प्रदेश पाँचले नपत्याएका सुदन… (भिडियाे कुराकानी)

0

काठमाडौं, १८ जेठ । कर्णाली प्रदेश काठमाडौंमा भइरहेको तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा चार वटै खेल हार्दै समूह चरणमा बाहिरिसकेको छ । पछिल्लो समयमा कर्णालीमा क्रिकेट फस्टाएको भए पनि राष्ट्रिय स्तरको प्रतियोगितामा भने यो प्रदेशले एकै खेल जित्न सकेन ।

केही खेलमा विपक्षीलाई दबाबमा राख्नु र व्यक्तिगत उत्कृष्ट प्रदर्शन नै कर्णालीको लागि यस प्रतियोगितामा सम्झनलायक क्षण बनेको छ ।
तर त्यही कर्णालीबाट खेलेका एक खेलाडीले भने पहिलो खेलमै तहल्का मच्चाए । प्रतियोगिताको उपाधि दाबेदार र घरेलु क्रिकेटकै बलियोमध्ये एक पुलिस विरुद्धको पहिलो खेलमा कर्णालीका लागि सुदन पोखरेलले ५ विकेट लिए । सुदन यसअघि सुनिएको नाम पनि होइनन् र उनी उत्कृष्ट खेलाडी पनि होइनन् ।

तर पुलिसविरुद्ध खेलमा उनले शनशनीपूर्ण बलिङ गर्दै लगातार ५ विकेट लिए । उनी यस प्रतियोगिता ५ विकेट लिने पहिलो खेलाडी समेत हुन् ।
मुलपानी क्रिकेट मैदान (तल्लो) मा भएको खेलको पहिलो ओभरको पहिलो बलमै सुदनलले पुलिसका अनिल कुमार साहलाई निशान रावलबाट क्याचआउट गराए । त्यसपछि उनले लगातार ४ विकेट झारे ।

‘खासै विशेष योजना केही थिएन । पहिलो बलमै विकेट आयो त्यसबाट कन्फिडेन्स बढ्यो । राष्ट्रिय प्रतियोगितामै पहिलो पटक खेलेका उनले पहिलो बलमै विकेट लिँदाको अनुभवबारे सुनाए । मैले आफ्नो लाइन र लेन्थमा बल फाले । म्याटमा गेम थियो । बलहरु बाउन्स भइराथ्यो । ब्याट्सम्यानले गल्ती गरेपछि विकेट आइहाल्छ भन्ने भयो । त्यसैले आफ्नो लेन्थमा स्टिक रहेँ । र पछि लगातार विकेटहर आयो । सुदनले हामीसँगको कुराकानीमा भने ।’

सुदनले लिएको विकेट सामान्य खेलाडीको थिएन । उनले राष्ट्रिय टिमबाट खेलिसकेका अनिलसँगै दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, पवन सर्राफ अनि घरेलु क्रिकेटका राम्रा ब्याट्सम्यान अमित श्रेष्ठको विकेट लिएका हुन् ।

पहिलो ओभरमा अनिलको विकेट लिएका सुदनले त्यसपछि पाँचौ ओभरमा अमित र पवन तथा नवौं ओभरमा आरिफ र दिपेन्द्रको विकेट लिँदै आफ्नो ५ विकेट पूरा गरे । उक्त खेलमा सुदनको प्रदर्शन थियो ७ ओभरमा २ मेडन १६ रन र ५ विकेट ।

राष्ट्रिय प्रतियोगिताको पहिलो खेलमै बलियो पुलिसविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएका सुदलको लागि यो ड्रिम डेब्यु बनेको छ । ‘बलिङमा स्पेसल प्लानिङ थिएन । तर टिमले राम्रो गर भन्छ । विपक्षीको विकनेस र स्ट्रेन्थ हेरेर बलिङ गर भन्छ । त्यही हेरेर बल फालेँ । केही नराम्रो पनि भयो । कुनै बल राम्रो पनि भयो र कुनै नराम्रो ।’ पहिलो खेलमा ५ विकेट लिए पनि उनी आफ्नो बलिङमा अझै सुधार गर्ने ठाउँ रहेको बताउँछन् ।

बलिङमा सुदनले राम्रो गरे पनि ब्याटिङमा राम्रो गर्न नसक्दा खेल कर्णालीले ९४ रनले गुमायो । पुलिसलाई ४१ ओभरमा १८५ रनमा अलआउट गरेको कर्णाली २७ ओभरमै ९१ रनमा अलआउट भयो। कर्णालीले खेल हारेपनि सुदलको प्रशंसा भयो र उनको चर्चा सुरु भयो ।
यद्यपि सुदनले त्यसपछि पनि निरन्तर आफ्नो खेल देखाउन पाएनन् । दोस्रो खेलमा उनले १ ओभरमा मात्र बलिङ गर्न पाएर जसमा २ रन खर्चिए । तेस्रो खेल खेल्न पाएनन् ।

शुक्रवार कीर्तिपुरस्थिती टीयू अन्तर्राष्ट्रिय मैदानमा मैदान प्रदेश नम्बर १ विरुद्ध सुदलले १ विकेट मात्र लिए । उक्त खेलमा भने कर्णाली फराकिलो रन अन्तरले पराजित भयो ।

कर्णालीले खेलेको चारवटै खेलमा हार बेहोर्यो ।’ कर्णालीको गेम राम्रो हुन सकेन तयारी अली कम भयो जस्तो छ ।’

को हुन् सुदन ?
कर्णाली प्रदेशबाट प्रधानमन्त्री कप खेलेका सुदन बास्तबमा सोही प्रदेशका खेलाडी भने होइनन् । उनी प्रदेश पाँच अन्र्तगत रहेको जिल्ला दाङका खेलाडी हुन् । प्रदेश पाँच भित्रको ठेकेदारी प्रथाका कारण पनि उनी प्रदेश पाँचको जिल्लामा अटाएनन् । प्रदेश पाँचबाट कसैले प्रतिनिधत्व गर्दा साविकको मध्यपश्चिम क्षेत्र हुँदा देखिनै कोटा सिस्टम कायम थियो । अहिले पनि यस्तै छ ।

जसमा रुपन्देहीमा ८, बाँकेमा ५ , दाङबाट १ जना खेलाडी पार्न पर्ने दबाब हुन्छ । चाहे अरु जति नै राम्रा किन नहोउन । उनले प्रदेश पाँचका लागि नेपालगञ्ज पुगे पनि स्थान बनाउन असफल भए । यसैगरी यू १६ का कप्तान भई उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि विशाल विक्रम केसीले पनि ठेकेदारी प्रथाका कारण टिममा स्थान बनाउन असफल भए ।

नेप्लेजसँगको कुराकानीमा सुदनले अरु कुरा केही थाहा नभएको भन्दै कर्णाली प्रदेशका साथी रविन्द्रजंग शाहीसँग नियमति सम्पर्कमा रहेकाले उनले बोलाएको बताउँछन् । उनले भने ‘ म भारतको पुनेमा ट्रेनिङ गरिरहेको थिएँ । त्यसै बेला साथी रविन्द्र जंग शाहीसँग कुरा भइरहन्थ्यो । उनले पनि प्राक्टिस गर्दै गर प्रतियोगिताको सेलेक्सन भएमा बोलाउँछु भनेको थियो । रविन्द्र तिनै खेलाडीले हुन् जसले कर्णाली प्रदेको कप्तानी गरेका थिए ।’

रविन्द्रले नै सुदललाई पीएम कपको सेलेक्सनबारे बताए । अनी म नेपाल आएँ र कर्णालीबाट खेल्न सेलेक्ट भएँ। सुदनले प्रधानमन्त्री कपसम्मको यात्रा बारे बताए ।
‘मलाई प्रदेश ५ को बारेमा धेरै थाहा थिएन । फेरी कता चान्स मिल्छ उता खेल्ने हो । उता गएर खेले । जहाँ खेलेँ राम्रो खेल्ने हो ।’ ‘पुनेमा मैले ५ महिना ट्रेनिङ गरेँ । बिहान प्राक्टिस अनी बेलुका फिटनेसको ट्रेनिङ हुन्थ्यो ।’

त्यसअघि उनी दाङमै ट्रेनिङ गर्थे। ’दाङको युएनबीसी घोराही क्रिकेट एकेडेमीमा ३–४ वर्षदेखि ट्रेनिङ गर्दै आएको थिएँ । बेसिक कुराहरु त्यँहि सिकेँ । त्यसपछि अझै सुधार गर्न भारत गएको हो ।’

सुदनले सानोमा टेनिसबल नै खेलेर क्रिकेटको प्यास मेटाएका थिए।’ तर राम्रो हिसाबले ड्युज बल खेल्नुपर्छर फर्म्याटमा खेल्नुपर्छ भन्ने लागको ६ वर्ष जति भयो । त्यसरी नै अगाडि बढिरहेको छु । अझै धेरै राम्रो गर्नु छ ।’

यसअघि आफू राम्रो नभएकैले प्रतियोगितामा पर्न नसकेको हो कि भन्ने उनलाई लाग्छ ।’ यसअघि पनि खेलिराको थिएँ । त्यति राम्रो थिएन होला त्यही भएर अन्य प्रतियोगिता परिन होला । विस्तारै सुधार हुँदै आयो । अहिले पीएम कप खेलेँ ।अझै सुधार गर्छु ।’

अबको योजना
यस संस्करणमा सुदनले ३ खेल खेले । ६ विकेट लिए । अन्तर्राष्ट्रिय स्तरमा खेलिसकेका खेलाडीसँग पनि खेले । तर अझै धेरै सिक्न बाँकी रहेको र आफूलाई सुधार गर्नुपर्ने उनको बुझाई छ । मेरो बलिङ अझै राम्रो भाछैन । अझै अब राम्रो ट्रेनिङ लिएर आफ्नो फिटनेसमा ध्यान दिएर अझैं आफूलाई राम्रो बनाउँछु । यो लेभलमा मेरो फिल्डिङ पनि अझै राम्रो भाछैन । त्यसैमा ध्यान दिएर अगाडि बढ्ने हो ।

उनले एउटा टुर्नामेन्ट खेल्दैमा सबै थोक हात पार्न नसकिने स्वीकारे । ’अब एउटा टुर्नामेन्टले केहि हुँदैन । जति आफैँल मिहेनत गर्न सक्यो उति राम्रो हुन् हो । म त्यसैमा फोकस हुनेछु ।

राष्ट्रिय टिमसम्म पुग्ने बाटो टाढा छ । आगामी सेलेक्सन आउला, त्यो सेलेक्सनमा अझै रम्रो गर्दै जाने । अब अहिले जे छ त्यो भन्दा बेटर बलिङ र फिल्डिङ गर्ने । त्यो भयो भने कोचको नजरमा परिन्छ। आफूलाई डे बाई डे इम्पुरभ गर्ने हो ।’

अहिले भारतमा मनसुन सिजन चलिरहेकाले तत्काल भारत फर्कने उनको योजना भने छैन । ’यतै तिनचार महिना ट्रेनिङ गर्छु अब ।’

कप्तान पारसको स्पिच र डेल स्टेनको पेस मन पर्छ ।
सुदन दायाँ हाते  तिब्र गतिका बलर हुन् । उनलाई मन पर्ने खेलाडी पनि उस्तै छ। नेपालमा उनलाई राष्ट्रिय टिमका कप्तान पारस खड्का मन पर्छ भने विदेशका डेल स्टेन ।

’कप्तान पारस खड्का मेरो मन पर्ने खेलाडी हो । उहाँले नेपाललाई यहाँसम्म पुर्याटउनु भयो। उहाँको गेम हेर्न मन पर्छ । स्पिच मन पर्छ ।  त्यसबाट आफूलाई मोटिभेसन आउछँ । हामीले अझै मिहेनत गर्नुपर्छ भन्ने लाग्छ ।’

यस्तै विश्वक क्रिकेटमा भने उनी दक्षिण अफ्रिकाका डेल स्टेनलाई आइडीएल मान्छन् । स्टेन पनि फास्ट बलर हुन् । ’मलाई स्टेनको पेस मन पर्छ । मेरो त्यति पेस त छैन। तैपनि राम्रो गर्दै जाम भन्ने लाग्छ ।’

विश्वकपमा दक्षिण अफ्रिकालाई समर्थन

सुदनलाई आइडिएल खेलाडी भएकै राष्ट्र दक्षिण अफ्रिकी टिम मन पर्छ । दुई दिनअघि देखि इंग्लयाण्ड र वेल्समा सुरु भएको क्रिकेट विश्वकपमा पनि उनले दक्षिण अफ्रिकालाई नै समर्थन गरिरहेका छन् । तर पहिलो खेलमै दक्षिण अफ्रिका घरेलु टोली इंग्ल्याण्डँग पराजित भयो । ’म दक्षिण अफ्रिकालाई समर्थन गरिराछु। पहिलो खेलमा हार्‍याे, तर अगामी गेममा राम्रो गर्छ होला ।’

सुदन आशावादी छन्। ’टिम त जहिल्यै सेमिफाइनलमा हार्छ। यस पटक पहिलो खेलनै हार्‍याे ।  तर त्यसले केही हुँदैन। टिममा राम्रो खेलाडीहरु पनि छन् । आगामी खेलमा राम्रो गर्न सक्छ ।  दक्षिण अफ्रिकाले फाइनल खेलेको हेर्न चाहन्छु ।’

 

Post Add 1025X115
Loading...