सोमपालले भने ‘बुवाको सपना आईपीएल खेलेपछि पुरा हुन्छ’

0

काठमाडौं, ६ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सोमपाल कामीले बुवाको सपना आईपीएल खेलेपछि पुरा हुने बताएका छन् । ग्लोबल टी–२० क्यानडाका लागि छनोट भए पछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सोमपालले बुवाको चाहना छोराले आईपीएल खेलोस भन्ने रहेको उल्लेख गरे । सोमपालले भनेको कुराको सम्पादित अंश ।

‘म एकदमै खुसी छु । नेपालमा पहिलो पटक आउँदा मेरो सपना भनेको राष्ट्रिय टिमबाट खेल्नु नै थियो । जसैगरी म खेल्दै गए र नेपालले पनि ठूलो ठूलो उपलव्धिहरु हासिल गर्दै गयो । हामीले अन्तर्राष्ट्रिय लिगहरु बढी हेरिरहेका थियौं ।

बढी भनेको आईपीएल नै हो हामीले फ्लो गर्ने । कहिन कहिँ मलाई पनि लाग्थ्यो हामी पनि यो लिगका लागि हामी पनि ‘डिजर्भ’ गर्छौं । मैले सोँचेको पनि थिएन की यति चाँडै मेरो अन्तर्राष्ट्रिय लिगको ‘जर्नी’ शुरु हुन्छ भनेर । भर्खरै छनोट भएर अब खेल्न गइरहेको छु ।

मेरा लागि यो नयाँ अनुभव हुने छ । मैले जसलाई टिभीमा हेरेर चिनेको थिए अब उनीहरुसँगै खेल्न पाउँदा पक्कै पनि धेरै नै खुसी छु । त्यहाँ गएर मैले अहिले नै भन्न मिल्दैन की राम्रो प्रदर्शन हुन्छ की हुँदैन भनेर मैले यहाँ खेल्दा जति पनि धेरै मेहनत गरेको छु त्यसैले त्यहाँ पनि राम्रो हुनेछ भन्नेमा विश्वस्त छु । यसलाई सकारात्मकरुपमा हेरौं ।

मैले ग्लोबल टी–२० क्यानडाका शुरुका तीन वटा खेल मिस पनि गर्छु । त्यहाँको आवश्यकता अनुसार मेरो रोल तय हुन्छ । तर आशा गरौं मैले चान्स पाउने छु र राम्रो पनि गर्ने छु ।

मलाई के लाग्छ भने रिजल्ट कहिल्यै पनि आफ्नो हातमा हुँदैन् । मैले पाँच वर्षदेखि नेपाली राष्ट्रिय टिमबाट खेलिरहेको छु । शुरुको दुई वर्षको बारेमा त मलाई पनि थाहा छैन । २ वर्ष पछि भने प्रशिक्षक आएपछि भने मेरो खेलमा निकै परिवर्तन आएको छ । क्रिकेटको अन्तर्राष्ट्रिय लिग खेल्दा कन्फिडेन्स लेभल पनि बढ्छ ।

मेरो बुवालाई त्यतिधेरै आईडिया छैन की । म यति ठूलो लिग खेल्न जाँदा पनि उहाँलाई भारतको आईपीएल भन्दा ठूलो अर्को लिग छैन भन्ने लागेको छ । त्यसैले बुवालाई खुसी बनाउनका लागि भविष्यमा आईपीएलमा पनि खेल्ने इच्छा छ ।

नेपालका सन्दीप लामिछाने टोरन्टो नेश्नल र सोमपाल विनीपेग हक्समा अनुबन्धित भएका छन् । सोमपाल पहिलो पटक विदेशी टी–२० लिगमा छनोट भएका हुन् । सन्दीप लगातार दोस्रो पटक यो लिग खेल्दैछन् । सन्दीपले गत सिजनमा मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए ।

Post Add 1025X115
Loading...