गुरिल्ला अल्ट्रा म्याराथनको उपाधि दुर्गाराज र हुमीलाई

0

गुरिल्ला अल्ट्रा म्याराथन दौड प्रतियोगिताको पुरुषतर्फको उपाधि दुर्गाराज बुढा तथा महिलातर्फको उपाधि हुमी बुढामगरले  जितका छन ।

रुकुम (पश्चिम)का बुढाले ५२ किलोमिटरको दूरी छ घण्टा १५ मिनेट १५ सेकेन्डमा तथा प्युठानकी बुढामगरले सो दूरी सात घण्टा १८ मिनेट ३५ सेकेन्डमा पूरा गर्नुभएको हो । दुवै जनाले जनही रु ५० हजार पुरस्कार प्राप्त गरे ।

पुरुषतर्फ सोलुखुम्बका सुमन कुलुङले छ घण्टा २८ मिनेट २८ सेकेन्डमा तथा रुकुम (पूर्व)का मुहन केसीले पाँच घण्टा ४९ मिनेटमा उक्त दूरी पार गरी क्रमशः दोस्रो र तेस्रो भए ।

महिलातर्फ धादिङकी रसिला तामाङले सात घण्टा २० मिनेट ३८ सेकेन्डमा तथा भोजपुरकी अनिता राइले सात घण्टा २५ मिनेट २९ सेकेन्डमा निर्धारित दूरी पार गरी दोस्रो र तेस्रो भइन् ।

उनीहरुले क्रमशः रु ३५ हजार र रु २५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा रुकुम (पूर्व), रुकुम (पश्चिम), भोजपुर, काठमाडौँ, रसुवा, सिन्धुपाल्चोक, धादिङ, प्युठान, लमजुङ, ओखलढुङ्गा र सोलुखुम्बुका गरी ३४ पुरुष तथा ३४ महिला धावकले भाग लिएका थिए । गुरिल्ला अल्ट्रा म्याराथन दौड प्रतियोगिता रुकुम (पूर्व) र रोल्पालाई समेटेर १० वर्षे सशस्त्र युद्धका क्रममा लडाकु हिँडेको बाटोमा सञ्चालन गरिएको हो ।

भूमे गाउँपालिका–६ महतबाट शुरु भएको उक्त दौड रोल्पाको थवाङ, जलजला, लुकुम, काँक्री हुँदै भूमेको खाबाङ बगरमा पुगेर समाप्त भएको थियो । सो अवसरमा अल्ट्रा धाविका मीरा राईले गुरिल्ला अल्ट्रा म्याराथनमार्फत रुकुम (पूर्व) मा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याउन मद्दत पुग्ने बताउनुभयो । एउटै रुट र उही दूरीमा महिला तथा पुरुषको छुट्टाछुट्टै दौड प्रतिगोगिता सञ्चालन गरिएको थियो ।

Post Add 1025X115
Loading...