ब्रिगेडको जितमा पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

खेलको २३ औं मिनेटमा ब्रिजेस चौधरीले ब्रिगेड ब्वाइजलाई अग्रता दिलाएका थिए । रेजिन सुब्बाको पासमा पृथ्वी चौधरीले गरेको प्रहार पुलिसका गोलरक्षकले रोकेका थिए । तर, रिबाउन्ड बलमा ब्रिजेसले सानदार गोल गरी बिभागीय टोलीबिरुद्ध ब्रिगेडलाई पहिलो हाफमा अग्रता दिलाउन सफल भए ।

दोस्रो हाफमा पुलिसले गोल फर्काउन नसक्दा ब्रिगेड १–० को जित निकाल्दै उपाधि जित्न सफल भयो । उपाधि विजेता ब्रिगेडले नगद ३ लाख हात पार्दा उप बिजेता भएको पुलिसले १ लाख ५० हजारमा चित्त बुझायो । नेपाल पुलिसका विसाल बस्नेत उत्कृष्ट डिफेन्डर घोषित हुँदा ब्रिगेडका शिशीर लेखी घोषित भए । त्रिभुवन आर्मीका विशला सुनार उत्कृष्ट गोलकिपर बन्दा र उत्कृष्ट फरवार्डमा पनि ब्रिगेडकै ब्रिजेश चौधरी भए ।

विधागतरुपमा उत्कृष्ट हुने खेलाडीले जनही १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । विजेता टिम तथा खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाल, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा लगाएतले पुरस्कार वितरण गरेका थिए ।

Post Add 1025X115
Loading...