शंकरदेबलाई बास्केटबलकाे उपाधि

0

शंकरदेब क्याम्पसले खुला राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताका उपाधि जितेको छ । बिहिवार अमृत साईन्स क्याम्पसमा भएको फाईनल खेलमा शंकरदेबले जेभियर कलेजलाई ६ स्कोरले पराजित गर्यो ।

शंकरदेबले पहिलो र तेश्रो क्वाटरमा लिएको अग्रतानै जितको आधार बन्यो । पहिलो क्वाटरमा १८–१० को अग्रता लिएको शंकरदेब दोश्रोमा क्वाटरमा १२–१६ ले पछि परेको थियो ।

शंकरदेबले तेश्रो क्वाटरलाई पूनः १४–१० ले आफ्नो पक्षमा लिन सफल भयो । अन्तिम क्वाटरमा प्रवेश गर्दा ८ अंकको अग्रता लिएको शंकरदेब १९–२१ ले पछि परे पनि समग्रमा ६३–५७ को स्कोरमा जेभियरलाई पछि पादै च्याम्पियन बन्यो । शंकरदेबका लागि उत्कृष्ट खेलाडी चुनिएका रामकृष्ण घोतामेले २० स्कोरको योगदान दिए ।

त्यस्तै शंकरदेबका सौरभ श्रेष्ठले १२ स्कोर,कराँतेका च्याम्पियन दिवस श्रेष्ठले १० स्कोर गर्दा प्लेमेकर रबिन खत्री (मेट्रो) र आशिष बस्नेतले समान ९-९ स्कोरको योगदान गरेका थिए । प्रतियोगिताको हाईस्कोरकर्ता जेभियरका आयुष सिंहले फाईनल खेलमा पनि सर्वाधिक २१ स्कोर गरे पनि टिमलाई पराजयबाट जोगाउन सकेनन् । जेभियरकै विनेश न्यौपानेले १५ स्कोरको योगदान दिदा अजय कुसवाहाले ९ स्कोर गरेका थिए ।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजना तथा अमृत साईन्स क्याम्पस स्वबियुको ब्यवस्थापनमा संचालनभएको प्रतियोगिताको बिजेता शंकरदेबले १ लाख ११ हजार र उपबिजेता जेभियरले ५५ हजार ५ सय प्राप्त गरे ।

बिजेतालाई मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठ,नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा,मेगाबैंकका अध्यक्ष भोजवहादुर शाह,अनेरास्वबियुकी केन्द्रिय उपाध्यक्ष सुनिता बराल,महासचिव ऐन महरलगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए ।

Post Add 1025X115
Loading...