एसीसीकाे ढिलाईकाे चेपुवामा यू-१९ टिमकाे तयारी, खेलाडीकाे नाम पठाउन एक दिनमात्र बाँकि

0

मलेसियामा हुन लागेको एसीसी यू–१९ इस्टर्न रिजन च्याम्पियनसिपका लागि नेपाली युवा टिमले विहिबारबाट तयारी सुरु गर्ने भएको छ । प्रतियोगिता सुरु हुन करीव दुई साताको समय मात्र बाँकि हुदा नेपालको तयारी यसैपनि ढिलो भइसकेको छ । यो विचमा नेपाली टिमले भारतको बैंग्लोरमा तीन वटा अभ्यास खेल खेल्ने योजना पनि बनाएको छ ।

तर प्रतियोगिताको मुख्य आयोजक एशियन क्रिकेट काउन्सिललाई नेपाली प्रशिक्षकले करीव तीन साता अगाडी नै आफ्नो प्रशिक्षणको योजना र कार्यतालिका तथा बजेट सहित पठाएको थियो । तर एसीसीले अहिलेसम्म त्यो प्रस्तावमा कुनै प्रतिक्रिया जनाएको छैन । जसका कारण एसीसीले उत्तर दुई दिनमा आउँला भन्ने आशा सहित नेपाली युवा टिमले विहिबारबाट बन्द प्रशिक्षण सुरु गर्न लागेको हो ।

यतिमात्र होइन, प्रतियोगिताका लागि १४ खेलाडीको सूची पठाउने मिती भोली (जुन १२ तारिख) रहेको छ । तर त्यो मिती आउट एक दिन मात्र बाँकि रहेका बेला एसीसीले जवाफ नपठाएपछि मुख्य दबाव प्रशिक्षक विनोद दाशलाई परेको छ ।

एसीसीले यो प्रतियोगिताका लागि यू–१९ विश्वकप छनोट खेलेको टिम नै पठाए हुन्छ भन्ने आशय देखाएको छ । तर प्रशिक्षक विनोद दाश भने यो प्रतियोगिता मात्र नभई आगामी प्रतियोगिताका लागि नयाँ खेलाडीलाई मौका दिने सोच बनाएकाले एसीसीलाई चार जना नयाँ खेलाडीलाई समावेश गरेर खेलाडीको सूची एसीसीलाई पठाएको थियो ।

हाल यू–१९ टिममा रहेका सिनियर खेलाडीका लागि यो अन्तिम प्रतियोगिता हुनेछ । जसमा चार जना खेलाडी रहेका छन । उनीहरुलाई रिप्लेस गर्नका लागि अहिलेदेखि नै यू–१६ इस्र्टन रिजन खेलको टिमबाट चार जना जति खेलाडीलाई यो क्याम्पमा राख्ने योजनामा प्रशिक्षक दाश रहेका छन । तर एसीसीले उनको प्रस्तावमा केहि ढिलो गरेपछि अब नेपालको तयारी केहि प्रभावित त हुने होइन भन्ने प्रश्न उब्जिएको छ ।

जुलाई २ तारिख देखि ९ तारिखसम्म मलेसियामा हुने प्रतियोगिताको नेपाल डिफेन्डिङ च्याम्पियन रहेको छ । जसमा नेपालले पहिलो खेल जुलाई दुई तारिख म्यानमार विरुद्धको खेलबाट प्रतियोगिता सुरु गर्नेछ ।

Post Add 1025X115
Loading...