नेपालका विदेशी पाँच प्रशिक्षकको कार्यकाल यस्तो (भिडियोसहित)

0

काठमाडौं, २८ वैशाख । पछिल्लो ८ वर्षमा नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकका रुपमा युरोपेली र जापानी गरी ५ जनाले जिम्मेबारी लिए ।

बिदेशी प्रशिक्षकको प्राविधिक ज्ञानले नेपाली खेलाडीहरुलाई थप व्यवसायिक बनाएको पक्कै छ । तर, उनीहरुले नेपाली टोलीबाट कहिल्यै पनि ठूलो अन्तर्राष्ट्रिय उपाधिको स्वाद लिन पाएनन् ।

ग्राहम रोवर्टस

इंग्ल्याण्डका पूर्व डिफेण्डर ग्राहम रोवर्टसले सन् २०११ को जनवरीदेखि २०१२ को मार्च महिनासम्म नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण संहाले । प्रिमियर लिग क्लब टोटनह्यामबाट व्यवसायिक फुटबलमा सफल करिअर विताएपछि प्रशिक्षण थालेका रोवर्टसले नेपाल आउनुअघि पाकिस्तानको टिम संहालेका थिए ।

१५ महिने प्रशिक्षणका क्रममा रोवर्टसे नेपाली टोलीको प्रदर्शनमा व्यापक सुधार गरेका थिए । ठूला उपाधि दिलाउन नसके पनि खेलाडीको अनुशासन र फिटनेशमा उनले विशेष ध्यान दिएका थिए ।

एएफसी च्यालेन्ज कपको समूह एमा नेपालले घरेलु मैदानमा प्यालेस्टाइन, माल्दिभ्स र तुर्कमिनिस्तानबिरुद्ध पराजित भएपछि उनले नेपाली टिम छाडे । त्यसअघि दशरथ रंगशालामा एसियाकै बलियो मानिने जोर्डनलाई एक एक गोलको बराबरीमा रोक्दा रोवर्टसको प्रशिक्षणको विशेष चर्चा भयो । विश्वकप छनोटको पहिलो चरणमा नेपालले जोर्डनसँग उसको मैदानमा ९–० गोलको हार ब्यहोरेको थियो । तर, घरेलु मैदानमा भने बराबरीमा रोकेको हो ।

ज्याक स्टेफानोस्की


सन् २०१३ मा नेपालमै हुन लागेको साफ च्याम्पियनसिपका लागि नियुक्त गरिएका प्रशिक्षक हुन् ज्याक स्टेफानोस्की । उनले आफ्ना सहायक रिचार्ड ओर्लोस्कीसमेत लिएर २ वर्ष नेपालको टिम संहाले ।

घरेलु मैदानमै भएको साफ च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमाथिको यात्रा तय गर्न सकेन । उनले पनि नेपाललाई कुनै अन्तर्राष्ट्रिय उपलब्धी दिलाउन सकेनन् । उनी अहिले न्युयोर्क सकर लिग क्लब वासिंटन स्पिरिटको गोलकिपर प्रशिक्षक छन् ।

प्याट्रिक अजेम्स
बेल्जियमका युरोपियन ए लाइसेन्स प्राप्त प्रशिक्षक प्याट्रिकले नेपाली टिमलाई छोटो समय प्रशिक्षण गराए । नेपाली टिमका लागि ५ महिनाको प्रशिक्षणका क्रममा उनले आफ्नो शतप्रतिशत योगदान गरे ।

प्रशिक्षकको प्रयासले मात्र पनि हुँदैन, खेलाडीले शतप्रतिशत योगदान पनि दिनुपर्छ ।

उनी सन् २०१५ को सेप्टेम्बरमा नेपाली टिममा अनुबन्ध भएका थिए । २०१६ को जनवरीमा भारतको केरलामा भएको साफ च्याम्पियनसिपको पहिलो खेलमै नेपाल श्रीलंकासँग पराजित भयो ।

समूहको अर्को खेलमा भारतसँग ४–१ गोलले पराजित भएपछि उनी उतैबाट बेल्जियम लागे र नेपाल फर्किएनन् ।

त्यसको दुई महिनाको बीचमा नेपालले बंगलादेशमा बंगबन्धु गोल्डकप र भारतमा साग गेम्सको फुटबलमा स्वर्ण जित्यो ।

खेलाडीहरुले अहिल पनि भन्ने गरेका छन् कि बंगबन्धु र साफमा स्वर्ण प्याट्रिककै फर्मेसनमा खेलेर जितिएको हो ।

ग्योतोकु कोजी
जापानी सहयोग नियोग जाइकासँगको सहकार्यमा नेपाली टिमको प्रशिक्षणमा आएका कोजीले सन् २०१६ को मार्चदेखि टिमको जिम्मेबारी संहाले । सन् २००८ देखि २ वर्षसम्म भुटानको राष्ट्रिय टिमको प्रशिक्षण संहालेका उनको बिदाई सुखद थिएन ।

कोजीको अनुबन्धपछि भूटानमा असफल प्रशिक्षक नेपाल ल्याइएको भन्दै आलोचना पनि नभएको होइन । तर, पछिल्ला ४ प्रशिक्षकमध्ये उनी सबैभन्दा लामो समय प्रशिक्षण गर्ने प्रशिक्षकमा पर्छन् ।

उनले २ वर्ष ७ महिना टिम संहाल्दा सोलिडारिटी कप जित्नु नै सबैभन्दा ठूलो उपलव्धी थियो । उनको प्रशिक्षणमा नेपालले मकाउलाई पराजित गर्दै उपाधि जितेको थियो । तर गत वर्ष बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग पराजित भएपछि उनले टिम छाडे ।

योहान कालिन
युरोपको ए लाइसेन्सप्राप्त प्रशिक्षक हुन् स्वीडेनका योहान कालिन् ।

उनी नेपाली राष्ट्रिय टोलीको जिम्मबारी संहालेको ३ महिनामात्र भएको छ । पहिलो अन्तर्राष्ट्रिय खेलका रुपमा कुवेतसँग २ मैत्रीपूर्ण खेलसँगै उनले नेपाली खेलाडीको क्षमता अवलोकन गरे ।

नेपालले कुवेतसँग पहिलो खेल बराबरी खेल्यो भने दोस्रो खेलमा १–० को हार निकाल्यो ।

उनले नेपाली खेलाडी प्रतिभावान भएको र उनीहरुको व्यवस्थापनमा मात्र ध्यान दिने बताउँदै आएका छन् ।

उनले नियमित प्रशिक्षण सुरु गरेका छन् ।
कालिनसँग नेपालको साइनो पुरानै छ । २०७० को ए डिभिजन लिगमा मछिन्द्र क्लबलाई इतिहासकै सबैभन्दा राम्रो प्रशर्दनमा उनैको भूमिका मुख्य मानिन्छ ।

मछिन्द्रको युवा टोलीमा उनले जोश भरेका थिए । जसको फलस्वरुप मछिन्द्र लिगमा दोस्रो भएको थियो ।

मछिन्द्रले सुपर सिक्समा अपराजित रहँदै लिग सकाएको थियो ।

हेराै‌ं भिडियाे

 

Post Add 1025X115
Loading...