प्रधानसेनापति कप भलिबलको उपाधिका लागि आर्मी र गण्डकी भिड्ने

0

काठमाडौं, २४ जेठ । प्रधानसेनापति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र त्रिभुवन आर्मी भिड्ने भएका छन् । शुक्रबार भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशले विभागीय टिम एपीएफ क्लबलाई ३–१ को सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको खेलमा गण्डकीले एपीएफलाई २५–२३, २१–२५, २५–२३ र २९–२७ को सेटमा पाखा लगायो ।

गण्डकीले पहिलो पटक प्रधानसेनापति भलिबलको फाइनलमा स्थान बनाएको छ । शुक्रबार नै भएको दोस्रो सेमिफाइनलमा आर्मीले नेपाल पुलिसलाई ३–१ ले पराजित गर्दै गण्डकीसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

पहिलो सेट १९–२५ ले पराजित भएको आर्मीले बाँकी तीन सेट जित्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । दोस्रो सेट २८–२६ ले जितेको आर्मीले तेस्रो र चौथो सेट क्रमश २६–२४ र २५–१७ ले कव्जा गर्‍यो ।

नेपाली सेनाको आयोजनामा जारी प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छन् ।

Post Add 1025X115
Loading...