एथ्लेटिक्स संघकाे लापरवाहीले खेलाडीले एसियन च्याम्पियनसिप गुमाउने प्रबल संभावना

0

कुनैपनि खेलाडीले आफ्नो करियरलाई अगाडी बढाउन खेल क्षेत्र रोजेपछि उसको इच्छा हुन्छ अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गरेर पदक दिलाउने । तर खेलाडी एकातिर संघ एकातिर भएपछि त्यस्तो सपना देखेका खेलाडीलाई कुनैपनि हालतमा देशको प्रतिनिधित्व गर्ने मौका आउदैन । नेपालमा आलेम्पिकमा पहिलो सहभागिता देखि निरन्तर उपस्थिती जनाइरहेको एथ्लेटिक्सका खेलाडी संघको इतिहासमा पहिलो पटक एशियन च्याम्पियनसिप खेल्नबाट बञ्चित हुने अवस्था आएको छ ।

संघको निस्कृयताका कारण कतारको दोहामा हुने एशियन च्याम्पियनसिपमा नेपाली खेलाडी खेल्न नपाउने संभावना निकै बढि रहेको छ । एशियन च्याम्पियनसिपका लागि खेलाडी दर्ताको मिती सकिएको छ भने संघले सहभागिताका लागि पहल नै गरेको छैन । एक समय दुई वटा एथ्लेटिक्स संघका कारण खेलाडी मर्कामा परेका थिए भने अहिले एउटा संघ हुँदा पनि पदाधिकारीको निस्कृयताले हद काटोको छ । राजीव शाहको अध्यक्षतामा रहेको एथ्लेटिक्स संघ पछिल्लो एक बर्षदेखि नेतृत्व विहिन जस्तै छ ।

कुनैपनि संघको चुनावी साधारण सभाबाट नयाँ नेतृत्व चयन भएको पछि त्यसको आयु चार बर्षको हुन्छ । तर एथ्लेटिक्स संघको चुनाव भएको ५ बर्ष पुग्दापनि नयाँ नेतृत्व चुनिएको छैन, भने अबैधानीक रुपमा रहेका अध्यक्ष राजिव शाह लगभग बाहिर जस्तै भएका छन । जसको असर नेपालको एशियन च्याम्पियनसिपमा सहभागितामा परेको छ । आउदो अप्रिलको २१ देखि २४ तारिखमा हुने २३ औं सस्करणको एशियन एथ्लेटिक्स च्याम्पियनसिपमा नेपाली खेलाडीले खेल्न नपाउँनु आफैमा पनि लज्जास्पद विषय हो ।

सन् १९९३ मा आधिकारीक रुपमा स्थापना भएको नेपालको एथ्लेटिक्सले अन्तराष्ट्रिय मान्यता पाएपछि सबै एशियन च्याम्यिनसिपमा सहभागिता जनाउँदै आएको थियो । तर यसपटकको संघका कार्यसमितीले प्रतियोगिता हुँदैछ, र खेलाडी पठाउनु पर्नेछ भन्ने भेउ नै पाउन सकेनन् । जसको असर साझै खेलाडीमा परेको छ । एशियन च्याम्पियनसिप आसन्न ओलम्पिकमा सहभागिताको आधार पनि हो । यो विषयमा एथ्लेटिक्स संघका अध्यक्ष राजिव शाहलाई बुझ्न खोज्दा सम्पर्कमा आएनन् ।

एथ्लेटिक्सलाई नजिकबाट बुझेकाहरु यो घटना नेपाली खेलकुदका लागि नै दुःख लाग्दो रहेको बताउछन । च्याम्पियनसिप भन्दा करीव दुई महिना अगाडी नै सहभागिताका लागि फाइनल सुची पठाइसक्नु पर्ने हुन्छ । तर अहिलेसम्म केहि टुंगा लागेको छैन । अहिलेको कार्यसमितीले पछिल्लो पटक एथ्लेटिक्स महासंघको कंग्रेसमा समेत भाग लिन गएन भने गत बर्ष संघले कुनैपनि कार्यक्रमको आयोजना गरेन । संघ पुरै कानमा तेल हालेर सुतेको अवस्थामा यतिबेला रहेको छ । यसका साथै सन् २०१७ र १८ मो बार्षिक रिपोर्ट पनि विश्व एथ्लेटिक्स महासंघलाई बुझाएको छैन ।

कुनैपनि संघले हरेक बर्ष आफ्नो क्यालेन्डर बनाउनु पर्ने हो । संघले बर्षमा खेलाडीलाई ब्यस्त राख्न केहि गतिविधी गर्नुपर्ने हो, तर एथ्लेटिक्स संघले त्यो पनि गरेन । पछिल्लो एक बर्षमा अन्तराष्ट्रिय एथ्लेटिक्स महासंघले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा नेपाली खेलाडी खेल्न पाएका छैनन ।

जुन किसिमले नेपाल एथ्लेटिक्स संघ चलिरहेको छ वा उसको हालत छ, त्यो हेर्दा चाँडै नेपालको एथ्लेटिक्स संघ अन्तराष्ट्रिय महासंघको निलम्बनमा नपर्ला भन्ने सकिन्न । त्यसैले अहिलेका पदाधिकारीलाई झक्झक्याउने वा नयाँ कार्यसमिती गठन नगरे एथ्लेटिक्समा फेरी अर्को दुर्घटना नहोला भन्न सकिन्न ।

Post Add 1025X115
Loading...