सपना पुराहुन नपाएकाेमा अनुकाे गुनासाे (भिडियाे कुराकानी )

0

नेपाली महिला फुटबलमा झण्डै डेढ दशक विताएकी अनु लामा यतिबेला करियरमा सबै भन्दा खिन्न अवस्थामा छिन । कारण करियरकाे अन्तिम प्रतियाेगिता साफ महिला च्याम्पियनसिपमा टिम नपर्नु । घरेलु मैदानमा नै भइरहेकाे साफकाे उपाधि जितेर विदाइ लिने साेच बनाएकी अनुकाे साे इच्छा पुरा नभएपछि निकै निरास भएकी छिन ।

तीन पटक हामी भारतसँग हारेका थियौं, यस पटक भारतलाई हराएर स्वर्ण पदक जित्ने लक्ष्य छ । दुई महिनाअघि साफ महिला च्याम्पियनसिपका लागि महिला टिम सातदोबाटोमा प्रशिक्षण गर्दै थियो । त्यही बेला हामीले लिएको अन्तरवार्तामा अनु लामाले खेलाडीका रुपमा आफ्नो अन्तिम इच्छा ब्यक्त गरेकी थिइन् ।

नेपाली टिमले यो प्रतियोगिताका लागि यसअघिका भन्दा लामो समय प्रशिक्षण गर्ने मौका पाएको थियो । २३ सदस्यिय टोलीमा नाम आयो । अन्तिम तयारीका लागि उनी टिमसँगै विराटनगर उडिन् । प्रतियोगिताका लागि अन्तिम २० सदस्यिय टोलीको घोषणा हुँदा राष्ट्रिय टिमकी सर्वाधिक गोलकर्ता अनु लामाको नाम अटाएन ।

राष्ट्रका लागि ३३ अन्तर्राष्ट्रिय गोल गरेकी अनु लामाले आफूलाई अन्याय भएको महसुस गरिन् । भारतलाई हराएर च्याम्पियन बन्ने लक्ष्य लिएर उनले दिनरात मेहनत गरेकी थिइन् । महिला खेलाडीको हकमा २७–२८ वर्षमा करियर सकिन्छ । तर, इन्ज्युरीबाट फर्किएर पनि आफ्नो प्रदर्शन बढाउँदै थिइन् । तर इच्छा पूरा हुन सकेन ।

अब उनी मैदानबाट नभई कुनै एक औपचारिक कार्यक्रममा सन्यास लिने सोचाईमा छिन् । आफ्नो जिवनको महत्वपूर्ण १५ वर्ष फुटबलमा विताएकी अनुले यही खेलबाट मान, सम्मान, प्रतिष्ठा र बाँच्नका लागि आवस्यक सबै कुरा पाएकी छिन् । अहिले सशस्त्र प्रहरी बलमा आबद्ध रहेर क्लब फुटबल खेल्दै आएकी अनुको भारतलाई हराउने सपना पूरा हुन नसकेपनि साफ च्याम्पियनसिप जितेमा सन्तुष्ट हुनेछिन् ।

खेलाडी करियर सकिएपनि उनी आफ्नो बाँकी जिवन पनि फुटबलमै विताउन चाहन्छिन् । उनले एएफसीको सी लेभलको प्रशिक्षक कोर्स पूरा गरिसकेकी छिन् । अब त्यो भन्दा माथिल्लो स्तर पार गर्ने सोचमा छिन् । समयले साथ दियो भने एउटा प्रशिक्षकका रुपमा आफ्नो अधुरो सपना पूरा गर्ने सोच अनु लामाको छ ।

 

Post Add 1025X115
Loading...