११ वर्षपछि फेडेरर र नाडल भिड्दै

0

विम्बल्डनमा रोजर फेडेरर र राफेल नाडल ११ वर्षपछि पहिलो पटक खेल्ने तय भएको छ । क्वार्टर फाइनलमा स्वीस खेलाडी फेडेररले जापानका केई निशिकोरीलाई र नाडलले अमेरिकाका साम क्वेरीलाई हराएपछि टेनिसका यी दुई महान खेलाडी सेमिफाइनलमा भिड्ने पक्का भएको हो ।

फेडेररले केई निशिकोरीलाई ३–१ को सेटमा हराए । पहिलो सेट ४–६ ले गुमाएका फेडेररले पछिल्लो तीन सेटमा कमब्याक गरे । पछिल्लो सेटमा फेडेररले ६–१, ६–४ र ६–४ को जित निकाले । नाडलले भने अमेरिकाका साम क्वेरीलाई ७–५, ६–२ र ६–२ ले हराए ।

विम्बल्डनमा यी दुई खेलाडी यसअघि सन् २००८ मा भिडेका थिए । त्यसबेला नाडल विजयी भएका थिए । वर्षाले प्रभावित सो खेल पाँचौं सेटमा लम्बिएको थियो र नाडलले पाँचौं सेटमा ९–७ को जित निकालेका थिए । खेल सात घण्टा चलेको थियो ।
विम्बल्डनमा यी दुई खेलाडीले १० वटा उपाधि जितेका छन् ।

यसअघि नोभाक जोकोभिच पनि सेमिफाइनलमा पुगे । उनले स्पेनका रोबर्टो बाउटिस्टा अग्टलाई हराउँदै अन्तिम चारको स्थान पक्का गरे । फेडेरर, नाडल र जोकोभिच तीनै जना विम्बल्डनको सेमिफाइनलमा पुगेको १२ वर्षपछि पहिलो पटक हो ।

‘मलाई राफाको बारेमा धेरै जानकारी छ, उसलाई पनि मेरो बारेमा त्यतिकै जानकारी छ,’ निशिकोरीलाई हराउँदै विम्बल्डनमा १००औं खेल जितेका फेडेररले भने । फेडेरर कुनै पनि ग्राण्डस्लाममा १०० खेल जित्ने पहिलो खेलाडी बनेका छन् ।

‘यो अवस्थामा आउने कल्पना गर्दा पनि गाह्रो हुन्छ । तर, रोजरविरुद्ध विम्बल्डनमा फेरी खेल्न पाउँदा उत्साहित छु,’ नाडलले भने ।

अहिलेसम्म नाडल र फेडेरर ३९ पटक आमने सामने भएका छन् । जसमा २४ खेल नाडलले जितेका छन् भने फेडेररले १५ खेल आफ्नो पक्षमा पारेका छन् ।

विम्बल्डनमा भने फेडेरर सफल हुँदै आएका छन् । फेडेररले आठवटा विम्बल्डनको उपाधि जित्दा नाडलले जम्मा दुई वटा विम्बल्डन उपाधि आफ्नो पक्षमा पारेका छन् । फेडेररले २० पटक ग्राण्डस्लाम जित्दा नाडलल दुई उपाधि पछि छन् ।

Post Add 1025X115
Loading...