नेपाली भलिबलका लागि उच्चस्तरका डच प्रशिक्षक आउँदै, यस्ता छन् विशेषता

0

आसन्न एशियन सेन्ट्रोल जोन पुरुष भलिबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा विदेशी प्रशिक्षक आउने भएका छन । अन्तराष्ट्रिय भलिबल महासंघ (एफआइभीभी) ले नेपालका लागि नेदरल्याण्ड्सका पूर्व खेलाडी तथा प्रशिक्षक हान एबिङलाई नेपाल पठाउन लागेको हो । उनी तीन महिनाका लागि असार चार गते नेपाल पुग्नेछन ।

नेपाल भलिबल संघको पहलमा डच प्रशिक्षक हान पहिलो पटक नेपाली भलिबलको प्रशिक्षकका रुपमा आउन लागेको हुन । २५ बर्ष लामो प्रशिक्षकको अनुभव बटुलेका हानले सात बर्ष डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए । उनले १९९७ देखि २००४ सम्म डच भलिबल टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए ।

उनले २००४ देखि २००८ सम्म जर्मन महिला भलिबलको हेड कोचका रुपमा पनि काम गरेका थिए । जसमा उनले २००८ मा जर्मन कमको उपाधि दिलाएका थिए भने २००७ मा तेस्रो स्थान दिलाएका थिए ।

यसका साथै डच टिमको सहायक प्रशिक्षकका रुपमा काम गरेका हान युरोपियन भलिबलमा नै उच्च दर्जाका प्रशिक्षकका रुपमा कहलिन्छन ।

२००८ देखि २०१३ सम्म जर्मनको महिला यू–२० टिमको प्रशिक्षक रहेका उनी २०१४ देखि २०१५ सम्म नेदरल्याण्डसको यू–२१ टिमको मुख्य प्रशिक्षक रहेका थिए ।

यस्तै उनले २०१५ देखि २०१६ सम्म एक बर्ष स्विट्जरल्याण्ड भलिबल टिमको मुख्य प्रशिक्षक बनेका थिए । जसमा उनले टिमलाई सीइभी कपको क्वाटरफाइनलमा पुर्याएका थिए । त्यसपछि उनी २०१६ देखि २०१८ सम्म सुहील भलिबलको प्रशिक्षक रहेका थिए ।

१९८८ देखि प्रशिक्षकका करियर सुरु गरेका उनले आफ्नो यो करियरमा दुई दर्जन भन्दा बढि उपाधि दिलाएका थिए । जुन युरोपियन भलिबलमा राम्रो उपलब्धिका रुपमा लिइएको छ ।

हानलाई ल्याएपछि नेपाली भलिबलमा परिवर्तन हुने अपेक्षा गरिएको छ । उनको नेपाल रहँदाको तलव एफआइभीभीले ब्यहोर्नेछ । उनले पुरुषका साथै महिला टिमलाई पनि प्रशिक्षण दिने बताइएको छ ।

सेन्ट्रले जाेन पुरुष भलिबलमा पदक जित्ने लक्ष्यका साथ नेपाल आउन लागेका हानले असार ५ गतेबाट प्रशिक्षण सुरु गर्नेछन । पुरुष राष्ट्रिय भलिबल टिमले आजबाट तयारी सुरु गर्दैछ ।

Post Add 1025X115
Loading...