नव नियुक्त प्रशिक्षकले के नयाँ क्रिकेटरलाई अवसर देलान त !

0

नेप्लेज, १९ जेठ । नेपाली क्रिकेट खेलाडीका कारण अहिले स्वर्णयुगमा छ । आईसीसीबाट एक दिवसीय अस्थायी मान्यता पाएपछि धेरै बाटाहरु खुलेका छन् । तर नेपाली क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ भने आन्तरिक राजनीतिकको खिचातानीमा परेर आईसीसीबाट निलम्बनमा परेको छ । निलम्बन फुकुवाको प्रक्रिया अघि बढे पनि अझै यसले सार्थकता पाइसकेको छैन ।


यस्तोमा नेपाली क्रिकेटको बागडोर अहिले आईसीसीको हातमा छ । क्यान नहुँदा नेपालले पाउने सुविधाहरुबाट बन्चीत भएपनि खेलाडीहरुले भने खेल्न पाएकै छन् । यस बीचमा एक दिवसीय वरियता पाएपछि नेपालले नेदरल्याण्ड्ससँग र यूएईसँग सिरिज पनि खेलिसकेको छ । नेदरल्याण्ड सिरिज बराबरी भएर नेपाल आएको क्रिकेट टिमले यूएईमा भने उसलाई एक दिवसीय र टी–२० सिरिजमा २–१ को नतिजा निकाल्दै उपाधि नै हात पार्न सफल भयो ।

फलस्वरुप आईसीसीले जारी गर्ने वरियतामा नेपाल अहिले विश्वकको १४ औं स्थानमा रहेको छ । यसल नेपाली क्रिकेटको भविष्य उज्जवल छ भन्ने दर्साउँछ । तर यतिबेला नेपाली क्रिकेट भनेको अन्यथा नलागोस कुमालेले भाँडा बनाउने काँचो माटोको अवस्थामा छ । भनेको नेपाली क्रिकेट टिमलाई दक्ष प्रशिक्षकको आवश्यकता परेका बेला आईसीसीले पनि यो सबै बुझेर भारतीयमुलका उमेश पटवाललाई नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा नेपाल पठाएको छ ।

प्रशिक्षक एक्लैले केही गर्ने पनि होइन । त्यसका लागि खेल वातावरण र खेलाडीको लगनशीलता आवश्यक पर्छ । हुन त नेपाली क्रिकेट खेलाडीहरुले लगनशीलता र इमान्दारिताको कसीमा आफूलाई प्रमाणित गरिसकेका छन् । कप्तान उनै पारस खड्का हुन् नेपाली क्रिकेट टिम डिभिजन फाइभमा हुँदा देखि अहिलेसम्म उनले राम्रोसँग लिड गर्न सफल भएका छन् । अहिले विदेशी प्रशिक्षक उमेश पटवाल आएपछि चारै तिर नेपाली क्रिकेटको चर्चा शुरु भइसकेको छ ।

राजधानीमा जारी प्रधानमन्त्री कप क्रिकेटका कारण नेपाली क्रिकेटको नकारात्मक टिप्पणी भइरहेका बेला उमेश पटवालको नेपाल इन्ट्रीले एकाएक रक्त सञ्चार भएको छ । यसले आगामी दिनमा पक्कै पनि राम्रो नतिजा आत्मसाथ गर्ला भन्ने आम नेपाली क्रिकेट समर्थकको बुझाई छ ।

पटवालका लागि नेपाली भूमी र खेलाडी नौलो विषय पनि होइन । उनले नेपाल बुझेका पनि छन् । यसअघि डिभिजन टुमा नेपाली टिमले प्रतिस्पर्धा गर्दा र हालै यूएई टुरमा उनी नेपाल क्रिकेट टिमको व्याटिङ प्रशिक्षक रहेर काम गरिसकेका छन् । कनै समय थियो नेपालको व्याटिङ अर्डर राम्रो भएन भन्ने । तर उनले नेपाली खेलाडीलाई प्रशिक्षण दिएपछि केही हदसम्म यो समस्या समाधान भएको छ । जुन कुरा खेलाडीहरुले पनि पटक पटक बताउने गर्छन की ‘पटवाल सर आएपछि हाम्रो ब्याटिङ सुध्रियो ।’ यो लय आगामी दिनमा पनि कायमै हुन्छ भन्नेमा अहिले पनि खेलाडीहरु आशावादी नै छन् ।

नेपालको छिमेकी देश भारतका पटवाल राम्रो क्रिकेट वातावरण भएको ठाउँमा हुर्किएकाले पनि त्यहाँको प्रभाव यता पनि पर्ने अपेक्षा गर्न सकिन्छ । तर प्रशिक्षक फेरिदैंमा खेलाडीहरुले रातारात चमत्कारै गर्छन् भन्ने पनि होइन । त्यसैले अहिले आएका प्रशिक्षकले नेपाली क्रिकेट खेलाडीहरुलाई कसरी मौका दिन्छन् त्यसले पनि टिमको भविष्य निर्धारण गर्छ ।


नेपाली क्रिकेटको राष्ट्रिय टिमका लागि ढोक ढक ढक गरेर बसेका थुप्रै खेलाडीहरु छन् । उनीहरुले नेपालमा भएका फ्रेन्चाईज लिगहरुमा पनि तहल्का मच्चाइ सकेका छन् । अहिले नेपाली सिनियर खेलाडीहरुको बर्हिगमन शुरु पनि भएको छ । यस्तोमा नयाँ खेलाडीहरुले ती खेलाडीहरुको ठाउँ लिनका लागि पनि आफूलाई सिद्ध गर्नु पर्ने हुन्छ । अहिले टिममा खेलाडीहरुका बीचमा प्रतिस्पर्धा बढेकाले पनि आगामी दिनमा यसले अझै राम्रो नतिजा निकाल्ने अपेक्षा गरिन्छ ।

नेपाली खेलाडीहरुको विकास गर्नका लागि अहिले पनि क्यान हुन जरुरी छ । यदि क्यानमा आउने नेतृत्वले सही ढंगले काम गर्ने हो नेपाली क्रिकेटले फड्को मार्ने आश गरेर बसेका खेलाडीहरुलाई पनि राहत हुने थियो । नेपाली क्रिकेट खेलाडीहरु अहिले पनि व्यवसायिक हुन नसकिरहेका बेला सही नेतृत्व आएर यता तर्फ काम गर्नु पर्ने छ । नव नियुक्त पटवालले नेपाली खेलाडीहरुमा बल सेन्स भएको र गेम सेन्स नभएको बताउँने गर्छन् । त्यसैले अब यता तर्फ उनको पहिलो ध्यान केन्द्रीत हुनेमा कसैको दुई मत पनि छैन ।

आशा गरौं नेपाली क्रिकेट टिमको प्रशिक्षकको रुपमा आएका उमेश पटवालले खेलाडीलाई पर्याप्त मौका दिने छन् र नेपाल क्रिकेट संघको क्यानको पनि निलम्बन चाँडै फुकुवा भएर पूर्णरुपमा काम गर्ने छ ।

Post Add 1025X115
Loading...