सातौं खेलमा नेपालको गोल, अविषेकले तोडे गोलको खडेरी

0

नेप्लेज, २३ जेठ । नेपालको राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय फुटबलमा ९ महिनापछि पहिलो गोल गरेको छ । लगातार ६ खेलको गोल खडेरी तोड्दै युवा स्ट्राइकर अविशेक रिजालले गोल गरेका हुन् ।

गएको आइतबार मलेसियाबिरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सब्सिच्युड खेलाडीको रुपमा राष्ट्रिय टोलीमा डेब्यू गरेका अविशेकलाई प्रशिक्षक योहान कालिनले बिहीबार चाइनिज ताइपेईबिरुद्ध मुख्य स्ट्राइकरको जिम्मेबारी दिएका थिए ।

पहिलो हाफमा पछि परेको स्थितिमा अविशेकले दोस्रो हाफमा बराबरी गोल फर्काए । ६८ औं मिनेटमा सन्तोष तामाङले करिव ३० यार्डबाट प्रहार गरेको फ्रिकिकलाई पेनाल्टी क्षेत्रमा अनमार्क अविशेकले पोष्टको दिशा दिए ।

सन् २०१८ मा साफ च्याम्पियनसिप अन्तर्गत घरेलु टोली बंगलादेशबिरुद्ध समूह चरणको अन्तिम खेलमा नेपालले गोल गरेको थियो । त्यसयता ६ खेलमा नेपाल गोलबिहीन थियो । ६ मध्ये ५ खेलमा पराजित भएको थियो भने १ खेल बराबरी खेलेको थियो ।

यसबीचमा नेपालले साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्ससँग ३–०, बंगबन्धु गोल्डकप अन्तर्गत ताजिकिस्तानसँग २–० र प्यालेस्टाइनसँग १–० को पराजय ब्यहोरेको थियो ।

योहान कालिनले टिम संहालेयताको यो चौथो खेल हो र नेपालले दुई बराबरी र दुई हारको नतिजा आत्मसाथ गरेको छ । गत चैत पहिलो साता कुवेतबिरुद्ध कुवेत सिटीमा भएको २ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एउटा बराबरी र एउटामा पराजित भएको थियो । गत साता नेपालले मलेसियासँग उसकै मैदानमा २–० को हार ब्यहोरेको थियो ।

चाइनिज ताइपेईबिरुद्धको यो गोल अविशेकको सिनियर करिअरमा पनि पहिलो गोल हो । १८ वर्षीय युवा स्ट्राइकरलाई कालिनले विश्वास गरेका छन् र उनले नेपाली फुटबलको भविश्यको रुपमा प्रदर्शन गर्न थालेका छन् ।

एन्फा एकेडेमीका उत्पादन अविशेकले उमेर समूहको लगभग सबै टिमबाट नेपालको प्रतिनिधित्व गरिसकेका छन् । उनी लिग च्याम्पियन मनाङ मर्स्याङ्दीबाट क्लब फुटबल खेल्छन् ।

Post Add 1025X115
Loading...