एक क्लिकमा आठौं राष्ट्रिय खेलकूद : विहीबार कुन खेलमा कस्ले बाजी मारे ?

0

आठौं राष्ट्रिय खेलकूदअन्तर्गत बिहीबारदेखि दाङको बेलझुण्डीमा एथ्लेटिक्स सुरु भएको छ । १ सय  मिटर दौडमा महिलातर्फ नेपाल आर्मीको सरस्वती चौधरीले स्वर्ण पदक जितेकी छिन् ।

उनले १२.१९ सेकेण्डमा दूरी पुरा गर्दै स्वर्ण पदक जितेकी हुन् । यसैगरी प्रदेश पाँचकी जयरानी चौधरीले रजत पदक जित्दा आर्मीकै कृष्णा चौधरीले कास्य पदक जित्न सफल भइन् । यसैगरी एक सय मिटर पुरुष दौडमा एपीएफका आशिष चौधरीले स्वर्ण पदक जिते । उनले ११ सेकण्डमा दूरी पुरा गरे ।

कर्णाली प्रदेशबाट प्रतिस्पर्धा गरेका यमसाजन सुनार ११ दशमलब १० सेकेण्डका साथ रजत पदक जित्दा आर्मीका आनन्द देव चौधरी ११ दशमलब १५ सेकेण्डका साथ कास्य पदक हात पार्न सफल भए ।

१० हजार मिटर महिला प्रतिस्पर्धामा नेपाल आर्मीकी विश्वरुपा बुढाले स्वर्ण पदक जित्न सफल भइन् । दोस्रो स्थानमा रहेकी नेपाल पुलिसकी राजपुरा पँछाईसँग समय भने समान रहेको थियो । विश्वरुपाको टाइमिङ ३७ मिनेट ३० दशमलब ९ सेकेण्ड रहेको थियो । यस्तै प्रदेश तीन की सन्तोषी श्रेष्ठ ३७ मिनेट ५० दशमलब ६ सेकेण्डका साथ कास्य पदक जितिन् ।

१० हजार मिटर पुरुष दौडमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जितेका छन् । उनले ३१ मिनेट ०३ दशमलब १ सेकेण्डमा दूरी पुरा गरेका छन् । गण्डकी प्रदेशका अनिष थापाले ३१ मिनेट ९ दशमलब ८ सेकेण्डका साथ रजत पदक जित्दा एपीएफका गोपीचन्द्र पार्कीले ३१ मिनेट ५८  दशमलब ३ सेकेण्डका साथ कास्य पदक जिते ।

सटपुट तर्फ पुरुषमा आर्मीका टंकप्रसाद दाहालले स्वर्ण पदक जितेका छन् । उनले १२ मिटर १९ सेन्टिमिटरका साथ स्वर्ण पदक जित्दा १२ मिटर ०४ सेन्टिमिटरका साथ नेपाल पुलिसका पुष्कल शर्माले रजत पदक जिते । यसैगरी आर्मीकै चित्रबहादुर वलीले ११ मिटर ८५ सेन्टिमिटरका साथ कास्य पदक जितेका छन् ।

त्यस्तै महिला सटपुटमा नेपाल पुलिसकी चन्द्रकला लामगादेले कीर्तिमानी स्वर्ण पदक जितिन् । उनले १२.०४ मिटरका साथ उनले स्वर्ण पदक जित्दा नयाँ रकेर्ड बनाइन् । उनले इटहरीमा भएको राखेप च्याम्पियनसिप बनाएको ११ मिटर ५६ सेन्टिमिटरको कीर्तिमानमा सुधार गरेकी हुन् ।

यसैगरी प्रदेश पाँचकी संगीता अधिकारी १० मिटर १५ सेन्टिमिटरका साथ रजत पदक जित्दा नेपाल पुलिसकी बसन्ती चौधरीले १० मिटर ०५ सेन्टिमिटरका साथ कास्य पदक जितिन् ।

ह्यान्डबल : आर्मीको दोहोरो जित

आर्मीले आठौं राष्ट्रियअन्तर्गत ह्यान्डबलमा दोहोरो जित हात पारेको छ । पुरुषमा आर्मीले प्रदेश ५ लाई ४२–१७ ले पराजित ग¥यो ।

नेपालगन्ज रंगशाला परिसरको ह्यान्डबल मैदानमा भएको प्रतियोगिताको पुरुषमै गण्डकीले कर्णाली प्रदेशलाई ४०–१५ ले हरायो ।

नेपालगन्जको सदरलाइनस्थित जिल्ला प्रशासन कार्यालयमा भएको महिलाको प्रतिस्पर्धामा आर्मीले प्रदेश ३ लाई ३३–४ तथा प्रदेश ५ ले कर्णालीलाई १०–७ ले पन्छाए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले एक कार्यक्रमबीच शुभारम्भ गरे । पुरुष÷महिला दुवैमा सातै प्रदेश, आर्मी र एपीएफ गरी ९ टिम सहभागी छन् । पुरुषको १९ औं र महिलाको १० औं संस्करण हो । फाइनल बैशाख १० गते हुने छ ।

महिला हक्की : सुदूरपश्चिमलाई उपाधि

आठौंअन्तर्गत राष्ट्रिय महिला हक्कीको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ ।  खजुरास्थित शुक्र माविमा भएको फाइनलमा सुदूरले गण्डकी प्रदेशलाई १–० गोलले पराजित गरे । दमरा भट्टले निर्णायक गोल गरिन् ।

तेश्रो स्थानमा चित्त बुझाएको आर्मीले प्रदेश २ लाई ५–० ले हरायो । सीता चौधरीले २ तथा पिंकी सिन्जाली, अञ्जना ठकुरी र अमृता बस्नेतले १–१ गोल गरे ।

पुरुष क्रिकेट : एपीएफ र सुदूरपश्चिम प्रदेश विजयी

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष  टि २० क्रिकेट तर्फ समुह ए को भैरहवामा बिहीबार सम्पन्न खेलमा सशस्त्र प्रहरी बलको  एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । एपीएफले प्रदेश पाँचलाई ५ विकेटले पराजित गर्दै लगातार २ खेलमा जित हात पार्दै समुहमा मजबुत बनेको छ । सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ३१ रनले हराएको छ ।

जितका लागि प्रदेश पाँचबाट पाएको ९१ रनको लक्ष्य एपीएफले १८.१ ओभरमा ५ विकेट गुमाई पुरा गर्यो । जसमा शंकर रानाले ३१ बलको सामना गर्दै ४ चौकाको मद्दतमा नटआउट ३२ रन बनाए । यस्तै, प्रदीप ऐरीले २३ तथा अमरसिंह रौतेलले नटआउट ११ रन बनाए । बलिङमा प्रदेश पाँचका विक्रम भुसाल, संदीप सुनारले २–२ र कृष्ण कार्कीले १ विकेट लिए ।

यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश पाँचले निर्धारित खेलमा ८ विकेट क्षतिमा ९० रन बनाएको थियो । जसमा जसमा संदीप सुनारले २६, अनुपम सिंहले १५ र सिद्धान्तराज शाहीले १४ रन बनाए । बलिङमा एपीएफका बसन्त रेग्मीले ३, शरद भेष्वाकर, भुवन कार्कि, अभिनास बोहरा र यज्ञमान कुमालले समान १–१ विकेट लिए । एपीएफका बसन्त रेग्मी म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा ४ विकेटको क्षतिमा सुदूरपश्चिम प्रदेशले १ सय २२ रन बनायो । उसका लागि खडक बोहोराले ५ चौकाको मद्दतमा ३६ रन बनाए । यस्तै, लोकेश बमले २१ तथा अरुण ऐरीले नटआउट १९ रन बनाए । बलिङमा गण्डकी प्रदेशका किशोर महतले ४ ओभरमा १ मेर्डन राख्दै ३० रन खर्चेर १ विकेट लिए । यस्तै, विपिन खत्री र विशाल पौडेलले पनि १–१ विकेट लिए ।

उता जितका लागी पाएको १२३ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकीले १९.१ ओभरमा सबै विकेट गुमाई ९१ रन मात्रै बनायो । उसका लागि करण केसीले ३५ र अनिल गुरुङले १८ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंग जोड्न सकेनन् । बलिङमा म्यन अफ द म्याच समेत रहेका सुदूरपश्चिमका महेश अधिकारीले ४ ओभरमा २ मेर्डन राख्दै ११ रन खर्चेर ४ विकेट लिए । यस्तै अरुण ऐरीले २ तथा विकाश अगारी र नरेन्द्र साउदले समान १–१ विकेट लिए । शुक्रबार नेपाल पुलिस क्लब र गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेश र प्रदेश पाँच बिच हुने क्रिकेट प्रतियोगिता ब्यबस्थापन समितिका संयोजक तथा रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले बताए ।

पुरुष फुटबल : नेपाल पुलिसको जित

आठौ राष्ट्रिय प्रतियोगिता अन्तरगत पुरुष फुटबल प्रतियोगिताको विहिबार सम्पन्न खेलमा विभागिय टिम नेपाल पुलिसले जित निकालेको छ । पुलिसले सुदुरपश्चिमलाई ३–० गोलले पाखा लगाउदै स्पष्ट ३ अंक आफनो खातामा जोड्न सफल भएको हो । यसैगरि अर्को खेलमा कर्णाली प्रदेश र प्रदेश नं. २ ले बराबरी खेल्दै १–१ अंक बाड्ेका छन । कर्णाली प्रदेश र प्रदेश नं. २ बिचको खेल ४–४ गोलको बराबरीमा टुगिएको थियो ।

देविनगरस्थित एन्फा एकेडेमी खेल मैदानमा भएको रोमाञ्चक खेलमा पुलिसको जितमा भरत शाह र रबि पासवानले गोल गरेका थिए । खेलको २५ औ मिनेटमा सुदुरपश्चिम प्रदेशका गोलकिपर टिकेन्द्र थापाले डिबक्सबाहिर आएर बल हातले क्लियर गरेपछि रातो कार्ड पाए । उनको ठाउमा अर्का गोलकिपर अमानत शेख मैदान प्रवेश गरे भने जिवन चौधरी मैदान छोडे । योसंगै सुदुर पश्चिम १० खेलाडीमा सिमित भयो । खेलको ३६ औ मिनेटमा पुलिसका भरत शाहले गोल गर्दै खाता खोले । पुलिसले पहिलो हाफमा पाएको आधा दर्जन बढी अवसर गोल हुनबाट चुकेको थियो । पहिलो हाफ १ गोल खाएको सुदुरपश्चिमाञ्चल दोस्रो हाफमा थप दुई गोल खाएको थियो । खेलको ६० औ मिनेटमा रबि पासवानले डिबक्स बाहिरबाट गरेको प्रहार जाली चुमेको थियो । खेलको अन्तिम समयमा पुलिसका डिफेन्डर सन्तोष हेमरुनले थप गोल गरे ।

यसैगरि विहिबार भएको दोस्रो खेलमा कर्णालीका खगेन्द्र खत्रीले खेलको छैटौ मिनेटमा गोल गर्दै अग्रता लिएका थिए । तर खेलको २६ औ मिनेटमा प्रदेश २ का सुनिल राउत कुर्मीले बराबरी गोल गरे । कर्णालीका डिफेन्डरलाई छकाउदै कुर्मीले गोल गरेका थिए । खेलको ३७ औ मिनेटमा कर्णालीका भुपेन्द्र शाहीले गोल गर्दै खेलमा पुनः अग्रता लिए । तर यो अग्रता धेरै बेर टिक्न सकेन खेलको ४१ औ मिनेटमा प्रदेश २ का निर बहादुर आलेले गोल गर्दै खेल बराबरीमा ल्याए । रोमाञ्चल खेलमा लगातार गोल हुदै गयो । कर्णालीका भुपेन्द्र शाहीले खेलको ४७ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरे । यसैगरि ५३ औ मिनेटमा सुरज शाहीले गोल गरेका थिए । भने प्रदेश नं. २ का सुनिल कुमार राउतले खेलको ५० औ मिनेट तथा गंगा बहादुर आलेले खेलको ६१ मिनेट गोल गरेका थिए ।

राष्ट्रिय पुरुष फुटबल प्रतियोगितामा सहभागि १० टिममध्ये रुपन्देहीमा समुह ‘ख’ का ५ टिमका बिचमा लिग चरणका खेलहरु भैरहेका छन । जसमा सुदुरपश्चिमाञ्चल, प्रदेश नं. २, कर्णाली प्रदेश, नेपाल पुलिस, नेपाल आर्मी छन । समुह ‘ख’ बाट उत्कृष्ट दुई टिम अन्तिम चारमा प्रवेश गर्ने छन ।

सफट टेनिस शुरु :

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत रुपन्देहीको बुवलमा बिहीबारबाट सफट टेनिस खेल शुरु भएको छ । विहिबार देविनगरस्थित टेनिस कम्प्लेक्समा भएको उद्घघाटन खेलमा पुरुष एकलतर्फ प्रदेश नं. ५ का अभिषेक अमन झाले गण्डकी प्रदेशका सुरज नगरक‍ोटीलाई ४–० को सोझो सेटमा पराजित गरेका छन । पुरुष एकलतर्फका विहिबार भएका खेलमा प्रदेश नं. १ का अभिषेक कार्कीले प्रदेश नं. १ कै आभाष बुढाथोकीमाथि टाईबेकरमा ७–२ को जित निकालेका छन ।

यसैगरि प्रदेश नं. १ का युकेश योन्जनले गण्डकी प्रदेशका राजकुमार थापालाई ४–१, नेपाल पुलिसका सुबोध अधिकारीले प्रदेश नं. ५ का शुभम खनाललाई ४–०, प्रदेश नं. ३ का शक्ति शर्माले प्रदेश नं. ७ का बिनोद शिरिषलाई ४–२, एपीएफका कुमार गिरीले प्रदेश नं. ३ का वृजेश पाण्डेलाई ४–०, गण्डकी प्रदेशका सुजन गुरुङले सुदुरपश्चिमाञ्चलका निरज थापालाई ४–१, सुदुरपश्चिमाञ्चलका दिलिप गुप्ताले गण्डकी प्रदेशका आशिष खड्कालाई टाईबेकरमा ९–७, प्रदेश नं १ का आशिष बोहराले नेपाल पुलिसका बिनोद योगीलाई ४–२, एपीएफका उज्वल स्थापितले सुदुरपश्चिमाञ्चलका दिपक झालाई ४–२, नेपाल पुलिसका नौ बहादुर लुगेलीले एपीएफका सुमन लामालाई ४–०, नेपाल पुलिसका हरि बहादुर बस्नेतले एपीएफका निश्चल कायस्थलाई ४–२, प्रदेश नं. ५ का सुरज चौधरीले प्रदेश नं. ५ कै योगेश भण्डारीलाई ४–१, प्रदेश नं. १ का रनिश तामाङले प्रदेश नं. ३ का धर्म बहादुर घलेलाई ४–० र प्रदेश नं. ३ का प्रदिप खत्रीले एपीएफका राजेन्द्र श्रेष्ठलाई ४–० तथा सुदुरपश्चिमाञ्चलका रमेश पाण्डेले गण्डकी प्रदेशका विष्णु नेपालीलाई ४–१ ले जित निकालेका छन ।

यसैगरि महिला एकलमा सुदुरपश्चिमाञ्चलका भावना पनेरुले प्रदेश नं. ७ का अश्मी धामीले ४–०, प्रदेश नं. १ का श्रीया योन्जनले गण्डकी प्रदशेका बिनिता जिसीलाई ४–०, नेपाल पुलिसका विश्ना भण्डारीले एपीएफका रोशिका पोखरेललाई ४–२, सुदुरपश्चिमाञ्चलका शिसम चन्दले एपीएफका कृतिका गिरीलाई ४–० तथा प्रदेश नं. १ का जर्जीया चौधरीले गण्डकी प्रदेशका स्वीकृति उदासलाई ४–१ को सेटमा जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेका छन ।

प्रतियोगितामा प्रदेश १, २, ३, ५, गण्डकी र सुदुरपश्चिमाञ्चल गरि ट प्रदेशसहित विभागिय टिमहरु शशस्त्र प्रहरी बल र नेपाल प्रहरीका खेलाडीहरुले प्रतिस्प्रर्धा गर्ने छन ।

प्रतियोगिताको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले उद्घाटन गरे ।

पोखरामा प्याराग्लाईडिङको तयारी  सम्पूर्ण तयारी पुरा, सांसद पहारीले  गरे उद्घाटन

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पोखरामा बैशाख ६ गते (शुक्रबार) बाट सुरु हुने भएको छ । करिब २० वर्ष इतिहास बोकेको नेपालको प्याराग्लाइडिङ खेलमा पहिलो पटक राष्ट्रिय खेलमा समावेश गराइएको हो ।

आठौं राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन ५९ जना खेलाडी पोखरा आइपुगेको र सम्पूर्ण तयारी प्ुरा भएको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका (नेफा)का महासचिब शैलेन्द्र राउतले जानकारी दिएका छन ।

प्रतियोगितामा प्रदेश १ बाट २ महिला सहित १० पुरुष, प्रदेश ३ बाट १ महिला र १० पुरुष, गण्डकी प्रदेश बाट ४ महिला र १० पुरुष, कर्णाली प्रदेश बाट ४ पुरुष, प्रदेश ७ बाट ४ पुरुष र नेपाली सेनाको त्रिभुबन क्लब बाट ३ महिला र १० पुरुषको सहभागिता रहने छ ।

बैशाख ९ गते सम्म संचालन हुने प्रतियोगितामा प्याराग्लाइडिङ खेलका दुई बटा इभेन्ट हुनेछन । टिम इभेन्ट तर्फ एक्यूरेसी र टिम क्रस कन्ट्रि तथा इन्डिभिजुअल एक्यूरेसी र इन्डिभिजुअल क्रस कन्ट्री हुने छन । कुल ६ वटा स्वर्ण पदकका लागि प्रतियोगितमा खेलाडीहरु भिड्ने नेफाका सचिब इन्द्र भण्डारीले बताए ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद राजिब पहारीले प्याराग्लाइडिङ बिनाको पोखरा अब कल्पना समेत गर्न नसकिने बताए ।  उनले भने–‘नेपाल अब हिमाल र बुद्ध जन्मिएको देशले मात्रै चिनिने छैन नेपालमा प्याराग्लाइडिङ खेलाडी उत्पादन हुने देश पनि हो भनेर चिनिने छ ।’

पोखरामा पहिलो पटक हुन लागेको प्रतियोगिताको आफूले उद्धाटन गर्न पाउँदा निकै गौरवान्वित रहेको धारणा राख्दै सांसल पहारीले राज्यको लगानी नरहेको खेल प्यारागलाइडिङले १८ औं एशियाली खेलकुदमा रजत पदक जितेर राज्यलाई प्याराग्लाइडिङ खेलमा लगानी गर्नु पर्छ भन्ने बलियो सन्देश प्रबाह गरेको बताए ।

विश्वको शाहसिक खेल गतिविधी र पर्यटनको गन्तब्यका लागि पनि प्याराग्लाइडिङ खेलले निकै महत्वराख्ने हुनाले पनि प्याराग्लाइडिङ खेलको बिकास गर्न आवश्यक्ता रहेको उल्लेख सांसद पहारी भने–‘पोखराको नयाँ बिमानस्थल सञ्चालन पछि पोखरा बाट प्याराग्लाइडिङ खेल हट्छ भनेर अनाहकमा हल्ला फैलाउने काम भएको छ, यो भ्रम मात्रै हो ।’

सांसद पहारीले नेपालमा पहलिो पटक संचालन हुन लागेको प्रतियोगितामा प्रतियोगिताका इभेन्ट म्यानेजर तथा १८ औं एशियाडका रजत पदक बिजेता बिमल अधिकारीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गरेका थिए । उनले प्रतियोगितामा सहभागी सबै प्रदेश र नेपाली सेनाका टिम म्यानेजरहरुलाई आ–आफ्नो प्रदेशको लोगो अंकित झण्डा पनि हस्तान्तरण गरे ।

कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जिबी पोखरेलले पोखराको प्याराग्लाइडिङ अब व्यवसायमा मात्रै सिमित नरही शाहसिक खेल पर्यटनको गन्तब्य बनाउन उल्लेख्य योगदान प्रदान गरेको बताए ।

शुक्रबार बाट शुरु हुने खेलका मिट डाइरेक्टर अजय कुमार शर्माले यो प्रतियोगितालाई दुर्घटना न्यूनीकरण लाई पहिलो प्राथमिकतामा राखेर खेल संचालन गरिने बताए ।

कार्यक्रममा नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष एवम प्याराग्लाईडिङका लागि नेपालका मुख्य प्रशिक्षक योगश भट्टराई, ना का उपाध्यक्ष एवम प्राधिकारिक संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण भण्डारी, खेलकुद पत्रकार केशब पाठक, नेपाली सेनाका मेजर माधब जोशीले आ–आफ्ना धारणा राखेका थिए ।

नेफाका अध्यक्ष रुपनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले अब राज्यका तर्फ आगामी बजेटमा एक खेलाडी एक ग्लाइडर दिने गरि बजेटमा व्यवस्था गर्न आफूहरु लागि परेको बताए । सो अबसरमा एशियाली रजत पदक बिजेता अधिकारीले खेलाडी र टिम प्रशिक्षहरुलाई खेलको प्राविधिक पक्षबारे जानकारी दिएका थिए ।

शुक्रबार बाट शुरुहुने प्रतियोगिताका लागि नेपाली सेनाको राहत तथा उद्धार टोलीले शुरक्षाका सबै प्रबन्ध मिलाउने छ । प्रतियोगिताका लागि उद्धारका सामाग्री सहित मोटर बोट र आवश्यक परेमा हेलिकप्टर समेत सेनाले प्रवन्ध मिलाउने भएको हो ।

प्रतियोगिताबाट रेङकिङको आधारमा महिला ८ र पुरुष १६ जना खेलाडीलाई राष्ट्रिय खेलाडीको रुपमा घोषणा गर्ने तयारी गरिरहेको नेफाले जनाएको छ । टिम इभेन्ट तर्फ एक्यूरेसी र टिम क्रस कन्ट्रि तथा इन्डिभिजुअल एक्यूरेसी र इन्डिभिजुअल क्रस कन्ट्री तर्फ घोषणा गरिने ति खेलाडीले नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि छनौट समेत गरिने छ ।

पुरुष १६ जना बाट १३ औं सागका लागि ‘वेष्ट अफ दि बेष्ट’ रेङकिङका आधारमा ८ जना छानिने छन भने महिला ८ जना बाट सोही अनुसार ‘वेष्ट अफ दि बेष्ट’ रेङकिङमा ५ जना अन्तिम छनौटमा पर्नेछन ।

Post Add 1025X115
Loading...