पल्सर स्पोर्टस अवार्ड : हरिबहादुर रोकायालाई ‘लाइफ टाइम अचिभमेन्ट’ अवार्ड

0

एथ्लेटिक्सका प्रशिक्षक हरिबहादुर रोकायाले पल्सर स्पोर्टस अवार्ड २०७५ मा लाइफटाइम एचिभमेन्ट अवार्ड पाएका छन् । एभरेस्ट म्याराथनका कीर्तिमानी खेलाडी तथा गिनिज बुक अफ द वल्र्ड रेकर्डसमा नाम लेखाइसकेका धावक हरिबहादुर रोकाया नयाँ खेलाडीलाई प्रशिक्षण दिनमा ब्यस्त छन् ।

जुम्लामा आफूजस्तै खेलाडी उत्पादन गर्न प्रशिक्षार्थीलाई कहिले हिलोमा, कहिले उच्च हिमाल र हिउँमा दौडाइरहेका हुन्छन् । जुम्लाका हरिबहादुर पहिलो पटक सन् १९९३ मा सगरमाथाको आधार शिविर (५१८४ मिटर) बाट ३४४६ मिटरको नाम्चे बजारसम्मको एभरेस्ट म्याराथनमा सहभागी भएका थिए ।

त्यसमा दोस्रो भएका उनी सन् १९९७ मा पहिलो भए । सन् २००० मा एभरेष्ट म्याराथन ३ घन्टा ५० मिनेट २३ सेकेन्डमा पार गर्दै गिनिज बुक अफ द वल्र्ड रेकर्डमा नाम समेत लेखाए । तर, सन् २००२ मा भने उनी प्रवेश शुल्क तिर्न नसकेर एभरेष्ट म्याराथन खेल्न पाएनन् ।
हरिबहादुरले १३ राष्ट्रिय तथा ३१ वटा अन्तर्राष्ट्रिय दौडमा सहभागिता जनाइसकेका छन् । १३ राष्ट्रिय प्रतियोगितामध्ये ९ वटामा रोकायाले उपाधि उचालेका छन् । अन्तर्राष्ट्रिय खेलमा सन् १९८५ मा इन्डोनेसियाको जाकार्तामा एसियन ट्रयाक एन्ड फिल्डको ५ किमी दौडमा सहभागी भए । लामो समय खेल क्षेत्रमा बिताएका हरिबहादुर अहिले जुम्लामा नै ‘कर्णाली स्पोर्टस् क्लब’ खोलेर म्याराथनका खेलाडी उत्पादन गरिरहेका छन् ।

उनले उत्पादन गरेका खेलाडी कोही हङकङ, इटाली लगायतका देशमा प्रशिक्षण लिन र म्याराथनमा भाग लिन पुगिसकेका छन् । उनैको योगदानको कदर गर्दै एनएसजेएफले लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको जनाइएको छ । उनलाई एनएसजेएफका अध्यक्ष देवेन्द्र सुवेदी र महासचिव प्रज्वल ओलीले अवार्ड प्रदान गरेका थिए ।

Post Add 1025X115
Loading...