थीति बसाल्दै सकियो आठौं राष्ट्रिय खेलकूद

0

नेपालीमा एउटा उखान छ काम कहिले जाला घाम । हो नेपाली समाज काम भनेको ढिला गरि गर्ने र समय कटाउनमा अभ्यस्त भइसकेका छन् । यसको उदाहरणको रुपमा पनि नेपाली खेलकूदलाई लिन सकिन्छ । नेपाली खेलकूदको भद्रगोल अवस्थाकै कारण पनि माथि उठ्न सकेका छैन । २०३८ सालमा पहिलो राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना हुँदा त्यतिबेला नेपालमा पञ्चायती शासन काल थियो । पञ्चायतकालमा केहीकुराहरुमा कडि कडाउ भएकै कारण र दरबारको खेलकूदमा प्रत्यक्ष संलग्नता भएकै कारण पनि नेपाली खेलकूदले केही हदसम्म गति लियो ।

२०३८ सालमा पहिलो राष्ट्रिय खेलकूदको आयोजना गर्दा हरेक दुई दुई वर्षमा प्रतियोगिता आयोजना गर्ने भनिएको थियो । शुरुका थप दुई संस्करण समयमै भए । २०३८, २०४० र २०४२ सालमा लगातार तीन वटा राष्ट्रिय खेलकूद भए । चौथो खेलकूद आयोजना हुन २०५५ साल कुनु पर्यो । २०५५ सालमा नेपालगञ्जमा भएको चौथो राष्ट्रिय खेलकूद पछि २०५८ जेठ २० गतेकालागि पाँचौ राष्ट्रिय खेलकूदको मिति तय भएको थियो । प्रतियोगिताको उद्घाटन अघिल्लो दिन जेठ १९ गतेराति दरबार हत्याकाण्ड भएपछि प्रतियोगिता स्थगन भयो र पाँचौं राष्ट्रिय खेलकूद हुन थप ६ वर्ष कुर्न पर्यो । ६५ सालमा काठमाडौंमा पाँचौं राष्ट्रिय खेलकूद आयोजना हुँदा अबदेखि लगातार दुई दुई वर्षमा राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्ने भनिए पनि छैटौं राष्ट्रिय खेलकूद निर्धारित समयमा भन्दा १ वर्ष ढिला गरि २०६८ सालमा भयो । छैटौं पछि सातौ प्रतियोगिता २०७३ सालमा आयोजना भयो भने २०७५ मै प्रतियोगिताको खेलहरु सञ्चालन गरेर २०७६ मा उद्घाटन गरेर केही हदसम्म खेलकूदमा थिती बसाल्न आठौं राष्ट्रिय खेलकूद सफल भएको छ ।

यसले वर्तमान सदस्य सचिव केशबकुमार विष्टलाई एउटै सदस्यसचिवले दुई वटा राष्ट्रियत प्रतियोगिता आयोजना गराउन सफल सदस्यसचिवको विल्ला त भिराएको छ । अब सँगसँगै नवौं राष्ट्रिय खेलकूदको आयोजना गण्डकी प्रदेशले लिएकाले त्यसलाई राखेपमा आउने अबको नेतृत्वले कुसलतापूर्वक निर्वाह गर्नुपर्ने चुनौती थपिदिएको छ । आठौं राष्ट्रिय खेलकूद समयमा पूर्वाधार नबन्दा मंसिरदेखि सर्दै आएर बैशाखमा समापन भएको छ । केहीहदसम्म प्रतियोगिता आयोजना हुनु राम्रो कुरा भएपनि अझै पनि खेलाडीहरु पूर्वाधार अभावका कारण झारा टार्ने संस्कृति भने कायमै रहेको देख्न पाइयो ।

धनगढीमा भएको छैटौं र विराटनगरमा भएको सातौंमा जस्तै यस पटक पनि प्रतियोगिताको उद्घाटनका दिन सम्म पनि पूर्वाधार निर्माणको काम चलिरह्यो । नेपालगञ्ज रंगशाला परिसमा प्यारापिट बने पनि फुटबल मैदानमा सेमिफाइनल र फाइनलको मात्र खेल आयोजना भयो । पौडी पोखरी समयमै तयार नहुँदा होटेलले व्यवसायिक प्रयोजनकालागि बनाएको पौडी पोखरीमा प्रतियोगिता आयोजना गर्नु पनि राखेपको दुर्भाग्य हो । यसैगरी बाँकेको खजुरामा भलिबल एकेडेमी राम्रो बने पनि दुईवटा खेल एकै पटक खेलाउँदा खेलाडीहरु प्रत्यक्ष मारमा परे । एकातर्फको सिटी बज्दा अर्को कोर्टका खेलाडीहरु झुक्किनु पर्ने अवस्था आयो । बर्दियाको बाँसगडीमा कवड्डी कोर्ट निर्माण भयो तर अझै त्यो पनि पूर्ण भइसकेको छैन् । हक्की कोर्ट नबन्दा खेलाडीहरु धुलाम्य मैदानमा खेले भने तेक्वान्दोको कोर्ट पनि पूर्णरुपमा तयार भएन् । क्रिकेट मैदान र फुटबल मैदान पनि औसत मात्र राम्रा भए ।

दाङको बेलझुण्डीमा सेन्थेटिक ट्रयाकसहिको रंगशाला बनाएपनि अन्य पूर्वाधार नहुँदा मैला फुटबल र एथ्लेटिक्सका मात्र खेलहरु भए । बास्केटब र टेनिस घोराही र कराँते तुलसीपुरमा आयोजना भयो ।

आठौंमा गौरिका सिंहको कीर्तिमानः

आठौंमा सर्वाधिक पदक जित्ने खेलाडी गौरिका सिंह बनिन् । उनले स्वीमिङमा १२ पदक जित्न सफल भइन् । उनकै कारण पनि नेपाली सेनाले पदक तालिकामा उल्लेख्य छलाङ मार्न सफल भयो ।
एथ्लेटिक्समा चन्द्रकला लामगादेले २ वटा कीर्तिमानसहित स्वर्ण पदक जित्न सफल भइन् । उनले ज्याभ्लीन थ्रो र सटपुटमा आफ्नै कीर्तिमान जितेकी हुन् ।
श्रीमान श्रीमती र दाजु भाईले एउटै प्रतियोगितामा स्वर्ण पदक जित्दै सेलिब््रेटी खेलाडी बने । चारै जना एपीएफका खेलाडीहुन् । एपीएफबाट खेल्ने निरप्रताप महतो र शिला चौधरीले स्वर्ण पदक जित्दा एपीएफकै गोपीचन्द्र पार्की र उनका भाइ शिबराज पार्कीले पनि स्वर्ण पदक जित्दै तहल्का मच्चाए ।

भारतोलनमा पनि कीर्तिमान बनेका छन् । जुन नेपाली खेलकूदका लागि सुखद् मान्नु पर्छ । यो प्रतियोगिता आसन्न १३ औं सागका लागि खेलाडी छनोटको प्रमुख आधार रहेकाले यी पदकधारी खेलाडीहरुलाई उचित प्रशिक्षण दिएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता गराउन सके नेपालले पक्कै पनि विगतको तुलनामा केही पदक थप्न सक्छ की भन्ने आशा जगाएको छ ।

प्रतियोगिताको व्यवस्थापनको कुरा गर्ने हो भने प्रतियोगिता व्यवस्थित भने हुन सकेन । पूर्वाधार निर्माण नभएकै अवस्थामा प्रतियोगिता आयोजना हुँदा प्रतियोगिता व्यविस्थत हुन्छ भन्ने कुरा कल्पना गर्नु अलि परको कुरा पनि हो । हो त्यस्तै भयो । खेलाडीहरुले बस्न नपाएको गुनासो आयो, खेल्दा पानी नपाएको खाजा खाना पनि समयमै नपाएको कुराहरु विगतमा पनि आउने गर्थे अहिले पनि यी कुराहरुले निरन्तरता पाए ।
नवौ कस्तो होला त ?

पक्कै पनि आठौं राष्ट्रिय खेलकूदको समापनसँगै नवौ राष्ट्रिय खेलकूद आयोजना गर्ने जिम्मा गण्डकी प्रदेशले लिएको छ । नवौं खेलकूदको मिति २०७७ फागुन २० गतेदेखि आयोजना गर्ने गरि झण्डा हस्तान्तरण गरिएको छ । आशा गरौं आठौं जस्तो पूर्वाधार अभाव र निर्माण चरणकै अवस्थामा प्रतियोगिता आयोजना हुने छैन् । आसन्न सागका कारण पोखरामा खेलकूदका केही संरचनाहरु यसै वर्ष पनि बन्ने भएकाले नवौं राष्ट्रिय खेलकूद आयोजना गर्न पक्कै पनि सजिलो हुने खेलक्षेत्रका जानकारहरु बताउँछन् ।
प्रतियोगिता एकै ठाउँमा हुनुपर्छ भन्ने कुराको पनि आठौं राष्ट्रिय खेलकूदले दिएको एउटा सन्देश हो । प्रदेश पाँचका पाँच जिल्लाहरुमा खेल छरिएर गराउँदा म्यानेज गर्न पनि केही अप्ठेरो परेको देखियो । जसले गर्दा राखेपले प्रत्यक्षरुपमा ती क्षेत्रको अबलोक गर्न नसक्दा केही कमजोरीहरु भए ।

Post Add 1025X115
Loading...