दक्षिण अफ्रिकाका लागि न्युजिल्याण्डबिरुद्धको खेल गर या मर

0

नेप्लेज, ४ असार । आईसीसी एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत बुधबार दक्षिण अफ्रिकाले बर्मिङघमको एजबास्टोन रंगशालामा न्युजिल्याण्डको सामना गर्दा उसका लागि त्यो खेल गर या मरको अवस्थामा हुनेछ ।

विश्वकपको सुरुआती पाँच खेलबाट एकमात्र जित हासिल गरेको गत संस्करणको सेमिफाइनलिष्ट दक्षिण अफ्रिका यस संस्करणमा सेमिफाइनलमा पुग्न बाँकी सबै खेल जित्नुपर्ने दवावमा छ ।

गत संस्करणमा न्युजिल्याण्डसँग पराजित भएपछि दक्षिण अफ्रिका सेमिफाइनलबाट घर फर्किएको थियो ।

१० टोली सम्मिलित विश्वकपको लिग चरण राउण्ड रोविन प्रणालीमा खेलाइएको छ र बाँकी चार खेलमा उसले शतप्रतिशत जित हासिल गरेमात्र शीर्ष चार प्रवेशको सम्भावना रहन्छ ।

पछिल्लो खेलमा अफगानिस्तानलाई ९ विकेटले हराएपछि दक्षिण अफ्रिकाले जितको लय समाएको अपेक्षा गर्न सकिन्छ । तर, उच्च लयमा रहेको न्युजिल्याण्डबिरुद्धको खेल उसलाई अफगानिस्तानजत्तिको सहज निश्चित रुपमा हुने छैन ।

न्युजिल्याण्डको बलिङ आक्रमण र शीर्ष क्रमका ब्याट्सम्यानहरुको प्रदर्शन अहिलेसम्म उत्कृष्ट हुँदै आएको छ । मध्यक्रमका ब्याट्सम्यानले धेरै खेल्ने अवसर पाएका छैनन । बंगलादेशबिरुद्धको खेलमा उसको मध्यक्रम असफल देखिएको थियो ।

दक्षिण अफ्रिकाका लागि खुसीको खवर के हो भने ह्याम्स्ट्रिङको चोटका कारण ३ खेल खेल्न नसकेका लुंगी एनगिडीले पुनरागमन गर्ने भएका छन् । दक्षिण अफ्रिको बलिङ आक्रमण उनको उपस्थितिले केहि सुधारिने अपेक्षा गरिएको छ ।

एजबास्टोनको मौसम बुधबार बिहान हल्का वर्षा भए पनि दिनभर सफा रहने अनुमान गरिएको छ । यस मैदानमा भएका पछिल्ला ४ खेलमा सुरुआती ब्याटिङ गर्ने टिमले जितेको छ ।

Post Add 1025X115
Loading...