राष्ट्रिय टिममा कमब्याककाे आशामा जगजितकाे नेपाल र अष्ट्रेलिया चक्कर

0

नेपाली फुटबलका प्लेमेकरका रुपमा परिचय बनाएका जगजित श्रेष्ठ पछिल्लो पटक नेपाली फुटबलबाट टाढा हुँदै अष्ट्रेलियामा बस्दै आएका छन ।

नेपाल फुटबलमा राम्रो मिडफिल्डरको परिचय बनाएका जगजित टिममा नियमित स्थान बनाइरहेका बेला अचानक अष्ट्रेलिया लागेका थिए । त्यहाँ पनि उनी विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आफुलाई फुटबलबाट टाढा भने राखेनन् । र बेला बेलामा नेपालमा आएर आफु राष्ट्रिय टिममा फर्कन सक्छु की भनेर प्रशिक्षण गरिरहेका छन ।

यस्तैमा पछिल्लो पटक अन्तराष्ट्रिय मैत्रीपुर्ण खेल अगाडी प्रशिक्षक योहान कालीनले बोलाएको ४२ खेलाडीमा उनको नामपनि रहेको छ । त्यसैले उनी प्रशिक्षणका लागि अष्ट्रेलियाबाट फर्किएका छन ।

यसअघि राष्ट्रिय टिमको क्याम्पका लागि नेपाल आएका जगजित टिममा नपरेपछि फेरी फर्किएका थिए । घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपका बेला उत्कृष्ट प्रदर्शन गरेका जगजित त्यसपछि विभिन्न क्लवबाट ब्यवसायीक फुटबल खेलेका थिए । मनाङ, थ्रीस्टार जस्ता क्लवबाट आफ्नो क्षमता देखाइसकेका जगजित नेपाली फुटबलबाट बाहिरीएपछि अन्तिम समय २०१८ को एशिया छनोटमा राष्ट्रिय टिममा कमब्याक गरेका थिए । तर उनी पुरै प्रतियोगितामा बेन्चमा बस्न पुगे ।

यसपटक प्रशिक्षक योहान कालीनले युवा खेलाडीका साथै अनुभवी खेलाडीलाई पनि क्याम्पमा बोलाएकाले उनी पनि परेका छन । तर पछिल्लो पटक युवा खेलाडीले राष्ट्रिय टिमको ढोका खोलिरहेका बेला जगजित टिममा पर्छन की पर्दैनन्, त्यो हेर्न बाँकि छ ।

तर जगजित आफुमा भने प्रष्ट छन, टिममा परेमा नेपाल बस्छु होइन भने फर्किन्छु । टिममा अलि आक्रामक शैलीका जगजितले राष्ट्रिय टिमबाट २६ खेल खेल्दा एक गोल गरेका छन । हिमालयन शेर्पाबाट २०११ मा लिग खेलेका उनले त्यसपछि फ्रेन्ड्स, थ्रीस्टारबाट तीन बर्ष खेलेका थिए । २०१६ मा उनी अष्ट्रेलिया लागेपछि उनले स्थानीय चार वटा क्लवमा खेले । जसमा हरेक क्लवबाट गोल गर्न सफल भए । उनले हुमी युनाईटेडमा तीन खेलमा तीन गोल, सनसाइन जर्ज क्रसमा १५ खेलमा चार गोल गरेका थिए । त्यसपछि नुनावाडीङ सिटीबाट १० खेलमा एक गोल र अघिल्लो बर्ष प्रिस्टोन लायोन्सबाट आठ खेलमा दुई गोल गरेका थिए ।

नेपाली फुटबलमा यू–१३ बाट फुटबल सुरु गरेका जगजितले यू–१४, यू–१६ र यू–१९ हुँदै सिनियर स्तरमा पुगेका हुन ।

फेरी एकपटक जगजित आफुलाई नेपालको राष्ट्रिय जर्सी लगाएर अन्तराष्ट्रिय स्तरमा फर्किए आशामा छन । तर त्यसका लागि सजिलो बाटो भने छैन ।

Post Add 1025X115
Loading...