सन्दीप र सोमपालले भने ‘ग्लोबल टी–२० भन्दा राष्ट्रिय टिम महत्वपूर्ण’

साेमपाल र सन्दीपले शुरुका ३ खेल गुमाउने

0

काठमाडौं, ६ असार । नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई महत्वपूर्ण सदस्य सन्दीप लामिछाने र सोमपाल कामीले आगामी जुलाई अन्तिम सातादेखि क्यानडामा आयोजना हुने ग्लोबल टी–२० क्रिकेटको सुरुआती तीन खेल गुमाउने भएका छन् ।
ग्लोबल टी–२० प्रतियोगिता जुलाई २५ देखि अगष्ट ११ सम्म हुने छ । उसको विस्तृत तालिका भने अझै सार्वजनिक गरिएको छैन् ।
नेपालको राष्ट्रिय टिमले यही समयमा आईसीसी टी–२० विश्वकप एसिया छनोट खेल्दै छ । सिंगापुरमा जुलाई २२ देखि जुलाई २८ सम्म यो प्रतियोगिता हुँदैछ ।
नेपालले २३ तारिखमा कतार, २४ तारिखमा मलेसिया, २७ तारिखमा कुवेत र २८ तारिखमा सिंगापुरसँग खेल्ने छ । राष्ट्रिय टिमको खेल र ग्लोबल टी–२० को मिति जुधेकाले सन्दीप र सोमपालले क्यानडामा सुरुआती तीन खेल गुमाउने काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनमा सोमपालले भने ‘ग्लोबल टी–२०का लागि छनोट भएकोमा खुसी लागेको छ, तर मैले शुरुका तीन खेल खेल्न पाउने छैन, किन भने ग्लोबल टी–२० भन्दा मेरो राष्ट्रिय टिम महत्वपूर्ण हो ।’
पत्रकार सम्मेलनमा सन्दीप लामिछानले पहिलो पटक सोमपाल कामी विदेशी लिगमा आवद्ध हुनु नेपाली क्रिकेटका लाथि थप सफलता मिलेको भन्दै खुसी व्यक्त गरे । यसैगरी नयाँ नयाँ लिगमा नेपाली खेलाडीहरुले प्रदर्शन गर्दा नेपाली क्रिकेटलाई पनि थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । आफूले विगतमा पनि यो लिग खेलिसकेकाले यस पटक टिम परिवर्तन भएको र यसमा खेल्न उत्साहित नै रहेको उल्लेख गरे ।
सन्दीप टोरन्टो नेश्नल र सोमपाल विनीपेग हक्समा अनुबन्धित भएका छन् । सोमपाल पहिलो पटक विदेशी टी–२० लिगमा छनोट भएका हुन् । सन्दीप लगातार दोस्रो पटक यो लिग खेल्दैछन् । सन्दीपले गत सिजनमा मोन्ट्रेल टाइगर्सबाट खेलेका थिए ।

Post Add 1025X115
Loading...