नेपालद्वारा मलेसियाविरुद्धको टि-२० सिरिज क्लीन स्वीप

0

नेपालले पहिलो पटक टि–२० अन्तर्राष्ट्रिय सिरीज क्लीन स्वीप गरेको छ । आईसीसी टि–२० विश्वकप एसियाली छनोट प्रतियोगिताको लागि अभ्यास भ्रमणमा मलेसिया पुगेको नेपालले त्यहाँ दुई खेलको टि–२० सिरिज खेलेको थियो ।

पहिलो खेलमा नेपालले मलेसियालाई सात विकेटले हरायो भने आज भएको दोस्रो खेलमा ६ रनको जित हात पा¥यो ।

यो सिरिजमा नेपालले ब्याटिङ र बलिङ दुबैतर्फ सन्तुलित प्रदर्शन ग¥यो । क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा भएको खेलमा १७४ रनको लक्ष्य पछ्याएको मलेसियालाई नेपालले २० ओभरमा सात विकेटको क्षतिमा १६७ रनमा सिमित ग¥यो ।

अन्तिम ओभरमा मलेसियालाई जितका लागि १४ रन आवस्यक थियो भने क्रिजमा ठूला सट खेलिरहेका मोहमद सहदत थिए । तर अविनाष बोहराले अन्तिम ओभरमा तीन डट बल फाल्दै सात रनमात्र दिएपछि नेपालले ६ रनको जित हात पारेको हो ।

मलेसियाका ओपनर विरानदिप सिंह र शइद अजिजले पहिलो विकेटका लागि ७५ रनको बलियो साझेदारी गरेपछि घरेलु टिमले दरिलो शुरुवात गरेको थियो । विरानदिप २३ रन बनाएर अविनाष बोहराको बलमा विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट हुँदा नेपालले पहिलो सफलता हात पारेको थियो ।

त्यसपछि कप्तान अहमद फाइजलाई १७ रन बनाएपछि सन्दिप लामिछानेले क्याचआउट गराए । अमिनुद्धिन रामलीले ११ बलमा २४ रन बनाएर मलेसियाको इनिङ उकासेका थिए । उनलाई कप्तान पारस खड्काले आउट गरेपछि छैटौ. सफलता हात पारेको थियो । सइद अजिजले पनि ३७ बलमा ५० रन बनाए । पछिल्ला क्रमका ब्याट्सम्यानहरुले केही ठूला सटहरु खेले ।

छैटौं नम्बरमा ब्याटिङमा आएका विकेटकिपर विनोद भण्डारीले विष्फोटक ब्याटिङ गरी २५ बलमा ५१ रनको अविजित अर्धशतकीय पारी खेलेपछि नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७३ रनको ठूलो योगफल बनाउन सकेको हो । भण्डारीले ३ चौका र ५ छक्का प्रहार गरेका थिए ।

किनरारा ओभल मैदान टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि आजको खेलमा कप्तान पारससँग युवा ब्याट्सम्यान पवन सर्राफले ओपनिङ गरेका थिए । यो जोडीले ३४ रनको साझेदारी गरेको थियो । पाँचौं ओभरमा पवन १० रनको स्कोरमा रनआउटको सिकार भए ।

छैटौं ओभरको दोस्रो र तेस्रो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान पारस क्रमसः ७ र २३ रनमा आउट भएपछि नेपाल ४२–३ को कठिन स्थितिमा पुगेको थियो । यू–१९ कप्तान रोहितकुमार पौडेल र अनुभवी शरद भेषावकरले चौथो विकेटका लागि ४६ रनको ठोष साझेदारी गरेपछि नेपालको पारी उकासियो । रोहित २३ बलमा १९ रन बनाएर आउट भए । त्यसपछि आएका विनोद भण्डारीसँग मिलेर शरदले थप २९ रनको साझेदारी गरे । शरद २८ बलमा ४ चौका र २ छक्कासहित ४० रन बनाएर आउट भए ।

विनोदले करण केसीसँग मिलेर ३३ रनको साझेदारी गरेका थिए । करणले १० बलमा १ चौका र १ छक्कासहित १६ रन जोडे । विनोदले सोमपाल कामीसँग सातौं विकेटका लागि २३ रनको अविजित साझेदारी गरेका थिए ।

बलिङमा मलेसियाका फित्री सामले ३ विकेट लिए । सइद अजिज र सुव्रिम मुनिन्देले एक एक विकेट लिए ।

Post Add 1025X115
Loading...